Showing posts with label समिक्षा. Show all posts
Showing posts with label समिक्षा. Show all posts

Monday, February 13, 2012

समिक्षा

( पुस्तक बिचार)

'अशोकका "FUSION प्रतिबिम्बभित्र" चिहाउँदा पग्लेका भावनाहरु'     


कबिता संग्रह निकाल्नेहरुका भिंडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरु अंकित गरिरहेका छन्। साहित्यको भकारीमा । यसै भिंडमा अर्को एउटा शसक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जस्को कबिता सँग्रह "प्रतिबिम्ब" केहिदिन अघी मेरो हातमा परेको छ । जस्लाइे म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्यप्रतिको झुकावलाइे यी प्रवासी मनहरुले त्याग्न सकेका छैनन् । पुराना दिनहरुमा कलाकारिता रुचाउँने अशोक बालककाल देखी नै कबिता लेख्न पनि रुचाउँथे । जब उनी बिदेश भासिए अनी उनिभित्र देश प्रेमका कुण्ठित भावनाहरु सल्बलाउँन थाले। बिदेशका भोगाइेका उन्का प्रतिबिम्बहरु शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिबिम्बित  बनेर छाए । हुन त मैले "FUSION प्रतिबिम्ब"को रचनाकारको नाम यही फेसबुकबाट मात्र सुन्दैछु वा पढ्दैछु । मेरो वालमा कहिले कँहि झल्याक झुलुक अशोकका कबिताहरु टाँसिन्थे । उन्को कबितारुपी भाषाहरु मलाई अलिक प्रिथक नै लाग्दथ्यो । मेरो अर्थमा ति भाषाहरु जटिल नै लाग्दथे । यस्तो लाग्दथ्यो उन्का शब्दहरु बैज्ञानिक बिषयका शब्दहरु हुन् तर पनि बुझ्न सहज नै हुन्थे । अहिले "FUSION प्रतिबिम्ब"मेरो हातमा छ र मैले अशोकजीको सम्पूर्ण भावनालाई कैद गर्ने मौका पाएकीछु र मलाई चुनी चुनी उन्का कबिताहरुको दहमा डुबुल्की मार्न सहज भएकोछ । उन्को "FUSION प्रतिबिम्ब"कबिता संग्रहका प्राय:कबितारुपी भावनाहरु आमाकै झझल्कोको प्रतिबिम्ब बनेर छरिएको आभास हुन्छ ।जन्म दिने आमा र जननीलाइे एउटै स्थानमा राखेर कोरिएका कबिताहरुका भावनाहरु सबै मात्रित्वप्रेमले ओत्प्रोत छन् । अशोक  आफ्नो साहित्यको औपचारिक थालनी मुहार पुस्तिकाबाट नै भएको स्वीकार गर्दछन् । चाहे जँहाबाट साहित्यिक यात्राको शुरुवात होस् ,लेखकमा शब्द र भावनाहरुको तार्तम्य अनी कला कौशल्ताले सजाउँने सामर्थ्य छ भने उस्को यात्रालाइे स्वागत सबैले गर्दछन् । अशोक पार्थिवमा यो कौशल्ताको पर्याप्त गुण छ भन्ने यही "FUSION प्रतिबिम्बले" उजागर गरेकोछ । उन्का सङ्रहित कबिताहरुमा मैले आँखा गाडेका कबिताहरु मध्ये "आहा!धरतीका हरेक कुनामा जखमले घामहरु पुर्‍याउँन पाए। " यस् कबितामा उन्ले धरतीमा सबै सुस्ताएका,निदाएका मुर्झाएका जतिपनी बस्तु हरु छन् उष्णताले सेपिएका मानवरुपी बिरुवाहरु छन्। ति सबैमा अझ तिक्खर र चहकिलो घामरुपी आशाहरु वा प्रेरणाहरु थप्न पाए अझ यो धर्ती र यहाँका श्रीजनाहरु कती मोहक र सुन्दर बन्थे होलान्  ?भन्ने उन्को कल्पना र सपना छताछुल्ल पोखिएको छ उक्त कबितामा । यस्ता धेरै उदाहरणरुपी कबिताहरु छन् । जस्तै अर्को कबिता "म साले कपूत छोरा । " उन्ले यो कबितामा जननीरुपी आमाको रुपमा देशलाइे प्रतिबिम्बित गरेको आभास हुन्छ । जसरी अहिलेको समयमा देश उन्को कबिताको भाव अनुसार हज्जारौँ कपूत छोराको परेड खेल्ने मैदान बनेको छ । आमा आफ्नै सन्तानहरुबाट बलात्‍कृत भएकी छिन् । कती आशा र सुनौलो कल्पनामा आफ्नो कम्जोरीपनको पलमा आफ्नो बैशाखी बन्ने आशामा जन्माएका छोराहरु नै अहिले आफ्नै शत्रु बनेका छन् । त्यही छोरा मध्ये अशोकले पनि आफुलाइे एक कपूत छोरारुपी पात्र बनाएर  उक्त कबितामा आफ्नो गल्ती स्वीकार गरेर जननीलाइे क्षमाको भिख माँग्दै आत्माग्लानिमा चुर्लुम्म डुबेका छन् । उन्का  हर कबितामा यस्तै भाव समेटिएको पाइेन्छ । यसरी अशोकको यो कबिताले हर कुपूत छोराहरुलाई आँखा खुलाउँने सन्देश दिएको छ ।

हुन त म कुनै बौद्धिक समालोचक वा टिप्पणीकर्ता होइेन । बस् यत्ती हो म प्राय:मुहार पुस्तिकामा भेटिएका साथीहरु मध्ये अलिक पुरानै भएकीले सबैले यसो मनको भाव बिसाउँने आग्रह गर्दछन् र म मैले जाने बुझेसम्म ति रचनाहरुमा आफ्नो अभिब्यक्ती राख्ने प्रयत्न गर्दछु अनी  स्पष्ट बक्ता भएर देखेको कमिकम्जोरी र त्रुटिहरुमा प्रश्नचिन्ह राख्ने गर्दछु निर्धक्कसँग यसरी।

अशोकका धेरै कबिताहरु समाहित छन् "FUSION प्रतिबिम्ब"मा ।मैले सबैको बेली बिस्तार लगाएँ भने त अरुले कबिता संग्रह नै किनेर पढ्दैनन् उसो र म लेखकलाइे मार्ने चेष्टा पनि गर्न चाहन्न । बस् मैले यी दुई प्रतिनिधी कबिताको बारेमा मात्र बुझेको कुरा प्रष्ट्याएँ । अब लाग्छु अशोकका कबिताहरुका केही मलाई लागेको निर्बल पक्षमा । मैले माथी नै भनी सकें म कमिकम्जोरी र र त्रुटी (जुन चाँहि मलाई लाग्दछ । सबैलाई नलाग्न सक्छ )मा प्रश्न चिन्ह तेर्स्याउँछु । जस्तै अशोकका कबिताहरुमा मलाई लागेको कुरा के हो भने उन्का हर कबिताका शिर्षकहरु लामा लामा छन् । त्यही भावनारुपी कबिताहरुमा छोटा,मीठा,बिम्बात्मक र छरिता शिर्षकहरु भए ओहो! ति कबिताहरुमा अझ सुनमा सुगन्ध थपिन्थे कि? भन्ने मेरो भित्री मन्साय । अर्को मलाई लागेको पक्ष के हो भने उन्ले नौलो नौलो शब्द प्रयोग गर्दछन् जो सर्‍हानीय छ । तर यो कबिता "आहा! धरतीका हरेक कुनामा यी जखमले घामहरु पुर्‍याउँन पाए त!" लामो शिर्षकको एउटा उदाहरण पनि हो यो शिर्षक । अनी अशोकले घामलाइे जुन बिशेषण दिएका छन् "जखमले" शब्द मेरो बिचारमा घामलाइे अलिक सुहाएन कि जस्तो लाग्यो । "जखमले"को अर्थ ज्यादै ठुलो,घ्वाँक,जक्खु भन्ने बुझिन्छ । जस्तै मैले ब्यवहारिक रूपमा नै पनि गाउँ,घरमा गोरु,खसिहरुलाई "जखमले"को बिशेषण दिएको सुन्ने गर्दथें त्यसैले यो शब्दको बिशेषण घामलाई उचित देखियो जस्तो मलाई लागेन हुन त यो शब्द "FUSION प्रतिबिम्ब"मा नौलो देखिएको छ । घामलाई त प्रज्ज्वलित,उज्यालो,चम्किलो,प्रचण्ड वा न्यानो बिशेषण पो सुहाउँथे कि ?

हुनत अशोकको यो प्रथम प्रयास हो त्यसैले पहिलो प्रयासमा सबैले नै अन्जानमा धेरै कमिकम्जोरिहरु निम्त्याएका हुन्छन् । मेरै कुरा मात्र सदर छ भनेर म ठोकुवा गर्दिन । बस् आफुलाइे लागेको कुरा मात्र मैले पोखेकी हुँ एउटा सत्य पाठक भएर । मलाई यस्तो लाग्छ । प्रशंसाको झुटो धापभन्दा सहि सत्य गाली नै चोखो र सत्य प्रतिकृया हुन्छ जस्ले सर्जकलाइे आउँने दिनमा सहि बाटोमा हिँड्न सक्षम बनाउँछ ।

दुरदेशबाट कबि अशोकले मलाई उपहार स्वरूप "FUSION प्रतिबिम्ब" पठाएकोमा म अनुग्रिहित छु । युनिकोडको प्रयोगले मैले पनि यहाँ नचाहेर पनि कैयौं गल्ती गरेकीछु जुन आफुले चाहेर पनि सुधार्न सकिन लाइे आत्मसात गरिदिनु हुने नै छ । अन्त्यमा "FUSION प्रतिबिम्ब" एक पटक सबैले पढ्ने प्रयास गरिदिएमा अशोकको अर्को खुड्किलो फेरि यस्तै श्रीजनामा टेक्न सामर्थ्यवान बन्ने छ भन्ने मैले विश्वास लिएकीछु ।

Sunday, February 12, 2012

समिक्षा


"कबि मुकेश राइेको अनुभूतिका रंगहरुसँग केहीक्षण रंगिँदा" (पुस्तक बिचार) 

भनिन्छ नि कबि मन कोमल,भावुक र दयालु हुन्छ । पुलिस,आर्मीको मन कठोर र रुष्ट हुन्छ आदी आदी । यो भनाइेमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरु मान्छेको पेशा,प्रतिभा वा रुचीबाट हुने होइेन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितीले मान्छेको मनलाई कर्तब्यबोध गराए पछी  नचाहेर पनि बद्लिनु पर्छ तर पनि माथीको उक्तिमा सत्यता छ भन्ने चाँहि म ठाँन्दिन । त्यसैले कबिको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, कबि मुकेश राइे पेशाले ब्रिटिश आर्मीको सेवक थिए जस्ले बन्दुक र बारुदसँग मात्र मितेरी लगाएर हर पल मनका आँखाहरु आफ्ना बैरी र शत्रुहरुमाथी मात्र राख्नुपर्ने बाध्यता थियो तथापी मुकेशलाइे भने झन यो पेशामा लागेपछी नौलो परिवेश,नौलो ठाउँ र नयाँ जीवन भोगाइेले झन बिह्वल बनायो र उनी झनै भावुक भएर आफ्ना मनका उथलपुथलहरु भावना बनाइे ब्यक्त गर्न थाले ।

घरदेखिकै साहित्यिक माहौल भएर नै उन्मा पनि साहित्यप्रतिको अभिप्शा जागेको हो भन्नमा अत्युक्ती हुन्न । फाट्ट,फुट्ट रचनाहरु लेख्दा लेख्दै कबि रक्ष राइेको प्रोत्साहनले आफु लेखन क्षेत्रमा लागेको बताउँने मुकेश राइेको लेखन क्षेत्रमा अझ सफल्ता हाँसिल भएको स्थान भने फेसबुक नै रहेछ । फेसबुक मार्फत बिभिन्न साथीहरुको प्रेरणाबाट कबिता संग्रह निकाल्ने हिम्मत कसेका मुकेश राइेका संग्रह "अनुभूतिका रङ्गहरू"भित्र के कस्ता कबिताका भावहरु छन् त ? कबि श्रवण मुकारुङका अनुसार "उन्का कबिता पढ्दा कुनै गीत सुनेको भ्रान्ती हुन्छ । तर त्यही अधिक सरलताले कतै कतै कबिता धागो फुस्किएको स्विटर जस्तो पनि लाग्छ" यो शास्वत भनाइेलाइे मैले पनि मनन गरें । कबितामा प्राय:शब्दहरु साधारण तवरले उनिएका छन्। हुनत क्लिष्ट शब्दहरुको बाहुल्यता मात्र कबिताको सौन्दर्यता र बिशिष्ट भन्न पनि मिल्दैन तथापी "कबिता"मा बिम्ब र प्रतीकको उपस्थिती नै कबितालाइे गौण् बनाउँने कसी भने हो । यसर्थ मुकेश राइेका कबिताहरु पाठकहरुकालागी मनन गर्न सहज् छन् तर कबिताको चमत्कारीता भने अलिक न्युन नै लाग्दछ । उन्का कबिताहरु पनि अरु कबिका झैं आफ्नै गाउँ घर र बाल्यकाल अनी आफ्नै सेरोफेरोमा समाहित छन् । कबि राइेले उन्का एक कबिता "अनुभुतिमा निस्सासिँदै"मा आफु लण्डनको  थेम्स नदिमा उभिएर लण्डनकै सेरोफेरोमा हराउँदै फेरि मस्त निन्द्रामा सुतिरहेकी आफ्नै देशलाइे ब्युँझाउँन पूग्छन् । उन्को बिदेश भोगाइकै भावना भएर होला उन्का कबिताहरुमा आफ्ना देशका अनुपम् द्रिश्यहरुको कल्पनाहरु भन्दा आफुले टेकेकै धर्तिको धेरै बयान पढ्न पाइेन्छ तर पनि उन्ले "म आमा र मातृभूमी" कबितामा आफु जहाँ रहे पनि आफ्नो आखिरी सास भने आफ्नै जन्मभुमिमा नै रहोस् र फेरि जन्म लिनु पर्दा आफ्नै मातृभूमीमा जन्म लिनु परोस भन्ने खालका अनुनय बिनय पनी  गरेका छन् ।

लाहुरे जीवन ब्यतित गर्दै भए पनि साहित्यलाइे माया गर्नु र साहित्यको भण्डार भर्ने सदिच्छा राख्नु भनेको एउटा लाहुरे बिचारको उत्कृष्ट नमुना हो मुकेश राइे । हुनत मैले देखेको भेटेको छैन, मुकेश राइेलाइे तथापी मलाई यस्तो लाग्छ । मुकेश राइे अल्पभाषी,शालीन र मिलनसार प्रविर्तिका छन् । हुनत कबितामा भावना त सबैको एकनास नै हुन्छन् । जस्ले पनि आफ्ना भावनाहरुमा आफुलाइे देशभक्ती,राष्ट्रभक्ती र आफुलाइे समर्पित बनाएर आफुलाइे पोखेका हुन्छन् तर मलाई भने किन किन मुकेश राइेका भावनाहरु साँच्चै नै उन्का मनका गहिराइेबाटै निस्केका ध्वनिहरु हुन् भन्ने लागेकोछ । शायद मेरो मुकेशप्रति एउटा आदरभाव पनि जागेको हुन सक्छ । जे होस् उन्ले लेखेका कबिताहरुमा मानव जीवनले भोगिरहेका कथाहरु नै कुँदिएका छन् जस्लाई सबैले सजिलै आत्मासात गर्न सक्दछन् । मलाई भने उन्को एउटा कबिताले असाध्यै मन छोयो त्यो कबिता हो । "आरोहअवरोह"भित्र समेटिएका यी शब्दहरु । जुन कबिता सर्लक्कै मलाई अल्छि नगरि सार्न मन लाग्यो ।

हिजो
म जीवनको गोरेटो
समतल हिँडिरहेको बेला
तिमी त्यो पहाडको
उकालो चड्दै थियौ ,
मैले क्षितिज पछ्याउँदै गर्दा
तिमीलाई त्यो जून र घामको
नजिक जस्तो देखेथेँ,
किनकी तिमी उचाइेमा थियौ
तर पनि तिमीलाइे
पछ्याईे नै रहेको थिएँ
तुँवालोले तिमीलाइे छेके पनि
तिम्रै पद्चाप सुनेर अघी बढिरहेथें
मैले उकालोको पहिलो खुड्किलो टेक्दा
तिमी त्यो शिखरमा उक्लेर
अग्लो हुनुको उद्घोष गर्दैथियौ ।
आज म
त्यही पहाडको  यतापट्टि
उकालो चढिरहेछु
तिमी त्यो पहाडको अर्कोपट्टि
खोला खोल्सीसँग सुसाउँदै ओरालो झर्दै छौ
तिमी ओरालो लाग्दै
त्यही पहाडको शिखरले छेकेको
एक पाटो आकाश हेर्दै छौ
म ओकालो चड्दै
वारिपट्टि त्यही आकाशको
अर्को पाटो देखिरहेछु ।
भोली
तिमीले झरेको ओरालो
मैले पनि झर्नु पर्छ !
मैले चड्दै गरेको उकालो
तिमीले चढौला या कोही अरुले !
समय चक्र हो
जीवनको आरोह अवरोह यही हो ।

यो माथीको कबिताको भावले मेरो मन असाध्यै छोयो । उन्को यो कबिताले साँच्चै मान्छेका जीवनका आरोह अवरोहहरुको सहि वकालत गरेको छ । हामी मान्छे, हामीमा अभिमान,इेमान्दारिता,दुख,पीडा,खुशी यी सबैको बाहुल्यता छ तर हामी थोरै खुशीमा पनि रमाउँन जाँन्दैनौं र थोरै दु:खमा पनि हरेश खान पछी पर्दैनौं। सुखको लिस्नो के उक्लन्छौँ, आफुलाइे आकाश छोएको ठहर्याउँछौँ र अरुलाइे धर्तीकै धुलो ठान्न पनि पछी पर्दैनौँ। हो यस्तै अहम्तालाइे मुकेशको "आरोह अवरोह" कबिताले प्रष्ट्याएको छ । हर मान्छेमा भावनाहरु उद्वेलित हून्छन्, त्यस्लाइे पोख्न सक्ने शिप कबिहरुमा हुन्छ र, त कबिको उपाधी पाउँछन् त्यस्ता मान्छेहरुले । ति मान्छेहरुको भिँडको एउटा कबि मन हो मुकेश राइे तर त्यो शिपलाइे कबि मुकेशले अझै शिल्प लगाएर प्रज्ज्वलित बनाउँन थप प्रयास भने गर्नै पर्ने देखिन्छ । त्यो त समयको बहावसँगै मुकेशको उदेश्यमा उर्जा थपिँदै जानेछ। पहिलो कोशेलीले सबैलाइे आँखा मात्र खुलाउँछ, त्यो सर्व बिधितै छ । मलाई लागेको अर्को कुरा कबि मुकेशको यो संग्रहमा जस्मा कबिले आफ्ना भनाइेमा केही उद्गार ब्यक्त गरेकाछन् जस्तै -

"म अनुरागी हुँ फूलको
बसन्तको आगमनमा रमाउँछु
काँडा या पत्झर स्वीकार्य छ मलाई
म अनुरागी हुँ जूनको
पुर्णिमाको रातको प्रतिक्षामा छु
औंसीका यी रातहरु स्वीकार छ मलाई"

यी माथीका भावमा म अलमल्ल परें । कबि फूलको अनुरागी भएर बसन्तको आगमनमा खुशी भएपनी काँडा र फूल दुवैलाइे स्वीकार गर्ने भाव छ कबिमा। त्यो सहि हो। उनी स्वार्थी देखिँदैनन् जो बसन्तको आगमनमा फुलेका फूललाइे  मात्र रुचाएर काँडालाई हेला गर्ने। अनी फेरि जूनको प्रतिक्षार्थी बनेर जूनको पनि अनुरागी बन्दै प्रतिक्षामा छन् भने अनायस फेरि औंशीका यी रातहरु स्वीकार छ मलाई भनेर भाव मोड्न पुगेका छन् । कबिको भाव यस्तो हो कि? जूनको अनुरागी भएर पुर्णिमाको प्रतिक्षार्थी भए पनि औंशी रात पनि प्यारो नै लागेको हो शायद। यहाँ शब्द संयोजनमा अलिकती कमी देखिएको जस्तो आभास भयो मलाई भने । यो मेरो मात्रै दृष्‍टिकोण पनि हुन सक्छ ।      

समग्रमा भन्नै पर्दा एउटा लाहुरे मनले भावनाका थुङाहरु उनेर यसरी कबिता संग्रहको आकार दिनु भनेको साहित्यलाई अर्को थप लाभ हो । जुन कबिले आफुले सानो छँदा बाबु,आमाको मुखबाट दन्त्य कथाहरु सुनेको भरमा साहित्यलाई माया गरेर कबि बन्ने अभिप्रायले यसरी लेखन क्रममा लागि पर्नु ठुलै उपलब्धी मान्नु पर्दछ । "अनुभुतिका रङहरु"मा साँच्चै कबिका बिभिन्न अनुभवहरु सप्तरङी माला झैं उनिएका छन् । हरकसैले पनि मनरुपी गलामा यो सप्तरङी मालालाई लगाउँने प्रयास गरेमा कबिको यो "अनुभुतिका रङहरु" साँच्चै सार्थक बन्नेछ । कबि मुकेशका कबिताहरु धेरै छन् र सबैमा आ-आफ्नै प्रकारका भावहरु पोखिएका छन् । भावनाहरु कँहि अत्रिप्त सपना बनेर पोखिएका छन् । कँहि बालककालको अतित बनेर मीठोसँग सजिएको छ । कँहि परदेश भोगाइको पीडा छताछुल्ल छ भने कँहि फौजी हुनुको भाव पनि प्रकट छ । यसरी कबिको यो संग्रहमा मिश्रित भावहरु सबै यथार्थ परक छन् । अन्त्यमा मेरो भन्नु, एउटी दिदी र पाठकको नाताले कबि तथा भाइ मुकेशका भावनाहरु यसरी नै लहराउँदै जाउन् । नेपाली साहित्यले यो कलमलाइे अझै प्रोत्साहित गरोस् अनी हामी मुहार पुस्तिकाका मित्रहरुले सबैमा सहकार्यको सद्भावना राखेमा कबि मुकेशहरु अझै चम्कनेछन् साहित्यकाशमा । कबि मुकेशको मनमा लागिरहेको होला यतीखेर। आचार्य दिदीले अब मेरो संग्रह बारे के के लेखिदिने हुन्?भनेर । त्यसो त म त्यस्तो जानिफकार साहित्यकार होइेन। मैले हरकसैको संग्रहमा समय खर्चिनुको कारण सबै सामु यस्को चर्चा होस् भन्ने मात्र हो । अनी देखिहालेको कुरा चाँहि किटाणीको साथ गल्ती छ भनेर चाँहि होइेन तर यस्तो पो हुनुपर्नेथ्यो कि भन्ने प्रश्न भने तेर्स्याउँछु जस्ले गर्दा कुनै पनि कमिकम्जोरी छ भने सुधार्ने मौका मिल्छ जस्लाइेपनी । यो कुनै समिक्षा होइेन केवल मेरो कबि र संग्रहप्रतिको भाव मात्र हो । भुलप्रती म आफै पनि क्षमाको भिखारी छु ।  


समिक्षा

"दीप्सको" 'आगो'को लप्का सँग खेल्ने आँट " ( पुस्तक चर्चा )     

निक्कै पहिलादेखी नै साहित्य र श्रीजनामा लगनशिल दीप्स शाहलाइे कबिता यात्रामा सिद्धहस्त नै मान्न सकिन्छ । नेपाल छँदादेखी नै पत्रकारितामा समर्पित दीप्सका संग्रहहरु मध्ये "आगो" कबिता संग्रह दोश्रो हो ।"प्रसून" साहित्यिक सँगालो पछीको यो "आगो" संग्रह अहिले टाढै भएपनी कोशेली स्वरूप मेरो हातमा आएको छ । उसो त दीप्सले समय समयमा उन्का कबिताको स्वाद मेरो फेसबुकको आँगनमा नछरेकी होइनन् र मैले पनी उन्का कबिताहरुबाट आँत भरुन्जेल तिर्खा नमेटेकी भने होइन । म त्यही समयदेखी नै दीप्सका शब्दरुपी भावको अनुरागी बनी सकेकी थिएँ । मलाई उन्को लेखकीय कला मन पर्छ । हुन त मैले मन पराउँनुको अर्थ दीप्सको रचना सबै उत्कृष्ट नै हुन्छ भन्ने पनी होइेन । सबैका बुझाई,हेराइे र महसुश गराइे भिन्ना भिन्नै हुन्छन् तर मेरो बुझाईमा भने उन्का औसत कबिताहरुले मलाई त्रिप्त पारेकै छन् । यो संग्रहमा पनी उन्का हरेक कबिताहरुले यथार्थता ओकलेको छ । यहाँ सबै कबिताहरुको चित्रण गर्न त सकिन्न तर केही मेरो मनलाई छोएका कबिताहरुको म आफुले बुझे सम्म भावर्थ खोल्न चाहन्छु । दीप्सको अती चर्चा गर्नै पर्ने कबिता मध्ये एक कबिता हो "आगो" हुन त यो कबिता मैले रोजी हालेँ। यस्कोबारेमा केही बोल्नलाई तर मलाई नै हिम्मत छैन कि यो कबिताको म कसरी ढोका उघारौं ? मेरो अर्थ यो हो कि उन्को यो कबिताका शब्दहरु क्लिष्ट नभएर सरल शब्दमा नै छन् तथापी कबिताभाव नै गहन छन् जस्लाई मैले बुझेर पनी बुझ्न सकिरहेकी छैन र नबुझेर पनी यसको बिषयमा केही भन्न आतुर छु । कबयित्रीले आगोलाई यसरी अर्थ्याएकी छिन् कि आगो साँच्चै बिध्वँश हो जस्ले क्षणभरमा नै सबै ध्वस्त गर्छ त्यसैले उनी आफुले नै आगोलाई निलेर अर्थात यस्को अस्तित्वलाई पलायन गरेर आफ्नी आमाको बर्बादी बँचाउँन चाहन्छिन् वा आगोको बिनाशकारी बन्न चाहन्छिन् । उता फेरि कबयित्री आगोलाई अर्को रूपमा हेर्छिन् र भन्छिन् । "आगो" चेतना,सभ्यता,शक्ती आदी आदी । यसैले उनी फेरि आगोलाई सकारात्मकताको रूप दिँदै भन्छिन् । म आगोलाई ह्वाल्ह्वाल्ती ओकल्न चाहन्छु । जो चेतना हो,साहस हो,शक्ती हो । जस्लाई ओकलेर उनी समस्त जनलाइे आगोको परिचय दिन चाहन्छिन् र भन्न चाहन्छिन् कि आगो झैँ सबै शक्तिशाली,साहसी र चेतनशिल बनुन् । यही कबिताको अन्तमा उनी निरश बन्दै भन्छिन् यती हुँदा हुँदै पनी आगो सबैसँग अल्पपरिचित छ। आगोको आशयबाट सबै अनभिज्ञ छ यस्को परिचय बिना नै यस्लाई सबैले परिभाषित गरिरहेका छन् । त्यसैले उनी आमालाई बिन्ती गर्दै भन्छिन् अब आगो म नै निल्छु। उद्दार संहार जे हुन् ताकी भविष्यमा आगो के हो ?भन्ने सबै सन्ततिले चिनुन् अर्थात कबयित्री आगोलाई निडरसँग निलेर वा प्रयोग गरेर सारा सन्ततिलाइे आगोको प्रत्यक्षदर्शी बनेर देखाउँन चाहन्छिन् । यसरी    कबयित्रीले "आगो"जस्तो बिषयलाई यसरी दर्शाएकी छिन् । त्यस्तै उन्का अर्का कबिता "हामीलाई पूर्ण बिराम चाहिन्न" बाट केही अंश।

"पुर्ख्यौली अंशको पाखो
बाजेले रोपेका बर-पिपल,चौतारी
कानको दुलोमा
स्थिरताको तेल भरेर
निष्काम कुम्भकर्णहरु सुतिरहन्छन्
तर म देख्दैछु
छेवैबाट
एकहुल कलम किसानहरु
डोकोभरी कबि फूलका बेर्ना बोकी
ब्रिक्षा रोपणमा निस्केका छन्
युगका गर्‍हा र पाटोहरुमा
कलम जोत्न । "

हुन त यो कबिताको बर्णनमा कलमकर्मीहरुको मात्र बर्णन नभएर अन्य ब्यक्तिहरुको पनि बर्णन छन् । तर यी माथीका हरफहरुले नै पूर्णताको आभास दिएको छ । माथीका हरफहरुमा कबयित्रीले पुर्खाको सम्पत्तिमा राज गरेर अल्छे आँग तान्दै खान पल्केका सन्तानहरुलाई उपहास गर्दै ब्यङ्यबाण गरेर कलमकर्मीहरुलाई कलमी किसानहरुको पर्याय बनाएर साँच्चै कबि लेखकलाई मज्जाले हौस्याएकी छिन् । यसरी उन्का कबिताहरुमा मिठासपूर्ण भाव र अर्थपूर्ण शैलीहरु पाइेन्छन् ।अन्त्यमा दीप्सका कबिताहरुसँग रुमल्लिँदा म उन्का सबै कबिताहरुमा निर्लिप्तसँग डुबेँ । मलाई यस्तो भान भयो कि उन्ले कबिता रच्न खर्लप्प नेपाली शब्दकोश खाइेनन् न त उन्ले कबितालाई अझ गहन देखाउँन क्लिष्ट शब्दहरुको नै प्रयोग गरेकी छिन् । यसैले उन्का रचनाहरुमा  सहजता, सरलता र असली चित्रण पाईन्छ । अब एउटी पाठक र चिर्फारकर्ताको हिसाबले दीप्सको कलमी यात्रालाई नियाँल्दा मलाई यस्तो भान भयो कि कबयित्रीको भावना अती नै कोमल र सरल छ तथापी उनी अरु लेखक झैं शोक र बिव्हल्तामा डुबेर त्यती रोएकी छैनन्, आफ्ना कबिताहरुमा अर्थात उन्ले अरु प्रबासी लेखक मनहरुले झैं परदेशिनुको पीडा पर्याप्त मात्रामा पोखेकी छैनन् । सबै रचनामा उन्ले आफ्नो बर्गतले भ्याएसम्म आफ्नो शब्द,चयन श्रीजनालाई भरपुर कसी लगाएकी छिन् तापनी उन्का कबिता लेखनको बिषयमा "देशप्रतिको" बिषय बस्तु अलिक कम नै पाइेयो । यस्को अर्थ यो होइेन कि उन्मा देशभक्ती भाव नै छैन भन्ने । मलाई भने सबै प्रबासी कलमहरुको संग्रहमा "देश पीडा" नै  औसत जस्तो बाचन गर्ने बानी परेकोले दीप्सको यो संग्रहमा यो बिषय नपाउँदा अलिकती खल्लो महसुश भने भयो । शायद अब आउँने संग्रहको लागी पो दीप्सले साँचेकी हुन् कि ? हुन त उन्को एउटा कबिता "मैले माटो बेचिन"मा भने देशप्रेम झल्किएको आभास छ तर मेरो नजरले त्यो मात्र पर्याप्त पाएन र मैले यसै भनें। यो मेरो मात्र जिद्दी भने होइेन । अन्त्यमा सम्पूर्ण पाठकहरुले पढ्नै पर्ने कलम हो दीप्स शाह । "आगो" जस्ले पाए उस्को मन पग्ल्यो । जस्ले पाउँन बाँकी छ उस्को पनि मन पग्लिनेछ । जस्ले पाउँने चेष्टा गर्नेछ "आगो" उस्को निम्ती न्यानोपनको आभास बनेर कबिता मुस्लो बनेर छाउँनेछ ।

"आगो"लाइे झनै मुस्लो बनाएर तेजिलो पार्ने जिम्मा अर्का बहुप्रतिभावान चित्रकार खगेन्द्र पन्धाक (चुम)ले आफ्नो कलाद्वारा पुस्तकका छातीभरी अर्थपूर्ण रंगहरु पोँतेर अझ उच्च कोटिमा पुर्‍याएका छन् । दीप्सलाइे आत्मिक भावले र ओजपूर्ण प्रेरणाले थुम्थुमाएर फेसबुककै मित्रहरुले अझै प्रेरणा दिएको पनि उन्ले उजागर गरेकी छन् । यसैले "आगो" सबैको प्रेरणा र उमङको उपज हो भन्नमा अत्युक्ती हुन्न । यस्लाइे सबैले एकपटक प्रेरणाको "आगो" सम्झेर ताप्ने प्रयास गरेमा कठ्याङ्रिएको मनमा अवश्य पनि न्यानोपनको आभास मिल्ने नै छ । अन्त्यमा म कुनै समिक्षक नभएर एउटी पाठक र  दिदीको नाताले भविष्यमा अझै यो यात्रामा उर्जा मिलोस् भन्ने हेतुले यती लेखिदिने हिम्मत गरें । यो कुनै समिक्षा नभएर हौशलाका शब्दहरु हुन् वा हुनेछ । अस्तु /