Friday, August 2, 2013


चिन्तन/ बिचार                "भूमिका लेखन र भूमिका लेखकभित्रको गुनासोभित्र एकछिन म पनि हराउँदा "                                



धेरै लेख्ने बानीले पनि सस्तो भइेन्छ । रचनाको कुनै औचित्य नहुन सक्छ। सधैं एउटैको कुनैपनी कुरा हेर्न सुन्न सबैलाई झर्को लाग्नसक्छ शायद म र मेरा रचनाप्रती पनि यस्तै मनसाय भएकोहुनुपर्छ औसत पाठकहरुलाई ता पनि म मजबूर छु कलम चलाऊन किन कि एक त आफ्नो उदेश्य र जीवनको सार नै लेखन पर्‍यो अर्को कुरा पहिला देखी नै कलम चलाऊने बानिले म कलमको साहारा बिना आफुलाई अपुरो,अधुरो ठान्दछु । यो मेरो कमजोरीपन नै हो शायद। अनि मलाई कोही ,कसैको आग्रहले पनि लेख्न वाध्य हुनुपरेको मेरो आफ्नै बिवसता छ । हो मेरो रचना,भावनाभित्र राजनीतिक सोँच,कुनै जटिल कुराहरु भेटिँदैनन ता पनि म भावगाम्भिर्यतालाई अघी सारेर सत्य कुराहरु नै पस्कन चाहन्छु जो हाम्रा वरीपरी घटिरहेका हुन्छन्। चाहे सामाजिक,राजनीतिक ब्यवहारिक या ब्यवसायिक जे हुन् म तिनै कुराहरुलाई सरल र सहज शब्दहरुमा पाठकहरुलाई बाँड्न चाहन्छु। आज मैले यो लेखमा छुट्टै बिषयलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु । कत्ती लेख्ने देशको पीडा? देश छाडेर बल्झिएको ब्यथाको गुनासो?अब देशकै सम्पूर्ण कथा लेखुँ भने आफु देश बाहिर छु आफुले गर्नु परेको र भोग्नु परेको छैन अँध्यारोमा ढुङ्गा हाने झैँ जहाँसुकै लागोस् भनेर जे पायो त्यही पनि त खस्काउनु  भएन नि,कलम आफ्नो हातमा छ भन्दैमा। खाली अरुलाई गाली मात्र पनि त गर्नु भएन नि। खै!सतिको श्राप परेर हो वा कुनै तार्तम्य नमिलेर हो देश दु:खको सागरमा चुर्लुम्म डुबेको त छ आशा गरौं यस्को निर्क्यौल चाँडै नै हुनेछ। यो आफ्नै ठाउँमा त छँदैछ ।  
ल त म लागेँ है त, आजको मेरो बिषय बस्तुतर्फ । अहिले मेरो हातमा डा.तारानाथ शर्माको निबन्ध संग्रह"नसुनिएका ध्वनिहरु" छ । म यस् भित्रका प्रत्येक निबन्धहरु एकचित्त लगाएर पढिरहेकी छु । सबै निबन्धहरुले मन नछोएका होइनन् । यी सबैमा लेखकले पनि सरल र सहज् भाषामा आफ्ना भावहरु ब्यक्त गर्नु भएको छ । कहीं आफ्नो रिसको आवेग पोख्नु भएको छ । कहीं कल्पना र सम्झनाको तरेलिमा पौडनु भएको छ । कहीं आफुलाई चित्त दूखाएर रगतको आसुँ पनि पिउनु भएको छ । चाहे जे होस् लेखकले सत्य तथ्य पोख्नु भएको छ, पाठकहरुको आँखा खोल्न। डा. तारानाथ शर्माले लेखन क्षेत्रमा नै लागेर आफ्नो शिरमा सेताम्मे कपास फुलाइ सक्नु भएको छ ।     
ति निबन्धहरु सबै पढ्ने क्रममा/मलाई ति निबन्धहरु सबैले मन त्यती छोएन त र त्यसभित्रको एउटा निबन्धले भने असाध्यै मन छोयो त्यो निबन्धको शिर्षक "भूमिका लेखन र भूमिका लेखक" हो । त्यसभित्र मेरो पनि छुट्टै कथा जोडिन गएको छ र त्यो पीडाले म पिरोलिरहेकी  हुन्थें  र हुन्छु सधैं।  ठ्याक्कै त्यही कुराको लेखकले गुनासो गर्नु भएको छ। हुन त सबैलाई ज्ञात भएकै कुरा हो हाम्रो देशमा कवि, लेखक, गीतकार हरुको जुन निरीह  अवस्था छ त्यस्लाई हामीले छर्लङ्याइे  रहनु पर्दैन। गुनासो र चित्त दुखाइ अब त हर लेखकहरुको पेवा नै भएको छ। त्यो भोगाइ मैले पनि भोगेकी नै हुँ तर मान्छेको जात त्यस्तै बैगुणी र अवसरबादी भएकोले नै त मान्छेको शत्रु मान्छे नै भएका हुन् नि । यहाँ म पनि डा.तारानाथ दाइको निम्ती त्यस्तै पात्र बनेकी छु तर स्पष्ट भन्नु पर्दा मैले कुनै स्वार्थले पनि हैन र बैगुणी बन्ने हिसाबले पनि हैन । कागताली नै त्यस्तै परेकोले र आफुभन्दा आदरणीय लेखकसँगको अप्ठ्यारोपनले मलाई पनि वहाँको स्वार्थी संसार भित्रको पात्रमा गनिन वाध्य हुनुपर्‍यो। शायद,वहाँले मलाई त्यस्तो सोंच्नु त अवश्य पनि भएको छैन होला तर भन्छन् नि नेपाली उखानमा झैँ "अगुल्ठोले हानेको कुकुर बिजुली चम्कंदा तर्सन्छ" भने झैँ । अब म भन्छु है त !म किन त्यस्तो हिनताबोधको शिकार भएँ?भनेर। आज भन्दा चार बर्ष अघाडी भनौ नेपाली सम्बत् २०६२ मा मलाई पनि लेखन क्षेत्रको २५औँ बर्ष पछी कबिता सङ्रह निकाल्ने रहर चल्यो। आफु देश छाडेर परदेसिएको आलो तातो पीडा पनि थियो र मैले जुन आफ्नो देशमा हुँदा गीत/संगीत/लेखन क्षेत्रमा आफुलाई स्थापित गराइसकेकी थिएँ त्यस्लाई गुमाउँनु परेको मेरो आत्मिक ब्यथा थियो र म नेपालबाट अझै पनि टाढिएकी छैन भन्ने भावना जगाउँन मैले अमेरिका बसेर नै एउटा कृति निकाल्ने प्रण गरेँ । उक्त कृतिको नाम "परदेशबाट "रह्यो । पहिलो प्रयास भएकोले मलाई कुनै ज्ञान थिएन।यहाँ बस्नु हुने मित्र ज्ञानेन्द्र गदालजिले सबै मद्दत   गर्ने जिम्मेवारि लिनु भयो। वहाँले नै सबैलाई भूमिका लेखनको लागि र,डा.तारानाथ शर्मालाई आग्रह गरिदिनु भयो हुन त यो संग्रह निकाल्न बनिता प्रकाशनकी अध्यक्ष लक्ष्मी उप्रेती ज्युसँग पनि म अनुगृहित छु ।वहाँहरुको सहयोगले म बिदेशमै भएपनी आफ्नो देशको ढुकुटीमा एउटा साहित्यिक सम्पत्तिको प्रादुर्भाव भयो। जो मेरो जीवनपर्यन्त जिवित रहनेछ । त्यही मेरो नासोमा डा .तारानाथ दाइले पनि आफ्नो हस्त लिखित प्रेरणारूपी भावहरु सुवर्ण अक्षरले छरिदिनु भयो जुन अझै पनि म पढेर दंग पर्छु ।    
वहाँले भूमिका त लेखी दिनु भो त र मलाई कहिल्यै हिम्मत भएन कि वहाँलाई फोन गरेर धन्यवाद प्रदान गर्ने,हुन त वहाँ पनि अमेरिकाकै एउटा राज्यमा बसोबास गर्नु हुन्छ। मलाई फोन गर्न गार्‍हो पनि हैन तर आफुभन्दा अग्रज भएको नाताले मलाई कहिल्यै हिम्मत भएन फोन गर्ने जत्तिपल्ट फोन गर्न नम्बर मिलाउँछु रिङ्ग जान्छ झन मुटुको ढुकढुकी बढे झै हुन्छ र हत्त पत्त फोन बन्द गर्छु। यस्तै प्रकृया धेरै समय सम्म चली रह्यो अँ....... हँ, मलाई साहश् भएन मेरो भूमिका लेखक आदरणीय दाइलाई फोन गरेर अनुगृहित भएको शब्द ओकल्ने  । मैले ज्ञानेन्द्रजीलाई पनि भने मेरो ब्यथा। वहाँले पनि मलाई कत्ती पटक हप्काउनु भो । के तपाईंलाई वहाँले खानु हुन्छ ?मार्नु हुन्छ? भनेर। पछी सम्म ज्ञानेन्द्रजीले सोध्नु भयो फोन गर्नु भयो दाइलाई? भनेर मैले सहि जवाफ दिएँ "अँ,हँ,मलाई त हिम्मत नै भएन वहाँलाई फोन गरेर बोल्ने" भनेर। ज्ञानेन्द्रजीले पनि धेरै पटक भन्नु भयो "तपाईंलाई त मार्नु पर्ने " यसरी समय बित्दै गयो ज्ञानेन्द्रजीलाई पनि अल्छि लाग्न थालेछ क्यारे,सोध्न नै छाड्नु भयो । मनभरी खिन्नता भएपनी ज्ञानेन्द्रजीको प्रश्नबाट भने मुक्त भएँ । पछी एकदिन हिम्मत गरेँ फोन गर्ने। फोनको रिङ्ग धेरै समय सम्म जाँदा पनि छात्ती दर्‍हिलो पारेर वहाँको आवाजको प्रतिक्षामा बसेँ त र फोन उठेन । त्यो समय वहाँ नेपाल जानु भएको रहेछ । कस्तो फसाद !हिम्मत गरेकोबेलामा त फोन उठ्नु नि। अहिले सम्म मैले खिन्न भएर बस्नु पर्ने त थिएन । यी त भए मेरो संग्रहको भूमिका लेखन र मेरो लेखकप्रतीको अप्ठ्यारोपन। अब वहाँको निबन्ध सङ्रहमा मैले मन पराएको शिर्षक "भूमिका लेखक र भूमिका लेखन" यसभित्र यस्तै गुनासाहरु समेटिएका छन्। हुन पनि हो कवि,लेखकहरुलाई सित्तैमा भावना बाँड्ने बस्तु पनि सम्झिन्छन् र दैवले पनि  छुट्टै अस्तित्व दिएका हुन्छन् क्यारे!अरु क्षेत्रकालाई भन्दा कवि,लेखकलाई पैसामा अनुवाद हुने चाहना अलिक कम नै हुन्छ शायद। तर पनि कवि,लेखक पनि श्रमजिवी हुन उनिहरुले पनि परिवार पाल्नु पर्छ। उनिहरुको पनि पेट हुन्छ । यो यथार्थ कसैले बुझि दिदैनन्। म वहाँको भनाइे यहाँ जस्ताको तस्तै उजागर गर्न चाहन्छु। "साँच्चै  भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकका रूपमा उत्पन्न भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले भूमिका लेख्नु नपरेको कुनै दिन,महिना नै हुँदैन। कहिले त दिनको एउटा लेख्नु पर्ने हुन्छ । म पनि पेट भएको प्राणी हुँ मैले पनि परिवार पाल्नु पर्छ र म जस्तो श्रमजीवी लेखकलाई पनि पारीश्रमिकको आवश्यकता पर्दछ त र भूमिका लेखाउन झुम्मिने श्रष्टाहरु मेरा समस्या देख्दैनन् । उनिहरु मलाई यन्त्र मानवका रूपमा ग्रहण गर्न रुचाउँछन्  र बिना ज्याला शोषण गर्छन्।  आज सम्म सयौं भूमिकाहरु लेखिदिएको छु तर पारीश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा दिने बिचार  गरेका छैनन् । बरु अवधी तोकेर यस् समयभित्र तिमीले भूमिका लेखेर दिनै पर्छ भन्ने तीनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानु पर्ने हुन्छ"  
समिक्षक डा.तारा नाथ शर्मा दाइको यस्तो मन दुखाइेरूपी भावनाले म पनि आजसम्म शरम र हिनताबोधले पानी पानी भएकी छु।अब सोंच्दैछु यस्तो कथा मैले र हामी कसैले नदोहोर्‍याउँनु परोस् । लेखकका पनि भावना,चाहना,जिजीबिषाका लडाइेँहरु हुन्छन् भन्ने हामीमा पनि अक्कल आउन्।यही प्रार्थनाभित्र अल्झिरहेकी छु आजसम्म । हो,पैसामा नै कवि,लेखक अडिएका पक्कै नहोलान् तर कम्सेकम उनिहरुको भावनाको कदर भने अवश्य हुनुपर्दछ र शब्दरुपी उपहार सम्म पनि चढाउन सक्नु पर्दछ अथवा उनिहरुको अवस्थाको मध्यनजर भने अवश्य राख्नु पर्दछ हुन त यो लेख मैले आजभन्दा चार पाँच बर्ष अघी नै लेखेकी हुँ । आज यसो पढ्ने क्रममा यस्लाई केही शब्दहरु थप्ने जमर्को गर्दैछु किनकी मैले यस्पछी पनि एउटा गजल संग्रह "असह्य चित्कार"निकालेकी छु । त्यस्मा पनि केही अग्रजहरुका भनाइेहरु अवश्य छन् । म वहाँहरुप्रती अनुगृहित भएको मैले प्रष्ट्याइे सकेकी छु ।      
                                                        

0 comments:

Post a Comment