Sunday, April 1, 2012

लेख

"तपाईंको कलम हार्‍यो  "
 

समय र बिज्ञानले आजभोलि हाम्रो परिस्थिती,काम,कृयाकलाप हरेक कुरामा छिटो, छरितो,सहज र स्वभाविक बनाइदिएकोछ। यो हाम्रो भाग्य र खुशीको कुरा हो। पहिले पहिलेका मानिसहरुलाई यस्तो सहजता र सौभाग्य कहाँ मिल्थ्यो र?हामी आज भोली घरमा नै बसी बसी विश्वभर क्षणभरमा पुग्दछौ अर्थात विश्वका कुरा थाहा पाउँदछौँ ।अपरिचित ब्यक्तिहरुसँग क्षणभरमा परिचित बन्दछौँ । यो सब हुनुको प्रतिफल बैज्ञानीक चमत्कार हो। यसै शिलशिलामा म यहाँ के भन्न अभिप्रेरित छु भने आज भोली हामी विश्वका हरेक कुनामा रहेका हज्जारौँसँग पलभरमै परीचित बनिरहेकाछौँ ,एकार्कामा परिचय साटासाट गरिरहेकाछौ । यो हाम्रो अहोभाग्य हो। एउटा कुनामा रहेर अर्को कुनाका मान्छेहरुसँग परिचित हुनु।
यदी हामीले यो परिचयलाई सार्थकता दिन सक्यौँ भने । आफ्नै देशमा रहँदा पनि आफ्नै देशका बासिन्दाहरुसँग अपरिचित रहनुको जुन पीडा थियो अहिले हामीलाई त्यो समस्या छैन । हामी सहजताको साथ आफ्ना भावना,उदेश्य लक्षहरु एकार्कामा बाँड्न सक्छौँ अत:यही भावना,उदेश्य बाँड्ने क्रममा आज मलाई भन्न मनलागेको कुरा के हो भने मेरा पनि बिभिन्न देशमा रहेका मित्रहरु सँग अर्थात नेपालकै धेरै मित्रहरुसँग परिचयको क्रम जारी छ। म लेखन क्षेत्रमा लागेकी हुनाले सबैसँग मेरो भला कुसारी हुने गर्छन् । साहित्यिक र लेखकिय भावनाको कारणले पनि कुराकानी हुने गर्दछन्। नव आगन्तुकहरु सँग पनि परिचयको क्रम जारी छ । यसै शिलशिलामा मैले ओकल्न खोजेकी आशय के हो भने ।हरेक परिचय वा कुराकानीको सुरुवातमा प्रत्येक मित्रहरुको पहिलो प्रश्न नै के हुन्छ भने "तपाईं किन बिदेश भासिनु भएको? अर्थात तपाईं जस्तो मान्छे बिदेश पलायन हुनु राम्रो हैन" आदी इत्यादी । त्यस्तै गरेर अरु प्रश्नका लामहरु पनि मलाई तेर्स्याउँछन जस्तै किन सबै कलाकार,कबि ,लेखकहरु बिदेश भासिन्छन?अब अरुको ब्यक्तिगत समस्या त म कसरी थाहा पाउँ?मलाई एउटै कुरा शंका लाग्छ देशको भयावह परिस्थिती,राजनीतिक अस्थिरता,देशको बिग्रंदो स्थिती र ज्यु,हजुरको चाकरी अनी बेरोजगारिको कारण पनि हुन सक्छ। समाजमा अलिकती नाम कमाइसकेका र स्थाईत्व भैसकेकाहरुको भने आफ्नो जीवनस्तरलाई अलिक प्रबन्धको लागि पनि बिदेशमा केही आर्जन गर्न भासिएको हुनुपर्छ।

 यस्तै यस्तै प्रश्नका बौछारहरुको सामना गर्दा गर्दै भर्खर मात्र एकजना अपरिचित मित्र च्याटमा देखा पर्नु भयो र वहाँको मप्रती फ्याँकिएको प्रश्न यस् प्रकार थियो "छिमेकी धनी भएको कारणले तपाईं पनि बिदेशिनु भएको हो?"कस्तो हाँस्यस्पद प्रश्न ?मलाई त वहाँले धेरै इर्ष्यालु नै ठान्नु भयो कि ?न म लक्षहिन मान्छे ठान्नु भयो ? मवहाँको प्रश्नको उत्तर दिन नै धर्मसंकटमा परें। अनि  अर्को एकजना भाइ जो नेपालमै हुनुहुन्छ वहाँको प्रश्न यस् प्रकार थियो । "तपाईं पनि आफ्नो निहित स्वार्थकैलागी बिदेश जानु भएको त हैन ?धेरै नेपालीहरु आफ्ना निहित स्वार्थकोलागी बिदेशिएकाछन् ।" उक्त भाइको प्रश्नमा पनि म एकछिन घोरिएँ। प्रश्नको उत्तर दिन अलिक ढिला भएको थियो । उस्ले बिचैमा प्वाक्क भनी हाल्यो। "तपाईं लेखिकामान्छे मेरो प्रश्नको जवाफ दिन सक्नु भएन तपाईंको कलम हार्‍यो ।" हो उस्को प्रश्न नै मेरो कलम हार्ने खालको नै थियो किन कि मेरो कलम हारेर नै म परदेशिएकी पनि सत्य हो। 
जब म आफ्नो देशमा थिएँ,अनुभव र शिक्षाको प्रमाणपत्र लिएर जागिरको लागि निक्कै भौँतारिएको सत्य म कहिल्यै बिर्सन्न। हो त्यसरी नै कत्ती कलमजिविहरु,प्रतिभावनाहरु,केही गर्छु भन्ने उत्कट अभिलाषा बोकेका हर युवाहरु भौतारिदाँ  हुन आफ्नै माटोमा। नत्र कस्लाई आफ्नो जननीको काख छाडेर परदेशिने रहर हुन्थ्यो होला र?
वास्तवमा वहाँहरुको प्रश्न एकहिसाबले सहि पनि मान्नुपर्छ। "निहित स्वार्थले बिदेश जानु"। हो यो कुरा सत्य हो सबै जहाँ जहाँ जान्छन् , आफ्नो निहित स्वार्थले नै जान्छन्  कोही पनि आफ्नो देश छाड्नेबेलामा उक्त गएको देशको सेवा गर्छु वा त्यही देशको भलो गर्छु भनेर बाटो लागेको हुँदैन। त्यो देशमा गएर अर्थ आर्जन गर्छु,आफ्नो बाँच्ने आधार बलियो बनाउँछु र धन कमाएर आफ्नै देशमा फर्किन्छु भन्ने निहित स्वार्थ अवश्य सबैले बोकेर बिदेशिएका हुन्छन् । आफ्नो देशमा "अल्छे तिघ्रो स्वादे जिब्रो" गरेर बाँचेकाहरुलाई भने बिदेशको माटोले तह पनि लगाएको छ। निहित स्वार्थ त हर प्राणीले  जन्मदै बोकेर धर्तिमा आउँछन् , नत्र जन्मनसाथ किन हर बालक रुन्छन्  त ? त्यो हो जाडोको आभाषले गर्दा आफ्नो निहित स्वार्थ बचाउको लागि रोएको । यसरी निहित स्वार्थ भन्नुको तात्पर्य कोही पनि बिदेश भासिएर आफ्नो जननीलाई बिर्सन सक्षम छैनन्  होला आज सम्म। ढिलो चाँडो फर्कनु भनेको आफ्नो उदेश्यको कारण पनि होला। यदी आफ्नै देशमा राम्रो गाँस,बास,कपास भैदिएको भए शायद हर युवाहरु यसरी भौँतारिएर मरुभूमिको तातो माटो टेक्न वाध्य हुनेथिएनन्  होला। 

हाम्रो देश सानो ,सुन्दर छ प्राकृतिक सौन्दर्यताले परिपूर्ण छ तर अफशोच!धर्ती सुन्दर भएर मात्र के गर्ने?राज्यको ब्यवस्था,राजनीतिक सोँच,नेताहरुको नीतीनियम सुन्दर हुनुपर्‍यो। अब सोँचौ न हर युवाहरु यदी नबिदेशिएका भए देशको आर्थिक स्थिती अझ अस्त ब्यस्त हुनेथियो। बेरोजगारिको सिमा बढेर देशमा अझ चोरी,चकारी,लुटपाटको संख्या बढ्नेथियो शायद। सबैलाई आखिर खान र लाउन त आवश्यक पर्छ नै । त र आफ्नो देशमा त आफ्नो आवश्यक परिपुर्ती हुन पनि गार्‍हो  हुन थालेकोले पनि हर युवाहरु आफ्नो आँगन छाडेर पर्देशिन वाध्य बनेका छन्  भन्नमा अत्युक्ती नहोला । होलान्  कोही कोही स्वाभिमानीहरु पनि आफ्नो देशको सेवा गरेर बस्छु,बिदेशको कमारो बन्दिन भन्ने  जस्का बलिया आधार छन् । ,जागिर दर्हिलो छ । पिता,पुर्खादेखिको सम्पत्तिले धान्न सकेको छ, त र त्यस्ताहरुलाई पनि के सहजसँग बाँच्न दिइेरहेको छ त देशको हालतले ?के उनिहरुहरुको स्वाभिमानलाई पनि आत्मसात गरेकोछ त देशको भयावह स्थितिले?हो कत्ती त असहज बातावरणसँग पनि जबर्जस्ती सम्झौता गरेर संघर्ष गरिरहेकाछन्  यसघडी। जो न आफ्नो देशको सेवक नै बन्न सकेकाछन् , न त बिदेशिएर आफ्नो केही जोरजाम नै गर्न सकेकाछन् । हरघडी हर पल कलेजो मुट्ठीमा कसेर बाँच्न वाध्य छन् । हो त्यस्ता युवाहरुलाई भने देशको राजनीतिले आफ्नै देशमा बस्ने लायक र उनिहरुको बलबुद्धी सुहाउँदो जागिर र अन्य ब्यवस्था गरिदिन सक्नु पर्छ न कि बिदेश भासिएकाहरुलाई मात्र दोष दिने काम?वा बिदेश भासिएकाहरुलाई पनि आफ्नै देश फर्कने चाह वा लालच होस् । 
मलाई के लाग्छ भने। ति ममाथी खनिएका प्रश्नहरुमा जस्ले प्रश्न गर्छन् उनिहरु पनि देशको त्यो भयावह मारमा परेकाछन्  । प्रत्येक दिनको हाहाकार,बन्द, नयाँ नयाँ सुनियोजित घटनाहरु जस्ले देशलाई मौन बनाइदिएकोछ। प्रत्येक  जाङरिला हातहरुलाई बाँधीदिएकोछ । अब यस्तो देशको हालतमा आँफै जकडिएर पनि केही गर्ने हौशला बोकेर बिदेश जान औसर पाउनेहरुलाई यस्तो ब्यङ्यात्मक प्रश्न गर्नु भन्दा बरु ठिकै गरेछ भन्नुमा फरक नपर्ला, कि त देशमा समान अवसर, राजनितिक ब्यवस्था स्थिर,डटेर काम गर्न पाउने सु-अवसर,शान्ति  हुँदा हुँदै पनि देशलाई माया मारेको भए हर बिदेश पलायन हुनेहरुलाई भन्ने मात्र हैन जानबाट नै रोक लगाउँन  ठीक हुन्छ त र देश आँफै मारमा परिरहेकोबेला सबैजना एकापसमा लुछाचुँडि गर्दै बस्नु भन्दा त बिदेशमा गएर कमाउने अवसर त पाएकाछन्  कमसेकम । देशको बिगतदेखिको रँडाकोले गर्दा देशको आर्थिक ,सामाजिक,राजनितिक अवस्था नै डावाँडोल भएकोबेलामा झन बेरोजगार र बेकारीले सिमा नाघेको अवस्थामा देशमा चोरी,चकारी,लुट्पात बढीरहेकोबेला धन्न हज्जारौँ नेपालीहरुले बिदेश गएर अझ यस्तो हुनुबाट बन्चित भएको महसुश हुन्छ किन कि सबैलाई नै गाँस,बास कपास चाहिन्छ । आवश्यकताले गर्दा मान्छेले आफ्नो आपुर्ती टार्नको लागि जे पनि गर्न तयार बन्छ जब कि कमाएर खाने अवसर नै छैन भने । 
मेरो आशय यही हो कि सबैले बिदेश जानै पर्छ भन्ने हैन त र जो जत्ती गए उनिहरुले आफ्नो स्वार्थ पुर्तिलाई मात्र आफुलाई बिदेशी बनाएका हैनन् । देशको अवस्था र समयले वाध्य बनाएको पनि हो। अब भनौ न जस्का परिवार नेपालमा छन्  शायद, यो घडी बिदेशमा आफ्नो मान्छेको कमाइमा नै  आश्रित छन्  किनकी  देशमा अहिले गरेर खाने बाटो नै बन्द भएकोछ , जो संघर्ष र मेहेनत गर्दैछन्  आफ्नो ज्यु ज्यान जोखिममा राखेर गर्दैछन्  तापनि आफ्नो उदेश्य,लक्षको त कुरा परै छाडौँ ,बाँचेर आफ्नो परिवारलाई पाल्न सम्म मुश्किल छ उनिहरुलाई। अब यत्तिका सत्यता छर्लङ हुँदा हुँदै पनि कसै कसैको यस्तो प्रश्न र नकारात्मक सोँच् देखी कहिले कहीं म आजित बन्छु ।

बिदेश जानेकै कथा कोट्याउने हो भने उहिले उहिलेका नेपाली बा'हरुले बिदेशमा गएर नेपालको मान पनि उच्चा गरेको ईतिहास हामीसँग प्रशस्त छ बीर गोर्खालीको नामले विश्व सामु नेपालीको पहिचान राखेको पनि हामीसँग ज्वलन्त उदाहरण छन् । यसैसन्दर्भमा म एउटा भरखरको कुरा कोट्याउन चाहन्छु । हाम्रो रेस्टुराँमा एउटा भुतपुर्व अमेरिकन सैनिक सधैं आउने गर्छन् जो भियतनामको लडाईंमा अपाङ्ग बनेका रहेछन्  र ऊ व्हिल चियरमा नै हिंड्ने गर्छ। उस्ले मलाई उत्सुक बन्दै भन्यो "प्रभा हेर त यी  नेपाली वीर गोर्खालीहरुको तस्बिर  जस्ले पहिलो "वर्ल्ड वार"मा तक्माहरु पाएका रहेछन् । यस्तो देशको नाम राख्नेहरुको पनि तेरो देशले सुरक्षा र उनिहरुको हितको लागि केही गरेको छैन रहेछ । "यत्ती भन्दै मलाई त्यो तस्बिर देखायो साँचै नै त्यो तस्बिरमा (दुइजना लाल बहादुर थापा र दिल बहादुर थापा)बृद्धहरु उभिएका थिए र उनिहरुको बारेमा केही लेखिएकोथियो। उनिहरु एकजना ७५ बर्षको र एकजना ९२ बर्षका थिए । एकजनाको छात्तिभरी तक्माका लहर थियो त र खुट्टामा भने चप्पल धरी थिएन र लुगा पनि त्यस्तै नीरिहता देखिने नै लगाएको थिए बृद्धाहरुले । उस्ले अन्त्यमा भन्यो "मैले यिनीहरुकोलागी केही राहत होस् भनेर चेक पठाइदिएँ हिजोमात्र" भन्दै मसँग फेरि  बिष्मात पोख्यो। उस्को कुरा सुनेर म पनि केही लज्जित भएँ र ति बृद्धाहरुका छात्तिभरी तक्मा देख्दा भने मैले पनि गर्वको सास फेरेँ । बिदेशमा गएर नेपालको शान त राखे कम से कम। त्यही भुतपुर्व सैनिक जवानहरुको बिरताले गर्दा नेपालीहरु साहशी र वीर हुन्छन्  भन्ने छाप अझै कत्ती देशहरुमा परेकोछ । भन्नुको आशय के हो भने आफ्नै देशको शत्रु बनेर आफनै घरभित्र नै मारकाट गरेर बिद्रोहिको उपनाम भिर्नु भन्दा त जहाँ रहेर पनि देशको नाम राख्नु उचित हुन्छ नि। जस्ले जे भनेपनी बिदेशिएका नेपालीहरुले बिदेशमा जहाँ जहाँ रहेकाछन्  परिश्रम गरेर खाएका छन् । मेहेनतिको उपाधी पाएकाछन्  । विश्वास जितेकाछन्  त्यो देशको त र कहिं कोही यस्को बिपरित पनि नहोलान्  भन्न सकिन्न ता पनि अक्सर नेपालीले परिश्रम् र विश्वासले त्यो ठाउँमा राम्रै छाप बसाएकोछ भन्नमा म पछी पर्दिन ।
ओहो!मैले त यो लेखको श्रीगणेश त  हामीलाई बिज्ञानले सबै कुरामा सहज बनाइदिएर अहिले हामी टाढा टाढाका मान्छेहरुसँग पलभरमै नजिक बन्न पाएकाछौँ भन्ने पो थियो त! कहाँबाट कुरा बटारिएर देशकै गुनासो गर्न पुगिछु  त र...म यो कारणले देशको कुरा गर्न वाध्य भएँ कि मलाई गरिएका प्रश्नहरु देशकै निम्ती बोलिएका थिए र ति प्रश्नहरु अनर्थ र सोँचनीय  थिए जुन एउटा प्रश्नमा मैले "छिमेकिको इर्ष्या गरेकीले बिदेश भासिएको" भन्ने  थियो र अर्को चाँही "निहित स्वार्थकोलागी" भन्ने थियो ति दुवैको प्रश्नको उत्तर मैले सोंचेर दिनु थियो त र मैले दोश्रो प्रश्नको उत्तर दिन अलिक ढिला गर्दा उक्त ब्यक्ती जो पत्रकार भाइ हो उस्ले यसो भनेको थियो "तपाईंले मेरो प्रश्नको उत्तर दिन ढिला गर्नु भयो तपाईंको कलम हार्‍यो  "।  हो म लेख्ने मान्छे हुँ । आए पनि नआए पनि लेख्ने प्रयास गर्छु। आफ्नो लेखद्वारा समाज,देशमा चेतना दिने प्रयास गर्छु भलै मेरो लेखको स्तरियता नहोला त र पनि म कोशिस  गर्छु। 

अब भनौ न पत्रकार र लेखकमा के भिन्नता र ?त्यही लेखकिय प्रतिभा भएकाहरु नै आफ्नो जिबिकाकोलागी पत्रकारको पेशा अप्नाउछन्, जब उस्मा लेखन शैली राम्रो छैन भने उस्ले पत्रकारको धर्म नै निभाउन सक्दैन। अब हाम्रो देशको बिडम्बना नै भनौ लेखक भएर बाँच्न असम्भव छ त्यसैले हर लेखकहरु पत्रकारको उपाधी भिरेर आफ्नो जीजिबिषाको खोजिमा बाँच्न वाध्य छन्  त र एउटै उदेश्य,एउटै प्रतिभा,एउटै धर्म निभाउने हामी लेखक र पत्रकारबिचमा यस्तो फरक बिचार भएपछी भिन्ना भिन्नै बिचार,पेशा,क्षेत्र भएकाहरुका बिचारमा बिबिद्ता  आउनु स्वभाविक हो नि। यसरी त्यो भाइले मेरो कलम हारेको घोषणा गर्‍यो जबकी उ नै एउटा लेखकको हाँगा पत्रकार हो /
हो यस्तै सोँच र अल्प बिचारले हामी पिछडिएका छौं । यदी मेरो कलम हार्छ भने त उ पनि स्वयम हार्छ नि। पत्रकार र लेखकको कलम त एकार्काको परिपुरक र पर्याय हो भन्दछु म। कलमले गल्ती गर्नु हुन्न र कहिल्यै हार्नु पनि हुन्न। हो यो साँचो हुन सक्छ कलम बहिष्कृत भएर शरणार्थी बन्न पुगेकोछ। कलमका डोबहरु जल्न पुगेकाछन्  तर कलम हार्‍यो  भन्ने मैले पढ्न र देख्न पाएकी  छैन,शायद म ओझेलमा नै छु कि ?उही भाइलाई सोध्न पर्ला । यदी मेरो कलम हारेछ नै भने म सक्दो कोशीस गर्नेछु फेरि  त्यो कलमलाई जिताउन र बिउँझाउन । अस्तु /
 

रचना -२००९

0 comments:

Post a Comment