Monday, May 26, 2014

( कविता ) "किर्ते नियत चितामाथी "

        


खहरे बनी उर्लिएर
जब पानीले फुर्ती
लाउँदछ,
सोंचौ त्यो पानी
अन्तत:सुकेर
बिस्मृतिमा सेलाउँदछ
हो...,
हाम्रा फुर्ती र स्वार्थ पनि
उस्तै उस्तै हुन्,
सत्ता,कुर्सी र पदलोलुपतामा
कुर्लिएका ती आवाजहरु
एकदिन निसन्देह:
मौनतामा पलायन
बन्दछन्।
जाने हुन्छ
कुर्लिनु अनि उर्लिनु
एकै छिमलका
उत्पादन हुन् भनी 
क्षणभरको आवेगले
केही लछारपाटो लाग्दैन
धैर्यता र मौनताभित्र नै
खाँट्टी गुदी लुकेका हुन्छन्    
यसैले ............,
आफ्नो बेगमा बग्न
छाड्नु हुन्न,
कसैको उन्नतिमा किर्ते आँखा
गाड्नु हुन्न,
अनि.....,
अरुको प्रयासलाई पनि
फाँड्नु हुन्न ।
सच्चा मनले गरेको कर्म
असारे भेलले पक्कै
बगाउँदैन,
सत्कर्मले गरेको कोशिस
बिहानीको तुषारो झैं
कदापी सुक्दैन,
आऔं अब,
सबै मिली यसो गरौं
मनलाई कंचन नदी बनाउँ  
स्वार्थपरता र.....,
क्षणभरको फुर्तिलाई
समाधीको चिता बनाइे
भष्म गराउँ ............../
रचना - मार्च/ १९/ २०१४

0 comments:

Post a Comment