Monday, August 11, 2014

बिचार

"चरी अर्थात् दिनेशको अवशान खुसी कि पीडा ?" - 

नेपालमा आलोतातो खबरहरु अहिले तीनवटा फैलिइरहेका छन्  । प्रथम मोदी आएको तहल्का, दोस्रो सुनकोशीको पैर्‍होले सिन्धुपाल्चोकको बिव्हल अवस्था र भर्खरैको तात्ताओ खबर "नेपालका डन अर्थात् गुण्डाका नाइके चरीको" प्रहरीसँगको मुठभेटमा गोली हानी हत्या । 

यी तिनै कुराहरू नेपालकालागी अहिले चर्चाको विषय बनेको छ । कँहि मोदीको नेपाल भ्रमणले उत्साह र प्रेरणाको किरण छाएको छ भने औसतका मनमा शङ्का, उपशंकाले डेरा जमाएको छ । औसत नेपालीहरू सन्तुष्टीको  श्वास फेर्दैछन् भने औसतले ब्ग्यंङ्य प्रहार पनि गरिरहेका छन् । यस्को सही निर्क्यौलमा पुग्न नपाउँदै विडम्बना ! भनौं या प्रकृति प्रकोप सुनकोशीको पैर्‍होले एउटा विकट परिस्थिति ल्याइदिएको छ । हज्जारौंको बास उठाएको छ भने असंख्य जीवनले मृत्‍युको काख रोज्नु परेको छ । यो हाम्रो देश नेपालको निम्ती ठुलो दुर्घटना भएको छ । 

यो घटनाबाट मुक्त हुन नपाउँदै नेपालका डन कहलिएका दिनेश अधिकारी "चरी"को मृत्‍युको खबरले देशमा अर्को तहल्का मच्चाएको छ । अब चरीको मृत्‍युको सन्दर्भमा औसत मान्छेहरू खुसीले झुमेका छन् भने औसत उन्को मृत्‍युको विरोधमा पागल बनेका छन् । यो समयमा के गलत ? र के सही ? भन्न गार्‍हो छ । 

मेरो निजी बिचारमा के लाग्छ भने,कोही मान्छे जन्मेर होस् सम्हाल्नसाथ "म चोर, लुटाहा, फटाहा र नराम्रो बन्छु" भन्ने पक्कै सोंच राख्दैनन्, त्यस्तो नराम्रो प्रविर्ती र कुलतमा लाग्नु भनेको समय, परिस्थिति र सङ्गतले पनि गर्न सक्छ । सबैमा यो नहोला तर औसतमा यस्तै देखिन्छ । त्यस्ता प्रविर्ती र कुलतमा लागेकाहरुलाई पनि देश,राज्य,समाजले नकारात्मक दृष्‍टिले नहेरी सम्हाल्ने कोसिस गरेमा केही हदसम्म उनीहरूमा चेतना आउने थियो कि ? तर एसो नभएर त्यस्ता भड्किएका र बाटो बिराएकाहरुलाई अनेक लालच र लोभमा फँसाएर गुण्डागर्दी गर्न लगाएर आफ्नो अभीष्ट पुरा गर्ने नियत बोकेका राज्य र राजनीतिका ठेकेदारहरुले पनि यस्ता कुनियत पाल्ने झुण्डको वृद्धि गराइ रहेका छन् । 

कुनै पार्टीको नेताको संरक्षणबिना पक्कै पनि एक्लो मन र ज्यान अनि सानो सांठगाँठले यस्तो बिद्रोही बन्ने हिम्मत कसैमा आउँदैन । यो पक्कैपनि नेपथ्थ्यमा रहेर कुनै राजनैतिक पार्टीले संरक्षण दिनुको नै प्रतिफल हो । "चरी" फेसबुकमा मेरो पनि मित्र थिए । एकदिन हाम्रो कुराकानी भयो च्याटमा । मैले यसो बिचार गरेर नै उन्लाई बोलाउने दुस्साहस गरेँ । मलाई लागेको थियो यो मान्छे पक्कै घमण्डी हुनुपर्छ वा नैतिक्क्ताबिहिन हुनुपर्छ । मसँग बोली हाले भनेपनी म भर्सक यो मान्छेसँग नझर्की, नरिसाइ कुरा गर्छु अर्थात् बोल्न चाहेनन् भने किन बोल्नु र ? कोसिस चैँ गर्छु भनेर "हेल्लो भाइ" भनेँ ।

मलाई आशा थिएन यो मान्छे बोल्ला भनेर तर तुरुन्तै उन्ले जवाफमा "हेल्लो" भने । मैले कुराको शिल्शिला सुरु गरेँ । उस्लेपनि बडो शालीनता पूर्वक भद्रसँग मसँग कुराकानी गर्‍यो । मैले उस्को  चरित्र बारे र किन उस्लाई यो डनको उपाधी दिइेयो ? भनेर प्रश्न पनि राखेँ । तर उस्ले  सिधै मलाई भन्यो "यदि राम्रो काम गर्छु भन्दा यस्तै ठान्छन् भने मेरो के लाग्छ र ?" एक अर्थमा यो कुरापनी सही थियो  तर उ यो वाक्यभित्र थियो ,थिएन, म अनभिज्ञ थिएँ र अझै छु । 


उसको कुराले म स्तब्ध बनें र सोंचें फेसबुकमा अनेकौँ मान्छेहरुसँगको सङ्गत छ मेरो । धेरैजसोको म दिदी हुँ भने औसतको मात्र म साथीको रूपमा छु । यस्ता मित्रहरू मध्ये धेरै भलाद्मी हुँ भन्नेहरुसँगको भलाकुसारीमा मैले औसतको महिलाप्रती कु-दृष्‍टि नै फेला पारेकी थिएँ त्यसैले मैले लग्भग २ वर्षदेखि च्याटमा कुरा गर्न नै बन्द गरेकी छु । 

मैले यस्तो नकारात्मक सोंच "चरी"सँग पनि नराखेकी होइेन तर पनि म उस्को  सोंचलाई परिवर्तन गर्न सक्छु या उसँगको कुराकानी यही मेरो प्रथम र अन्तिम हुनेछ भनेर हिम्मत बटुलेकी थिएँ । मैले उस्को  वालमा केही सकारात्मक हरफहरुपनि कोरेर पोस्ट गरेकी थिएँ जस्लाई उस्ले  लाइेक पनि गरेको थियो  । त्यस्को अर्थ यो होइेन कि उ असल र सकारात्मक सोंचका मानिस हो  भन्ने तर म यही बिचारमा थिएँ उस्को  बिचारको र उदेश्यको नाडी छामेर उस्मा  केही परिवर्तन ल्याउन सकिन्छ कि ? भन्ने झिनो आशा मात्र। 

म आज उस्को  पक्षमा सकारत्मक सोंच किन राख्दैछु भने मेरो प्रथम कुराकानीमा उस्ले  जुन सज्जनपन र शालीनता देखायो  ती गुणहरू विपरीत उमाथीको आरोप र संज्ञा मिथ्या झैँ लागेको थियो । म भ्रममा पनि हुन सक्छु तर जब पछीदेखी उस्को  बारेमा विभिन्न खबरहरु आए त्यस्बाट मलाई यो सोंच्न कर लाग्यो कि उ पहिला बिवशता र बाध्यता अनि कुलतले यस्तो खाडलमा भासिन पुग्यो । 

 हुँदा हुँदै उसमा  अरू साहस र अपराधको भूत सवार हुन थाल्यो । उस्ले  यसैमा मान,सान र धन प्राप्त गर्न थाल्यो  अनि उस्को  असल सोंच पुरै अपराध र कुक्रित्यमा समाहित हुन पुग्यो र राजनीति नामको भूत सवार भएपछी सज्जनहरु नै राक्षस बन्छन् भने उ त स्वयम् कुख्यात अपराधीको संज्ञाले बिभुषित थियो ।  अब निहुँ नै के चाहियो र ? अनि उमेर बल,बैँस र शरीरमा रोग नलागिन्जेल त कुखुरे बैँसका युवाहरूले हात्तीलाई पनि पछार्ने तुजुक देखाइ हाल्छन् नि । शायद यस्तै परिणाम नै हो "चरी" । 

क्षणिक भाग्यको साथ नै भन्नु पर्छ। विभिन्न खबर अनुसार उ कुनै पार्टीको नेताको संरक्षणमा पालिएका थियो । जब राज्यले नै त्यस्ता गुण्डा र अपराधीलाई संरक्षण गरेर गुण्डागर्दी गर्न प्रश्रय दिन्छ वा त्यस्ता बदमाशहरुलाई सुरक्षा दिँदै गुण्डागर्दी गर्न उक्साउँछ भने त्यस्ता नियतकाहरु एक प्रकारले अन्धो नै बनिसकेका हुन्छन् । उनीहरूलाई न "आफ्नो ज्यानको माया हुन्छ न'त उनीहरूलाई मर्छु भन्ने डर र त्राष नै हुन्छ" यद्ध्यपी "कि मार्छु,कि मर्छु"भन्ने उनीहरूको संकल्प हुन्छ । त्यहीमाथी पूर्ण संरक्षण सरकार र पार्टीहरुबाट नै हुन्छ भने त्यस्ताहरु त झन डामेर छाडेका साँढेहरु झैँ मैमत्ता भई हाल्ने भए नि । यसैको एक रूप नै "चरी"अर्थात् दिनेश अधिकारी हो ।

यता औसत आमाको सन्तान देश,समाज र घरकैनिम्ती कलंक बन्न पुग्छ भने उता हजारौँ सङ्ख्यामा देशको रक्षाकालागी खटिएका जवानहरुकोपनी जीवन धरापमा परेको हुन्छ । देशको सिंपाही हुनुको नाताले उनीहरूले पनि त्यस्ता प्रवीर्तिकाहरुसँग दुश्मनी मोलेर आफ्नो ज्यान जोखिममा पार्नु  पर्दछ । आखिर कठै!!!ती दुई पक्षका अनजान युवाहरू  नै एकार्कामा अनभिज्ञ बन्दैपनी एकार्काको छातीमा गोली थाप्न तयार बन्नु पर्दछ ।  अन्त्यमा उनै निरीह आमाहरुकै आँखा कोसीको किनार बन्न बाध्य बन्दछ । 

अन्त्यमा मेरो आशय न'त एक घोषित गुण्डाको पक्षमा अनुनय बिनय हो न'त उनीहरूलाई अझ उक्साउने मेरो प्रयत्न हो। बस म यत्ति भन्न चाहन्छु कुनै पनि देश,समाज,घरमा कलुषित बिचार लिएर अघि बढ्छ भने उस्लाई अझ प्रोत्साहन र बचाउ गर्ने होइन कि सक्भर असल सोंचमा ढाल्ने। कि उस्लाई समयमै चेतावनी दिने । उसका गल्तिहरुलाई बारम्बार दोहोरिन नदिने , उस्को ज्यादती बढ्दै गएमा सजायको भागीदार बनाउने आदी गरेमा पक्कैपनि यस्ता कुनियत र आपराधिक प्रविर्तीबाट अलिक सचेत हुन सक्छन् कि ?

आज "चरी" नामक एउटा अपराधी र समाजको शत्रु,देशद्रोहीको मात्र मृत्‍यु भएन । एक नागरिक, नेपालको छोरो अनि एक युवकको अवशान भयो । पक्कै पनि औसतका आँखा रसाए । तिन्की आमा र परिवार शोक र सन्तापले बिव्हल बने। यसो हुनु भनेको गलत संरक्षण र गलत सुझाव अनि स्वार्थी राजनीति र घृणित नेताका दुष्ट नियत र लालचको प्रतिफल हो । 

सतीको सराप नै भन्नु पर्ला यो हाम्रो देशको माटोले न'त भ्रष्टचारलाई सोत्तर बनाउँछु र गुण्डागर्दीलाई सखाप पार्छु भन्नेलाई स्थान दिएको छ न'त यस्ता अज्ञानताको चंगुलमा फँसेर देश,समाजलाई त्राही त्राही बनाउन खोज्नेहारुको मनोबिज्ञान बुझेर सही बाटोमा ल्याउने प्रयास गरेको छ । यता नेताहरूको पिँठ्यु बनेर त्यस्ता गुण्डाका नाइकेहरु राजनीतिको बलोयो शरणमा पालिएर देश, समाजकै कलंक र दुस्मन बन्छन् भने उता देशका सिंपाहीहरु यस्ता कुख्यात गुण्डाहरुको सिकार पनि बन्न पुग्दछन् यसर्थ यस्ता संवेदनशील कुराहरूलाई देशले संयमित बनेर आखिर यस्ता गुण्डाहरुको पृष्‍ठभुमी के हो त ? किन यिनीहरू यस्ता पेसामा संलग्न भए त ? के बाध्यता थियो यिनीहरूलाई कि देश र समाजकै घातक बन्नु पर्ने ? कि त यिनीहरूलाई राजनैतिक संरक्षण नै छ भने किन यस्तो दुष्कार्य भइरहेको छ त ? यी सब कुरालाई मध्यनजर गरेर  यस्ता बिसगतीपूर्ण कुराहरूलाई माँस्ने सक्दो पहल गरिनु पर्दछ ।

कुनैपनि युवाहरू आखिर किन यस्तो पेसामा संलग्न भए त ? उसको इतिहास कोट्याउन जरुरी छ । ऊ किन कसैको इशारामा नाँच्दैछ ? त्यस्ता इशाराका माध्यम के हो र को हो ? यस्ता नाइकेहरु ?  ती सब निर्क्यौल गर्न जरुरी छ किनकि कसैको पनि अनाहकमा ज्यान नगुमोस् । आज"चरी"नामक गुण्डाको अवशान भयो । "गुण्डा र देशद्रोही अनि समाजको शत्रुको अन्त्य भो भनेर खुसीको दियो बाल्नेको कँहि लर्को छ । कँहि एक जवान छोराको मृत्‍यु भयो भनेर दु:ख पोख्नेको झुण्ड छ । अब हामी जस्ता अनभिज्ञहरुले "एक गुण्डा मर्‍यो भनेर खुसीको जुलुस निकाल्ने ? वा एक आमाको कलेजोको टुक्रा नजोडिने गरी टुक्रियो भनेर दु:ख पोख्ने ?" 

कठै ! ती अनजान आमा कति छाती पिटी पिटी रुँदी हुन् यतिखेर । चोर,गुण्डा,नालायक जे भएपनी एक आमाको निम्ति सन्तान भनेको मुटुको टुक्रा हो । यसैले समग्रमा मेरो आशय यही हो कि "चरी"को मृत्‍यु झैँ अब फेरि बाटो बिराएका युवाहरू मृत्‍युको संघार टेक्न विवश होइन बरु आफ्नो गल्ती र अनजान बाटो छाडेर सही बाटो र देश, समाज, घर, परिवारको निम्ति एउटा असल नमुना बन्न सकुन् भन्ने प्रार्थना सहित् "चरी" अर्थात् दिनेशको आत्माले चिर शान्ति पाउन् । बिक्षिप्त परिवार र निरीह आमालाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरून् । 

अब "चरी" हत्याकाण्ड वा दोहोरो भिडन्त जे सुकै भएपनि यसैको बाहानामा अर्को नौटंकी नरचियोस् । देशमा एकातिर पहिरोले असंख्य नेपालीको आत्मा रोएकोबेला यो घट्नालाई मात्र प्राथमिकता दिएर ती असह्य व्यथाले पुरिएका अनजान जीवित वा मृत आत्माहरुले शान्ति पाउन् । घट्ना हो अप्रत्याशित होस् वा जसरी होस् घट्यो त्यस्को समाधान खोज्नुपर्छ । हुल्दंगा, तोडफोड, आगजनी गरेर समस्याको समाधान हुँदैन । नोक्सानी भनेको देशकै सम्पत्तिको हुन्छ । कुनै नेताको व्यक्तिगत र कुनै प्रहरीको व्यक्तिगत हुँदैन । यदि गल्ती भएमा जस्को गल्ती हो उस्ले सजाय अवश्य पाउँछ शायद । यो घटनालाई अझ तीव्र बनाउन नेताहरूले असल भूमिका खेल्नु पर्छ न'की अझ आगो चर्काउने काम । दोषीलाई कारबाही पक्कै हुन्छ यदि ऊ दोषीको भागीदार बन्यो भने नत्र बिना अर्थको बादबिवादमा अल्झिएर देशमा कोकोहराम मच्चाएर देशमा अझ अशान्ति फैलाउनु बुद्धिमत्ता होइन । पहिरो पीडित समस्या र "चरी" हत्या काण्डको चाँडै छिनोफानो भएर देशमा सु-शान्ति होस् यही कामना हामी प्रवासीको ।





0 comments:

Post a Comment