Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Monday, August 11, 2014

कविता- "पहिरोमा बिलाएको बस्ती "                    


हरे!प्रकृती प्रकोप!!!
तिम्रो बहुला प्रविर्तीले 
सुनकोशीको माध्यम बनी 
तहस-नहस गर्‍यो 
सिन्धुपाल्चोकबासी माथी 
हल्लै हल्लाको देश नेपाल 
यतिखेर शोक सन्तप्त बनेर 
मौनतामा डुबेको छ,
लाखौंंका आँखाहरु 
झरी बनेर बर्षीरहेछ,
कठै!!!
ती निरीह मान्छेहरु
अस्तिवहिन भएर कहाँ बिलाए?
उनिहरुका सपनाहरु आज 
कसरी बगिए?
सुनकोशीको पहिरोभित्र । 
मध्यरातको मीठो सपनीभित्र 
चिम्लिएका आँखाहरु 
कस्तरी दिर्घकालिन् बनेर 
चिम्लिए?
अनन्तसम्मको लागी,
दुर्भाग्य नेपालको या नेपाली भुमीको ?
कहिले पहिरोमा पुरिनु पर्ने 
कहिले बाढीमा बगिनु पर्ने
अनि..., 
माटोको माया साँच्नेहरु नै 
त्यही माटोभित्रको अवशेष बन्नु पर्ने।  
क्षणभर सपना साँच्यो 
पलभरमै ध्वस्त बन्छ 
पलभर कल्पना संगाल्यो 
निमेषभरमै भताभुङ हुन्छ 
अहो!ती निरीह गाउँलेहरु 
शहरको कोलाहलबाट सधैं टाढा 
नेताहरुको भाषणबाट सधैं अनभिज्ञ   
पसिना र पौरख साँच्दै 
नेपाली हुनुको स्वाभिमानमा 
एैयास्सी जीवनबाट बन्चित 
तर...अफ्सोच!!! 
उनिहरुमाथी नै खस्छन् 
पहिरो बनेर पहाडहरु 
अनि....., 
उनिहरुका इेच्छाहरुलाई नै 
किन बगाउँछन् 
बाढी उर्लिएर,
बिडम्बना!!!
बस्तीको बास हुनुको ,
दुर्भाग्य!
बिकट पखेरामा जिजीबिषा साँच्नुको 
त्यसैले .....,
आउँ सबै मिलौं 
जिउँदै मृत्‍यु अंगालेका 
पीडितहरुको उद्धार गरौं 
आफ्ना सर्वस्व गुमाएका 
मनहरुको पीडाको मल्हम बनौं,
सुनकोशीको बिह्वलतालाई 
आत्मसात गरौं !!!!!!!!!!


रचना -अगष्ट/ ४/ २०१४    
     

Monday, May 26, 2014

( कविता ) "किर्ते नियत चितामाथी "

        


खहरे बनी उर्लिएर
जब पानीले फुर्ती
लाउँदछ,
सोंचौ त्यो पानी
अन्तत:सुकेर
बिस्मृतिमा सेलाउँदछ
हो...,
हाम्रा फुर्ती र स्वार्थ पनि
उस्तै उस्तै हुन्,
सत्ता,कुर्सी र पदलोलुपतामा
कुर्लिएका ती आवाजहरु
एकदिन निसन्देह:
मौनतामा पलायन
बन्दछन्।
जाने हुन्छ
कुर्लिनु अनि उर्लिनु
एकै छिमलका
उत्पादन हुन् भनी 
क्षणभरको आवेगले
केही लछारपाटो लाग्दैन
धैर्यता र मौनताभित्र नै
खाँट्टी गुदी लुकेका हुन्छन्    
यसैले ............,
आफ्नो बेगमा बग्न
छाड्नु हुन्न,
कसैको उन्नतिमा किर्ते आँखा
गाड्नु हुन्न,
अनि.....,
अरुको प्रयासलाई पनि
फाँड्नु हुन्न ।
सच्चा मनले गरेको कर्म
असारे भेलले पक्कै
बगाउँदैन,
सत्कर्मले गरेको कोशिस
बिहानीको तुषारो झैं
कदापी सुक्दैन,
आऔं अब,
सबै मिली यसो गरौं
मनलाई कंचन नदी बनाउँ  
स्वार्थपरता र.....,
क्षणभरको फुर्तिलाई
समाधीको चिता बनाइे
भष्म गराउँ ............../
रचना - मार्च/ १९/ २०१४

Friday, May 9, 2014

"शायद प्रेमकैलागी फुलेकी छे । "

       

तिमीले दिएको 
प्रेमरुपी उपहार गुलाबका 
पत्रपत्रहरुमा 
प्रेमको खात नै 
लुकेको छ कि भन्दै 
जतनले राखेकी छु,
म कामना गर्छु 
यी गुलाबका पत्रहरु 
कहिल्यै अस्तित्वहिन नहोउन्  
बरु ओइेलिएर खङ्रङै 
किन नहुन् ?
यस्को अस्तित्वलाई 
म सदा आफ्नो 
मनको कठ्घरामा 
कैद गरेर नै राख्नेछु।  
तर..., 
मेरो गुनासो 
तिमी केवल गुलाब सुम्पेर 
मायाको लायक बनें 
भन्ने भ्रममा नपर्नु है 
जब तिमी गुलाबको 
जवानीलाई निमोठेर 
कसैलाई अर्पित गर्छौ भने 
के भरोशा रह्यो र ?
मेरो चोखो मायाको पनि  गला 
 नरेटिएला भनी ?
हो..., 
म यस्तै आशंकामा 
मेरो मायालाई तौलिरहेछु
कतै तिमीले दिएको माया 
र....., 
मेरो मायामा जोड,घटाऊको 
हिसाब नलागोस् ।  
साँचो माया उपहारको भोको हुन्न 
सत्य प्रीत चिनोको दासी हुन्न 
दुइे मुटुले पत्यार गरे 
मायाको प्रत्यक्षदर्शी चाहिन्न 
यसैले......., 
बिन्ती प्रिये 
उपहारमा मेरो मायालाई  
अनुवाद नगर
रातो गुलाबको जवानी नासेर 
मेरो मायाको उपहास नगर 
माया केवल मनले गर 
प्रेमदिवसको बहानामा 
अन्जान गुलाबको 
अन्त्य नगर 
शायद ऊ पनि त 
प्रेमकै खातिर
फुलेकी छे !!!!!!!


रचना - फेब्रुवरी/ १२/ १४        

Monday, February 24, 2014

कविता - "नारी उत्साह"

    

अपहेलना र पीडाको 
दहबाट फुत्त उम्केर 
नारी,
आज पुरुषको सहयात्री 
बनेकी छे,
चुल्हो,चौका र रछ्यानका 
जुठाहरुसँग मितेरी लाउँदै 
नारी, 
आज प्रेरणा र उत्साहको  
माध्यम बनेकी छे ।
नारी,
जान्दिन अब केवल 
भान्सा र दलानको 
भरौटे बन्न 
नारी,
रुचाउन्न अब मात्र आफुलाई 
कसैकी दासी भन्न,
यो एकाइेसौं शताब्दिमा नारी 
सीता झैं अग्नी परिक्षा दिन 
असमर्थ छे,
अनि....,
तस्लिमा नसरिन झैं शरणार्थी 
बन्न अस्वीकार गर्छे। 
नारी अब भगौडे सिपाही झैं 
बन्न सक्दिन,
ऊ आफुलाई कमलरी बनाइे 
साहुको  जुठो रछ्यान् 
भन्न सक्दिन, 
नारी सधैं लालायित हुन्छे
मदर टेरेसा बन्न,
र....,
उत्साहित देखिन्छे  
पासाङ् ल्हामु झैं बिरङणा  
बन्न,
नारी.....,
पृथ्वी झैं अटल बनेर 
अडिन सक्छे,
त्यस्तै .....,
हजारौं सन्ततिका पाइेलाहरु 
छातीमा टेकाएर 
स्तब्ध बन्न सक्छे 
हो..., 
नारीभित्र अथाह सहनशक्तिको
सागर दौडिरहेको हुन्छ 
उस्को अधरमा हर्दम
लाली गुरांस् नै 
फुलिरहेको हुन्छ
र.......,
नारी केवल प्रशव पीडा
सहने माध्यम मात्र
बन्न चाहन्न 
अनि....., 
आफुलाई आमा,श्रीमती मात्र
भन्न चाहन्न 
नारी,
आफुलाई पुरुषकै दोश्रो साहस् 
बनाउन चाहन्छे 
ऊ,
आफुलाई संसारकै शक्ति
भनाउन चाहन्छे, 
पुरुषको अर्धाङिनीको 
रुप मात्र होइेन 
पुरुषकै पर्याय हो भन्ने 
जनाउन चाहन्छे !!!!!!!!

रचना - फेब्रुवरी/ २४/ १४ 


   

Tuesday, February 11, 2014

कविता "सहमती हराएको देश"

 

म, 
सहमती हराएको देशको 
मान्छे,
सहमती शब्द मेरो नेपाली  
शब्दकोशभित्रबाटै 
लोप भएको छ
र,त..., 
मेरो देशको आँगनमा 
हरदम असहमतीको बादबिवादमा 
लठारिइे रहेछन् 
देश हाँक्छु भन्ने 
अहमबादीहरु । 
दम्भ र अहंकारले पोंतिएर 
कुबिचारका केस्रा केस्राहरुलाई 
मस्तिष्कभित्र गुम्साइे सधैं  
पौंठेजोरी खेल्न खप्पिस 
तिनीहरु असहमती र 
असमझदारिमै रुमल्लिइे 
रहेछन् हरदम हरपल । 
जनताका भोका,नाँगा 
परिस्थितीसँग खेल्वाड गर्दै 
सधैं स्वार्थमा निर्लिप्त बनेका
यी देश पालुवा साँढेहरु 
सधैं "अ" शब्दसँगै 
नजिक छन् ।   
देशलाई माँग्ने भाँडो बनाएर 
उनिहरु चाँदिका थालमा भुजा 
ज्युनार गर्न र पञ्च धातु मिश्रित   
आँखोरामा जल पिउन 
अभ्यस्त छन्,
तर सोझासाझा जनता टपरीमा 
खोले फाँडो खान सम्म 
बहिष्क्रित छन् ।    
यसैले म 
"अ" शब्दको 
सामिप्यतामा हुर्किएको 
अनमेल र अप्राप्तीको कुइरीमण्डलमा 
कुइरोभित्रको काग झैं 
अल्मलिइे रहेछु, 
"हुन्छ" र "हो"शब्दहरुको 
अक्षर खोज्दै क,ख,राको
बर्णमाला छिचोल्न 
ब्यस्त छु
अनि ...,
असहमती र असमझदारीको 
वाक्य मेटाउन 
उद्वेलित छु । 

रचना - जनवरी/ २८/ १४   

Friday, January 10, 2014

( कविता ) " तिम्रै बुई चढ्छन् कलमकर्मीहरु "



कविता
तिमी तीन अक्षरमा 
सजिएको त्रिमूर्ती 
तिम्रो माध्यम भएर
कति भावनाहरु 
बहन्छन्, 
शुन्य आकाशको हावा झैं 
सरर आफ्नै गतिमा । 
अनि..., 
फेरि तिमी भएरै पो 
गर्छन् बिलौना 
आफ्ना दु:खद पीडाको 
र,
कवितै भएर उर्लिन्छन् 
औसत भावहरु खहरे 
उर्लिए झैं। 
अहो!कति आनन्द ?
कविताको बुइे चढेर नै 
साहित्य शिखर चुम्छन् 
कविहरु। 
अक्षरहरुको इेंटा थप्दै 
शब्दरुपी महलहरु  
ठड्याउँन उस्तै खप्पिस,
अर्थात..., 
बिचारहरुलाई कैद गर्दै 
शब्दको बारी खन्छन् 
अनि आफु खेतालाको 
अभिनय गर्दै 
कविताको हली बनेर 
नार्छन् संबेदनशिल कलमहरु 
गोरुको पर्याय बनाइे ।  
कविता के तिमी 
सहमत छौ 
अरुको भावनामा 
समाहित हुन ?
आफ्ना तीन बर्णहरुलाई 
बन्धक राखेर आफैमाथी 
ढलिमली गर्न दिन ? 
के तिमीलाई 
स्वीकार्य छ ?
कविता तिमी त साँच्चै  
नाँची रहेछौ बनेर कठ्पुतली 
सारा कलमकर्मीका औंला 
औंलाहरुमा । 
हो.....,
कविता, 
तिमी बाँची रहेछौ 
तीन बर्णको त्रीमूर्ती भइे  
अरुकै दासतामा 
भावना र शब्दको 
कोशेढुङाबिच निरीह सुनाखरी बनेर,

Sunday, September 15, 2013




( कविता ) " कामुक बयेली स्पर्ष "

साँझपख गैर्‍ही खेतमा 
क्षितिजसँगै देखिने 
रंगिन धानका बालाहरुसँगं
हावाका अनेकौं झोंक्काहरु 
धानका पालुवाहरुलाई 
स्पर्ष गर्दै छिल्लिँदै 
चुम्न आउँछन् 
बयेली खेल्दै। 
छि:कस्तो छिल्लिन 
जानेको होला  
हावाले त्यस्तरी ?
पालुवाकै बैंश चोर्नेगरी।  
बयेलीको जिस्काइेमा 
ऊ,पनि नक्कचरी बनेर 
जिस्किन्छे,मस्किन्छे उस्तै, 
कठै!!!कुखुरे बैंशको 
अन्जान पलमा
क्षितिज उस्तै 
रगताम्य बनेर 
उस्को लालीसँग 
पौंठेजोरी खेल्न 
तम्तयार हुँदै  
आकाश ढाकेर फैलिदिन्छ 
लमतन्न बन्दै ।
अनि ........,
समय पनि रंगिन फूल बनेर 
मुस्काउँदै ती बालाहरुको 
सुकुमारी बैंशको तमाशा 
हेरिरहन्छ,
यता हरियालीको आगमनमा 
बयेली आफ्नो कामुक स्पर्षले 
धानका अंग अंगसँग 
आनान्दानुभुतीको आभाषमा 
छिल्लिरहन्छ/जिस्किरहन्छ ....../       

रचना - सेप्टेम्बर १२/ १३ 

Sunday, May 19, 2013


( कबिता ) "आफ्नै मनले खै के के भन्यो ?" आचार्य प्रभा 

प्रतिबन्धित म 
तिम्रो आँगनमा टेक्न 
तर...पनी
यी पाइेलाहरु अनायस 
बढ्न खोज्छन् 
तिम्रो प्रतिबन्धको 
तगारो ठेलेर पस्न । 
हो......न,त मैले 
कुनै सिमाको हेक्का राखें  
न,त मैले कुनै 
असम्भवतामा बिचार पुर्‍याएँ
त्यो सिमा नाँघ्न हुन्न भनी 
त्यो तगारो खोल्न पाउन्न भनी ।
यो मन यसै भ्रममा बाँची दियो 
यो अधर झुटो आशामा 
हाँसी दियो,
आखिर....,
सत्यको हाली मुहालीमा 
असत्य चाहना यसै मरिदियो । 
मैले बुझ्नु पर्ने,
मैले जान्नु पर्ने,
नदिका दुई किनारको त्यो अवस्था 
आत्मसात गर्नु पर्ने 
तर यो अबुझ मन 
त्यसै,त्यसै बहकिइे दियो 
अन्त्यमा त्यो आँगन 
बैरी बन्यो 
अनी.... त, 
आफ्नै मनले आफैलाई
अबुझ अनी बिस्थापित भन्यो 
खै!के के भन्यो,भन्यो .........../

रचना- मे/ १६/ १३ न्युयोर्क ) 
  

Tuesday, April 16, 2013

    "अस्वीकार्य शुभकामना "                                                                                                 आचार्य प्रभा                                                                          डेन्भर (अमेरिका )



    नदेउ मलाई शुभकामनाका गुच्छाहरू
    मेरा नीम्ति नयाँ,नौलो भन्नु
    उही हो ,जो सधैं चली रहेको छ
    वा चल्नेछ सधैं .........,
    नयाँ क्यालेण्डर बनाउनुको हत्तारमा
    नयाँ बर्षको प्रतिक्षामा
    उद्वेलित हुन्छन् मनहरू
    तिथी र मिती सजिन्छन्
    क्यालेन्डरका भित्ताहरुमा
    तर कदापी सजिन्नन्
    नयाँ आशा र उमंगका अक्षरहरू
    नौलो अनुभुती पाउनुको अर्थमा
    उत्ताउलिन्छन् मनहरू
    अनि....सिमित बन्छन् ईच्छाहरू
    एक बोतल व्हिस्की र कबाबमा
    मातको रमझममा लठारिन्छन्
    खुट्टाहरू र बटारिन्छन् जिब्राहरू
    बस् लाग्छ नयाँ बर्ष त्यो पल
    केवल त्यहि पल मात्र......../
    हिउँद त्यहि हुन्छ,
    बर्षा उस्तै हुन्छन्
    रात उही पट्ट्यार लाग्दो नै हुन्छ
    दिन उही बिरक्तिंदो हुन्छ ।
    केवल.....भ्रम र उल्लास मात्र
    दोहोरिन्छन् ,
    सम्पन्नाताको घेराभित्र,
    अफ्सोच!बिपन्नताका भागिदारहरू
    उस्तै जर्जतामा पिल्सिरहेका हुन्छन्
    उही पुरानै सुस्केरा हाल्दै ।
    नयाँ बर्ष,नयाँ समय,नयाँ पल
    केवल.....भित्तामा मात्र सजिन्छन्
    बडो धाकसँग ।
    गरीब र पीडित उही पुरानै कथामा
    अल्झी रहन्छन्,बल्झी रहन्छन्
    नयाँ बर्षलाई मात्र
    एउटा रीत सम्झेर
    नयाँ पललाई मात्र
    खुशीको गीत सम्झेर
    त्यसैले.........मलाई,
    अधुरो रीतमा रमाउँनु छैन
    अनी......खुशीको गीत गाउँनु छैन
    जुन सधैं एउटै
    बल्झीरहने घाउ बनेर हर मनहरुमा
    डसीरहन्छ अनी बसिरहन्छ
    नयाँपनको मीठास रत्तिभर नदिई
    राहतको आभास कसैलाई नछरी
    त्यसैले....म नयाँ बर्षको लालचमा
    रमाउँन चाहन्न,
    कसैको शुभकामना अंगाल्न चाहन्न
    जुन पुरानै कथा बनेर झुक्क्याउँन आउँछ
    त्यस्तै बिगतको सपना झैँ बिथोल्न आउँछ....../

    रचना -अप्रिल १२ /१३

  
 ( कबिता ) "नागबेली झैं बेर्‍हिन्छ नयाँ बर्ष"                                                                                                                                                               


जिन्दगी बर्ष बर्षमा उनिएर
नागबेली झैं बेर्‍हिरहेछ
आफ्नै उमेरको पासो बनेर
हामी भने नेपथ्यमा
रमाउँछौँ,उफ्रिन्छौं
नयाँ आशाको किरण पालेर
जहाँ जिन्दगी अझै
बढ्नुको अर्थमा छोटिंदै
घटिरहेछ आयुलाई
धम्की दिंदै ।
बर्षहरुको आगमन बढ्दै जान्छ
जिन्दगीको सिमा रेखालाइे
मिच्दै मिच्दै,
जिजीबिषाहरुका पर्खालहरु
कम्जोर बन्दै जान्छन्
मक्किंदै,धस्किंदै 
तर...हर नयाँ बर्ष
सक्षम बन्छ उनै
अन्जान मनहरुलाई
क्षणभरकोलागी रोमान्चित
पार्नलाइे वा छक्क्याउँनलाइे
आफ्नो नौलो बैंशको घुम्टोले
छ्पक्क छोप्दै ,
यता उमेरको हत्बन्धी नाँघ्दै
गईरहेका मन हरु पनि
नयाँ बैंशको अँगालोमा
लट्ठ पर्छन् अन्जानमा
आफ्नो बैश फुत्किंदै
आफैलाई छलेको
आभास नै नपाई
तर पनि.... फुलिदिउन्
नयाँ बर्ष हर छातीमा
सुनाखरी झैं लहराइे............/


(रचना -अप्रिल/ १५ /२०१३ )



  

Friday, November 2, 2012

कबिता



 "अहमताको बोली "

अग्लो सगरमाथा

छातीमा टाँसेर
म होँचो नेपाली
अग्लाइेको अहमता
बकिरहेछु।
हो.....,
अहमता सबैमा
हुनुपर्छ,
सगरमाथाको चिनारीलाई
सर्वब्यापी बनाउँनु पर्दछ
तर आकारमा मात्र
अग्लाइेको परिभाषा
दिएर होईन,
सगरमाथाको
अग्लाइेको आडमा मात्र
आश्रित भएर होईन
आफ्नो उचाइे पनि
सगरमाथा झैं उच्च बनाइे
अग्लाइेको चुचुरो छुन
सक्नुपर्दछ ।
हो,
नेपालीहरु ब्यस्त छन्
सगरमाथाको उचाइेको
अस्तित्व जोगाउँन होइेन
आ-आफ्ना नाखको
उचाइे र अग्लाइेको
बखान गर्न,
त्यसैले आजभोली
सगरमाथा पनि
बिह्वल छ.
आफ्नो अग्लाइेको
स्वाभिमान बिर्सिएर
आफ्नै देशका
अ-मान्छेहरुको बिभिद
घच्चाघम्सिको प्रतिष्पर्धामा ।
तर ........,
यी होँचा नेपालीहरु भने
अझै सगरमाथाको अग्लाइेको
अहमतामा आफुलाइे
परीचित गराउँन लालायित छन्
तर....आफु अग्लिएर
सगरमाथाको उचाइेमा
अझ थप उचाइे थप्ने
प्रयासमा भने कहिल्यै
अग्रसर छैनन्
बरु आ-आफ्नै आडम्बरको
पर्खाल अग्लाउन भने
तम्तयार छन्
र.........,
त्यही स्वार्थमा लिप्त छन्
जहाँ गएपनी,जहाँ रहेपनी
अग्लो सगरमाथाकै
अग्लाइेमा अहमताको
बोली बिकाउन ।

रचना -सेप्टेम्बर १५ /१२

Saturday, September 15, 2012

( कबिता )

 "अपबाद"
 

यता मन
खडेरिमा छट्पटिँदा
उता आँखा असारको
झरी बन्छ,
खै!
आफ्नै मन
आफ्नै आँखा किन
यसरी बिपरित ध्रुब
बनेर मलाई
गिज्याउँन लालायित
बन्छ ?
थाहा छैन
जीवनको सार नै
यस्तै हुन्छ कि ?
दिन खोज्दा,
कालरात्री आउँने
रात रुचाउँदा
दिनको कोलाहल  
हात लाग्ने ।
हो यस्तै,यस्तै
बिपरित नियमको
दासी बनिरहेछ
यो जीवन ।
सम्झे जस्तो
चाहे जस्तो
रितसँग आफु
बाँच्न सके
शायद हर मान्छे
इेश्वरको पर्याय
पनि त कहलिन्थे
होला ?
त्यसैले त....,
मान्छे भयौँ
जस्ले घाम,पानी,
ताप,राप जे पनि
सहन वाध्य
हुनुपरेको छ ।
उता आँखा रुझ्दा
यता मन खडेरीमा
छट्पटिनु परेकोछ
आखिर...,
जे जस्तै भएपनी आँखालाई
असारे झरिबाट बचाउँन
मनको घुमले
ओत दिनै परेको छ
अनि....,
मन खडेरीमा डढे पनि
शान्त्वनाको पंखाले
शितल हावा
दिनै परेको छ।
मान्छेको नियती भोग्दै
हर अपबादहरु सहनै
परेको छ ।

रचना - सेप्टेम्बर -१५/ १२
 

Sunday, September 9, 2012

कबिता

 "कालरात्री"

कसैको निन्द्रा हराम गरेर
आफु निदाउँन खोज्नेहरुको
न्यानो बिस्तरालाइे,
कुनै दिन आँधी,हुरिको
पापिष्ट बेगले अवश्य नै
उडाएर लान सक्छ ।
जब ती पापी आँखाहरु
निदाउँन तम्तयार पर्दछन्
तब निन्द्रा देवी ती
आँखाहरुमा कालो
बादल बनेर मन्डाराउँनेछिन्
र.............,
तहस,नहस बनाउँनेछिन्
ती सपनाका महलहरु ।
हो,आफु पनि निदाउँन
सक्नु पर्दछ 
अनि..........,
अरुलाइे पनि निदाउँन
दिनु पर्दछ ।
ओछ्यान सबैको आ-आफ्नो
पेवा हुन सक्दछ
तर.......रात,निन्द्रा,सपना 
कसैको निजी हुन सक्दैन
त्यसैले....,
कसैको निन्द्रालाइे
बिथोलेर आफु बिजयको
लिस्नो चढ्न सकिन्न
कसैको रातलाई अधिनमा
पार्छु भन्ने भ्रमित इेच्छा
कहिल्यै सफल हुँदैन ।
हो,खोस्न सक्छन्
ओछ्यानहरु,
लुट्न सक्छन् आरामका
सिरानीहरु, 
 तर.... कदापी
लुट्न सक्दैनन्
सपनाका भुवारुपी सिरानीहरु
जो उडिरहेका हुन्छन्
स्वतन्त्रसँग आफ्नै मानसपटलमा
रंगिन संसारमा रुमल्लिँदै ......../ 
त्यसैले....यो सोंच्नु
तार्किक हुन्छ,
सपना आफुले देखे जस्तै
अरुले पनि देख्न सक्छन्
निन्द्रा देवी सबैको प्रिय
हुन सक्छिन् ।
रात सबैकोनिम्ती
आफ्नो बनेर आउँछ
सपना देख्ने अधिकार
सबैमा हुन्छ ,
तर...अँह,
कसैको निन्द्रा खोस्ने अधिकार
अनि...........,
सपना बिथोल्ने अधिकार
कसैलाइे हुन्न,
जस्ले यसो गर्ने
दुष्प्रयास गर्दछ
शायद,
उस्ले सधैं नै
दु:ख,पीडा र पस्चतापको
कालरात्री भोग्नु पर्दछ,
जहाँ ऊ........,
निदाउँने प्रयास गर्दछ
उस्का आँखाहरु दिर्घकालिनकालागी
बन्द हुनेछन्,
न त्यँहा सपना नै हुनेछन्
न त त्यँहा निन्द्राको
अनुभूती नै हुनेछन् ......./

रचना -सेप्टेम्बर/ ९/ १२  
      

Monday, September 3, 2012

( कबिता )

 "के तिमी उत्सुक छौ,जिउँदै मुर्दाहरुको बस्तिमा बसाइें सर्न ??????????

अभिमानको ध्वजा
फहाराएर कहिले सम्म
बाँच्न सक्छौ
ए.....अभिमानी ?
तिमी मान्छे हौ,मान्छे
सर्वश्रेष्ठ प्राणी,
तिमीभित्र मनुष्यत्व
हुनुपर्छ,
तिम्रो मथिङलमा
उच्च सोंचको
भण्डार् हुनुपर्छ,
तिम्रो छातीमा
प्रेम,पूजा,आस्था
अनि सद्भावका
थुँङाहरु फक्रिनु पर्छ ।
आखिर.....,कहिलेसम्म
स्वाभिमानलाइे
 बन्धक  राखेर 
अभिमानलाइे लठैत
बनाउँछौ ?
सोंच,एकपल....,
जिन्दगीलाई नियाल,
स्वाभिमानको साथले
तिमीलाई हर एकको
मन मस्तिष्क र दिलमा
स्थान दिन्छ भने
अभिमानले तिमीलाई
एक्लो र घृणा
को पात्र
बनाउँछ । 
अभिमानले तिमीलाई
अस्तित्वहिन बनाउँछ भने
स्वाभिमानले तिम्रो अस्तित्व
कायम राख्दछ ।
क्षणभरको प्राप्ति हो
अभिमान,
तर.....,
दिर्घजिवी सम्मान हो
स्वाभिमान ।
हो.....मान्छे हौ तिमी
तिम्रो जीवन दिर्घकालिन
हुनुपर्छ,
मृत्‍युपर्यन्त पनि तिमी
अजर,अमर रहनु
पर्दछ ।
यदी तिमी दिर्घकालिन
अजर अमर रहन
उत्सुक छौ भने
बस्.....स्वाभिमानलाई
अंगाल ।
अभिमान र आडम्बरलाई
पन्छाइेदेउ तिम्रा सोंचबाट
यो त बैरी हो,बैरी ......,
मान्छेलाई,मान्छेकै
बस्तिबाट पर सारेर
जिवित आत्मालाइे 
जिउँदै मुर्खुट्टा बनाइे
घाटसम्म पुर्‍याउँदछ।
के....,तिमी चाहन्छौ
जिउँदै मुर्दाहरुको
बस्तिमा बसाइे सर्न ?
पक्कै त्यो सोंच
तिमीभित्र हुन्न,
त्यसैले..... अब यसो गर,
झट्टै त्यागी हाल,
ती ब्यभिचारी बिचारहरु
अनि झट्टै हुँइेक्याइे हाल
अभिमानको खोल,  

जसभित्र तिमीले 
अन्तमा निस्सासिनु पर्नेछ 
अनाहकमा.......,
आउनेदिनहरुमा
र.....जल्नु पर्नेछ
पश्चतापको आगोमा
एक्लो बनी
छट्पटिँदै,छट्पटिँदै......../

रचना - सेप्टेम्बर/ ३/ १२  
 

 

Saturday, September 1, 2012

(कबिता )

  "एकिभूतको बाटोमा लम्कौँ " आचार्य प्रभा


सारा मथिंगलका नशा,नशामा
बिस्मात र बिद्रोहका रङहरु
नपोतौं , किनकी .......
सहि समय चिप्लिरहेछ
अद्रिश्य भएर ।
एउटै थलोका हामी
किन बैमनष्यताको आगोमा
सल्किरहेछौँ ?
दुई कदम पराइेभुमिमा
टेकेर त हेरौँ ?
अनि....आभास हुनेछ,
एकापसको लुछाचुँडीको ।
समय गतिशिल भएर
बहिरहेछ,
हामी भने त्यही सोंच,
त्यही बिचारमा अडिग भइेरहेछौँ
बिचारहरुलाई छिन्न भिन्न बनाएर
मनलाई बिभाजन नगरौं
किनकी .......सहि सम्बन्ध
धमिलिइे रहेछ
पराइे बनेर ।
एउटै भूमिका हामी
किन प्रतिगामी बनेर
निशाना ताकिरहेछौं ?
मनलाई नौलो भुमिमा
समर्पित गरेर हेरौँ
अनि आफ्नोपनको महशुस
हुनेछ ।
एउटै मुटु,एउटै रगत
अनि....... एउटै सन्तानको
अर्थको,
त्यसैले.....अब बिगतका
तिता अनुभव बिर्सिएर
एकिभूतको बाटोमा लम्कौँ
उही चन्द्र,सूर्य ध्वजालाई
फर्फराएर ........../

रचना -१६/ १/ २०६२

Tuesday, August 21, 2012

कबिता

                            

"प्रतिबन्धित बैँश "

पोखिन नसकी बैँशहरु
मनको घडाभित्र
उकुसमुकुस भइे
बन्दी भइे दिन्छन् ।
तथापी......,
निरीह आँखाहरु
तरुणी बैंश ओढेर
रंगिन सपनाहरु देख्न
आतुर बन्दछन् ,
अनि.......,
निर्दोष मुटु यौवनको
चाल बोकेर उस्तरी नै
ढुक्ढुकिन लालायीत
बन्दछ ।
अहो!!!कस्तो बिडम्बना ?
तरुण मनले, यो कस्तो
सास्ती भोग्न वाध्य
हुनुपरेको आफ्नै
रूप र यौवनको
दासी बनेर ?
समाजको कठघरामा
बन्दी बनी कहिलेसम्म
त्यो बैँशले दासत्व खप्नु
पर्ने हो ?
यस्तै यस्तै जंजालभित्र
अल्झिंदै पनि खोज्दछ
उस्का बैँशालु ति नजरहरुले
तरुण अर्को मन,
अनि चाहन्छ उस्का
अत्रिप्त अधरहरुले
तृप्‍तिको मीठो मधुमास,
र.......,
दिवास्वप्न देख्न फेरि
हतास बन्दछन् तिनै
लजालु नयनहरु ।
उफ!!!यो कस्तो
सजाय हर बैँशालुहरुलाई
आफ्नै रहर र आँकाक्षामा
प्रतिबन्धित भई जिउनु पर्ने ?????????????????

(रचना - जुलाइे/ २२/ १२)

Sunday, July 22, 2012

कबिता

"यसरी पाक्न थाल्छन् घाऊसरी,बैचारिक बेमेलहरु "



बैचारिक बेमेलहरु
असरल्ल छरिएपछी
अनि.....,
गुट र निजी स्वार्थको
रंगहरु हर मनभित्र
पोतिएँ पछी,
चाहे त्यो निस्कलंक
साहित्यिक फाँट
किन नहोस् ?
वा राजनीतिक मैदान नै
किन नहोस् ?
अनि....,एउटा सहमतीले
सजिएको घर नै
किन नहोस् ?
अवश्य नै बेमेलका घाउहरु
पाक्न थाल्दछन्,
र,पिपका गन्धहरु भरिँदै
हर स्वच्छ नाखहरुमा
दुर्गन्धका धुँवाहरुले
दुर्गन्धित गर्न थाल्दछन्
हो....यसरी बेमेल,
र असहमतीमा
डग्मगिन थाल्दछन्
एकताका पाईलाहरु ।
हुनसक्छ,बिचारहरुमा
कसैको तुलो,
कसैको मानो,
कसैको पाथी अनि....,
कसैको नगण्य तौलका
सहि , बेसहि सोंचहरु ,
तर....असल,सहि सोंच
तुलोकै परीमाणमा किन नहुन् ?
स्वीकार्य सबैको
यसैमा हुनुपर्छ,
तब....बैचारिक असमझदारिका
काँडाहरु स्वत:
मासिँदै जान्छन्
बेमेलका खाटाहरु
सुक्दै जान्छन्
अनि मात्र .......,
सम्भावना बन्न थाल्दछ
ऐक्यबद्धताको।
ब्रिहत चित्त दुखाइेका
असमझदारी भन्दा
न्युन परीमाणको
सहि समझदारी नै
बैचारिक मेलहरुको
लक्षण हो ।
त्यसैले.....,
परीमाणलाई भन्दा परीणामलाई
हरकोहिले स्थान दिएमा
बैचारिक बिभेद र
असहमतीमा पनि सम्झौताको पुल
जोडिन सक्छ
त्यस्तै ...........,
असरल्ल छरिएका बेमेलहरु
एउटै बिन्दुमा समेटिन सक्छ
बस्..... बैचारिक दृष्‍टिकोणहरु
न्युन हुन् केवल सटिक र सहि हुन् ........./

रचना -जुलाइे/ २२ /१२

Saturday, July 7, 2012

कबिता



 " निश्छल हेराइे "


निश्चिन्त फर्किएर नभतिर
बालशुलभ आँखाहरु
खोजिरहेछन् भविष्यका
सुनौला सपनाहरु ।
ऊ,एउटा कलिलो बालक
अन्जान छन् उस्का सोंचहरु,
अनभिज्ञ छ उस्को मस्तिष्क
भोलीको अनिश्चित समयदेखी ।
ऊ कलिलो बिरुवा झैं छ ,
ऊ काँचो माटो समान छ,
यदी.....,सहि माली पाएमा
ऊ फलदायी बोट बन्न सक्छ
चमत्कारी हात पाएमा
ऊ आकर्षक बर्तन बन्न सक्छ
अथवा,
मल्जल,पानी जती दियो
ऊ उती नै हराबरा भइे
फष्टाउँन सक्छ,
जस्तो आकारमा ढाल्यो
उस्तै स्वरूपमा ऊ ढल्न सक्छ ।
ऊ निर्दोष,निस्कलंक छ
अनि छ निष्पाप मन उस्को
त्यसैले ऊ चिहाउँछ
निर्धक्कसँग आकाशमा
अनि दाँज्दछ आफुलाई
आकाशका उज्याला ताराहरुसँग
भविष्यमा यसरी नै
चम्कुँला भन्ने स्वर्णिम सपना
सजाउँदै हर साँझको प्रहरमा ................./
रचना -जुन/ २५/ १२

Tuesday, June 26, 2012

( कबिता )

       "अवशान खुशीको"           

कथित योजनाहरुका
षड्यन्त्ररुपी भोगाइेहरुसँग
पराजित यो मन
अनायस,
बिचलित बन्न खोज्छ।
सोँच्छु,
आखिर कुन दुष्कर्मको
परिणाम यतिखेर दुखित
दिनचर्या बनेर  
हरपल,हरसमय चिथोरी रहेछ
यो नीरिह भाग्यलाई,
खै!भाग्य खोटो भनुँ त
भाग्यकै कमारो बनेर
नौलो भुमिमा टेक्नु पर्‍यो
अनि.....भाग्य दर्‍हो भनुँ त
उसरी नै समयको चक्रब्युहमा  
पिसिनु पर्‍यो । 
लाग्छ,अब त......,
यो अलच्छिनी जन्म
केवल दोष र अड्चन
खप्न मात्र भएको हो कि ?
उफ!!!यस्तै भ्रमपूर्ण  प्रश्नसँग
जेलिएको यो पीडित जीवन
शायद.......यसरी नै
यस्तैगरी एकदिन अस्तित्वहिन    
बन्नेछ............../

रचना - जुन/ २६/ १२

Tuesday, May 29, 2012

कबिता


  "कस्तो रणभुल्लमा परियो हरे !!!!!!!"
 

चिच्याइे चिच्याइे
माँग्यौँ संबिधान
तर..... सेता महलभित्र
चार बर्षसम्म कैद रहेर
राजनीतिका खेलाडीहरु
मात्र स्वार्थको भकुण्डो
खेल्न सफल भए।
संबिधानलाई हातको
नरिवल बनाएर
केवल हातै हातमा
घुमाइे रहे
तर...... अंह,
पाएनौं जनताले
संबिधानरुपी नरिवलको
चिसो अमृतमय रस पिउन
जस्को निम्ती आम नेपाली
काकाकुल झैं त्रिषित थिए ।
कोही मधेश हडप्ने दाउमा ,
कोही पाकेका छन्
जातिय बिभेदको घाउमा ,
कोही बाँचेका छन्
पेटको सारंगी रेट्दै ,
कोही लाचर छन् पर्न
बिदेशको पाउमा ।
कस्तो रणभुल्लमा
भासियौं हरे!
अब पक्कै,
छिमेकीले दागा धरे
तर पनि निस्चिन्त छन्
कानुनका रखवालाहरु
यता भने फेरि,
जात,भात र बिभेदमा नै
मस्त छन् हर नेपालीका 
अभिभाराहरु ।
कस्तो नियती भोग्नु पर्‍यो हरे !
सारा नेपाली आज दोधारमा परे
भोलीको घाम उदाउला,नउदाउला
आशाका ती ज्योतिहरु यतिखेर
कालो अन्धकार निल्दै मरे .............../

रचना- मे/२९/ १२