( कबिता ) "नागबेली झैं बेर्हिन्छ नयाँ बर्ष"
जिन्दगी बर्ष बर्षमा उनिएर
नागबेली झैं बेर्हिरहेछ
आफ्नै उमेरको पासो बनेर
हामी भने नेपथ्यमा
रमाउँछौँ,उफ्रिन्छौं
नयाँ आशाको किरण पालेर
जहाँ जिन्दगी अझै
बढ्नुको अर्थमा छोटिंदै
घटिरहेछ आयुलाई
धम्की दिंदै ।
बर्षहरुको आगमन बढ्दै जान्छ
जिन्दगीको सिमा रेखालाइे
मिच्दै मिच्दै,
जिजीबिषाहरुका पर्खालहरु
कम्जोर बन्दै जान्छन्
मक्किंदै,धस्किंदै
तर...हर नयाँ बर्ष
सक्षम बन्छ उनै
अन्जान मनहरुलाई
क्षणभरकोलागी रोमान्चित
पार्नलाइे वा छक्क्याउँनलाइे
आफ्नो नौलो बैंशको घुम्टोले
छ्पक्क छोप्दै ,
यता उमेरको हत्बन्धी नाँघ्दै
गईरहेका मन हरु पनि
नयाँ बैंशको अँगालोमा
लट्ठ पर्छन् अन्जानमा
आफ्नो बैश फुत्किंदै
आफैलाई छलेको
आभास नै नपाई
तर पनि.... फुलिदिउन्
नयाँ बर्ष हर छातीमा
सुनाखरी झैं लहराइे............/
(रचना -अप्रिल/ १५ /२०१३ )
0 comments:
Post a Comment