Friday, May 9, 2014

लघुकथा, "अहंकार"



गजेन्द्रमान झोक्रिएर आफ्नी जेठीछोरीको गुनासो सुनिरहेको छ र आफ्नो बिगत सम्झिरहेको छ । जतिबेला उस्लेपनी आफ्नी श्रीमतीलाई निरीह ठानेर मुटु चुँडिने शब्दहरु प्रहार गर्ने गर्थ्यो । उस्तै बिषयुक्त शब्दहरु नै छोरीले सुनाइेरहेकी छे । "बाबा हजुरको ज्वाँईले सधैं मलाई माँग्नेकी छोरी । तेरा आमाबाबुको हैशियत के छ ? भनेर हेप्नु हुन्छ । जा,न भाडाको घरमा बस्न,आमाबाबुसँग भनेर,जहिल्यै बचन् लाउनु हुन्छ । म'त आजित भइेसकें । त्यो घरमा बस्न सक्ने अवस्था अब छैन मेरो । "
छोरीको यस्तो कुरा सुनेर प्रायस्चितमा डुब्दै सम्झिन थाल्छ ऊ । उस्लेपनी श्रीमतीलाई त्यस्तै दुर्बचनहरु लाउने गर्थ्यो । उस्की श्रीमतीपनी गरीब बाबुआमाकी छोरी थिइेन् । उसरी नै उस्ले "तेरा आमाबाबुको हैशियत नै के छ ? मेरो घरमा आएर सबै पाएकी छस् । आफ्नो घरसम्म नभएकाका छोरीलाई ल्याएर मैले आफ्नो हैशियत नै गुमाएँ । "
आज आफ्नी जेठीछोरीको निरीहावास्थाले ऊ बिव्हल छ । आफ्नो भएको धन,सम्पतीपनी आफ्नै दाजुभाइको कालोकर्तुतले गुमाउनु पर्‍यो । अहिले ऊ रोगी छ । अलिअलि भएको सम्पत्तिपनी आफ्नो औषधी,उपचारमा सब स्वाहा भयो। श्रीमतीले सानो पसल गरेर जिविकोपार्जन गर्दैछिन् । धन्न छोरीले सानैदेखी आमाको दु:ख र संघर्ष देखेर पढ्नमा मेहेनत गरीन् । पढाईको आधारले नै उस्ले धनी परिवारको लोग्ने पाइे तर अफ्सोच!बाबुआमाको निरीहावास्थाले उस्ले सधैं ब्यङ्यरुपी बचनको प्रहार खप्नु पर्छ । आज छोरीको कष्टप्रद अवस्थाले त्यही बाबुलाई मर्नु न बाँच्नु भएको छ ।
ऊ अचेल सम्झिन्छ।"हामी लोग्नेमान्छे जबसम्म समस्यामा पर्दैनौं तबसम्म अहंकारी बनेर आफ्नी स्वास्नीलाइे हेप्दा रहेछौं । हामी तबसम्म अचेतावस्थामा हुँदारैछौं जबसम्म हामीमाथी समस्या पर्दैन। अर्धचेतन र आडम्बरमा म जसरी बाँचें । आज मेरा ज्वाँई भनाउदापनी त्यस्तै अवस्थामा छन्। त्यो समयमा पो महिलाहरु जेपनी सहेर बस्थे । श्रीमानको अत्याचारलाई खप्थे। अबका केटीहरुले कहाँ त्यसरी बस्न सक्छन् र ?अब मैले केही उपाय गर्नै पर्छ।छोरीको जिन्दगीलाई सफल पार्न,तर...कसरी ? त्यो आमाले सहेको दिन कहाँ छ र ? अब त समयले कोल्टे फेरिसक्यो । अब त्यो ज्वाँई न अहिलेको "म" बन्न सक्छ। न छोरी उहिलेकी "आमा" ।
बस् गजेन्द्रमान समयलाई दाँज्न शिवाय केही गर्न सक्दैन । केही नलागेर ऊ आफ्नै सम्पत्तिको अहंकारलाई ज्वाँईको अहंकारसँग तौलँदै समय बिताइेरहेछ अचेल ।

रचना - अप्रिल/ ३०/ २०१४

0 comments:

Post a Comment