Monday, February 27, 2012

लेख

बिचार/चिन्तन "कहिलेकहिं म "प्रभा"बाट "बार्बरा" पनि बन्ने गर्छु " 

भन्छन नि "देश गुनाको भेष कपाल गुनाको केश " अर्थात यस्ता यस्ता उहिलेका जत्ती पनि उक्तिहरु छन्  नि ती  सबै वास्तवमा सहि र सत्य छन्  ।
हामी अहिलेको आधुनिक युगका आधुनिक प्राणी भएर उहिलेका कथन,उखान,टुक्काहरुलाई हँस्सी,मजाकमा उडाउँछौ वास्तवमा ती  सबै हाम्रा ब्यवहारिक कुराहरुमा लागु भैरहेका हुन्छन्  । अत:मैले यस्तै उखानलाई चरितार्थ हुने कुरालाई बिषयबस्तु बनाएर यहाँहरु समक्ष उपस्थित हुने जमर्को गरेकीछु। भनौ न हामी अभिमानी बन्छौँ । म आफ्नो नियम कानुन,कला, सँस्कृतिलाई छाड्दिन। म आफ्नै बिचारमा अडिग रहन्छु । म अर्काको नक्कल गर्दिन आदी इेत्यादी । त र मान्छेलाई परिस्थिती र हालतले कहाँबाट कहाँ पुर्र्‍याउँछ र मान्छेले पनि वाध्य बनेर हालतसँग सम्झौता गर्न कर लाग्छ। मेरो भन्नुको आशय हामीले अरुको नक्कल गर्नै पर्छ वा आफ्नोपनलाई तिरष्कार गर्नु पर्छ भन्न खोजेकी  हैन त र समय र परिस्थिती अनुसार हामीले जुन अवस्था,जुन समय छ त्यही अनुसार चल्न पनि सक्नु पर्छ आफ्नो जिविका चलाऊनलाई। 

यही शिलशिलामा म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । अहिले म परिस्थितीबस आफ्नो भूमी बाहिर छु। मलाई चाहा नहोला यहाँको रितिस्थितिमा भिज्न। मलाई आफ्नै परम्परा,कला,धर्म, संस्कृतिप्रती माया छ , आस्था छ त र अफसोच! समय र अवस्थाले मलाई परिवर्तन हुन कर लगाएकोछ । यो सबै हुनु र गर्नुमा एउटै बाध्यता के हो भने बाँच्नलाई अर्थात जीवन चलाऊनलाई। 
हामी जहाँ रहौँ जिविकोपार्जन त गर्नै पर्‍यो । त्यो हुनलाई पहिला सामाजिक प्राणी बन्नै पर्‍यो । त्यो समाज,परीवेशसँग भिज्नै पर्‍यो। अनी मात्र जीवन बँचाइे सार्थक बन्न सक्छ। हो मैले मेरै कुरा उठाएकी थिएँ म आफ्नै उदाहरण दिन चाहन्छु ता कि यो मेरो मात्र उदाहरण नभएर हर बिदेशिएकाहरुको कथा वा भोगाई हुन सक्छ। यो बिदेशमा भासिएकाहरुको मात्र असलियत नभएर आफ्नै देशभित्र रहेकाहरुलाई पनि समय र परिस्थितीले परिवर्तन हुन कर लागएकोछ, औसत मान्छेहरु बाहेक। 
मेरो पहिलो भोगाई, म भन्न चाहन्छु जब मैले रेस्टुराँमा पहिलो पटक जागिर खान गएँ । मलाई एउटी महिलाले तातो पानीको निम्ती आग्रह गरी। त्यो अमेरिकन महिलाले मलाई यस्तो आवाज बनाएर "हट वाटर"भनी कि मैले उस्को एक्सेन्ट नै बुझ्न सकिन।  मैले दुई पटक सम्म "आएम सरी " अर्थात बुझिन भनेँ । त्यो दृश्य रेस्टुराँ मालिकले हेरी रहेकाथिए। 
मैले भाषा नै नबुझे पछी त मलाई केको आशाले काममा राख्ने ? तुरुन्त मलाई रेस्टुराँ मालिकले भने तपाईं अङ्रेजी त बुझ्नु हुन्न रहेछ कस्टमर सर्विस कसरी गर्नु हुन्छ ?अहो !म कस्ती बुद्धुनी भएँ नेपालमा अङ्रेजी पढेकै हो, ब्याच्लर पढिन्जेल सम्म प्राइभेटबाट नै अङ्रेजिमा एक पटक सम्म असफल नभइे कक्षाहरुमा उतिर्ण भएँ । आँफैलाई दु:ख लाग्यो । त्यत्रो शिक्षा हाँसिल गरेर पनि आज "तातो पानी" अर्थात "हट् वाटर" भनेको नबुझेर त्यसरी शर्मानाक हुनु ज्यादै लज्जास्पद कुरा थियो । त्यो महिलाको शब्द नबुझ्नु एउटै कारण थियो यहाँको बोलिचाली,लवजसँग अपरिचित हुनु । त्यो महिलाले "ह" वाटर मात्र भनी "हट" "टि"उच्चारण नै गरिन त्यसैले पनि मलाई बुझ्न कठिन् भयो। नत्र साधारण पढेकाले पनि "हट"माने तातो । वाटर माने पानी भनेर बुझ्न सक्छन् ।
भन्नुको अर्थ के भने हामी पुराना जमानामा जत्तिसुकै पढेलेखेका भए पनि हामीले बोलेका अङ्रेजी शब्द हत्तपत्त कुनै पनि अमेरिकन वा बिदेशीहरुले बुझ्न सक्दैनन्  र हामीले पनि बुझ्न कठिन पर्छ।  यसको आशय यही हो की समय र परिस्थिती अनुसार हामीले चल्नै पर्छ । अब नचाहेर पनि हामीले काम चलाउनलाई पनि नक्कल गरेर बोल्नै परेन त ?जस्तै भनौ न "यू वान्ट" भन्नु पर्नेमा "यु वान्न" "हट" भन्नुपर्नेमा "ह"मात्र यस्ता धेरै उदाहरण छन् जसको नक्कल गर्नै पर्ने बाध्यता हामीलाई हुन्छ। नत्र त्यो समाजमा कसरी जिविकोपार्जन गर्ने ?यस्तै कुराहरुहरु गर्दै जाँदा मलाई भन्न मन लाग्छ की बाध्यताले मान्छेलाई आफुलाई नचाहेर पनि परिवर्तन गर्न पर्दछ। जस्तै हामी नेपालीहरुको नाम आफ्नै प्रकारको छ । अब जिन्दगीको संघर्ष अर्कै ठाउँमा गर्न परेकोछ हामीले, त्यँहिको चलन र परिवर्तनलाई जबर्जस्ती पनि अँगाल्न  वाध्य हुनुपर्छ।  त्यस्का केही उदाहरण हामीले नाम परिवर्तन गर्नु पर्ने बाध्यता पनि हो । त र यो सबैले वाध्य भएर गरेको भन्न पनि म सक्दिन।  कत्ति रहर पनि होलान् त र बाध्यतामा नै औसत मान्छेहरु परेकाछन्  भन्न पनि म पछि पर्दिन । 

जस्तै भनौ न नेपाली नाम कसैको "हरि" छ अब उसले कोही अमेरिकनसँग काम गर्नु पर्‍यो वा साथ लिनु पर्‍यो भने उसले आफ्नो नाम त भन्छ त र अर्कोले बुझ्दैन अनी उसलाई बुझाउन पनि "हरि"बाट "ह्यारी" "क्रिष्ण"बाट "क्रिष" "माइला" बाट "माइकल" " थम"बाट "टम"हुन वाध्य हुनुपर्यो किनकी त्यो समाजमा नै बसेर आफ्नो गुजारा गर्नुछ । त्यस्तै कहिले कहिँ म पनि "प्रभा"बाट "बार्बरा" बन्न बिवश बन्छु किनकी मेरो नाम उसै पनि उच्चारण गर्न गार्‍हो  छ, त्यहि पनि अमेरिकन जिब्रोमा त झन कठिन त्यसैले कसै कसैले नाम सोध्छन् , म आफ्नो नाम भन्छु बुझ्दैनन् ।  आफु हत्तारमा हुन्छु।  उनिहरुकै कमन नाम "बार्बरा" भनिदिन्छु लण्ठै खलास् । 
यस्ता यस्ता बाध्यताहरु धेरैछन्  । बिरोधमा जाउँ त "सारसको हूलमा बकुल्ला" भईन्छ। यो समस्या हामीलाई मात्र हैन जो कोहिलाई पनि हुन सक्दछ । 
म आफु सानो हुँदाको सम्झना गर्छु।  पहाड रबिमा आज भन्दा ३० बर्ष अघाडी हाम्रो घरमा दुइजना "खैरेहरु" कहाँका हुन् , सम्झना छैन लगभग १ /२ महिना नै बसे शायद।  तिनीहरुलाई पनि यस्तै अप्ठ्यारो परेर होला तिनीहरुले हाम्री आमालाई नेपाली नाम राखीदिन आग्रह गरेछन्  र हाम्री आमाले दुइजनाकै नाम नेपाली राखिदिएको मलाई सम्झना छ। एउटाको नाम "जङबहादुर" अर्कोको नाम "बबरशम्शेर" खै!आमाले किन ऐतिहासिक नाम नै राखिदिनु भयो मलाई यकिन भएन  त र त्यो जमानामा पनि तिनीहरुले हाम्रो नक्कल गर्न वाध्य बनें। त र मेरो आशय सबै कुरामा नक्कल गर्नै पर्छ भन्ने चाहिँ हैन जुन कुराले असर पार्दछ जुन कुराको आवश्यक पर्दछ त्यहि मात्र हो। नक्कल नै गर्नलाई खाना नै परिवर्तन गर्ने धर्म, नै परिवर्तन गर्ने,आफ्नो बानिब्यहोरा नै परिवर्तन गर्ने भन्ने चाहिं होईन त र आफ्नो कत्ति कमिकमजोरी र नराम्रो बानी त जसले जहाँ पनि परिवर्तन गरेकै राम्रो हुन्छ। 
अब यस्तै बाध्यताको कुरामा पहिरनको पनि कुरा आउँछ । अब म नै भनौ आफ्नो देशमा हुँदा साडी,चोलो लगाउँथे औसत समय बाहेक। मलाई साडी,चोलो नै मन पर्छ र सुहाउँछ पनि त र अब यहाँ बाध्यताको शिकार बनी शर्ट र पैन्ट लगाउन वाध्य बन्नुपरेकोछ किनकी यहाँ काम गर्न "उडेको चरा टिप्नु पर्छ " भन्नुको अर्थ सबै काम हत्तारमा गर्नु पर्छ, आफुलाई चुस्ती र फुर्ती राख्नु पर्छ अब यस्तो अवस्थामा कता साडी र चोलो लगाएर काम गर्ने?फेरि त्यहि उखान"कागको हूलमा बकुल्ला",आफुलाई राम्रो लागे पनि नलागे पनि बाध्यताको कमारो बन्नै पर्‍यो। 
यत्ती सम्म की आफ्नो देशमा हुँदा "पेन्ट" लगाउने त कुरै नगरौं लगाउन सम्म कल्पना नगरेकाहरुलाई पनि लगाउन वाध्य बन्नु परेकोछ । गाउँका बुढी आमैहरु यहाँ आएकाहरु पनि कत्ति सम्म त नलगाएर नै जित्न खोज्छन् ।  अन्त्यमा हार्नै पर्छ किन की समयले नै वाध्य बनाउँछ त र केही काम नगर्ने घरमै बस्नेहरुले भने नलगाउँन पनि सक्छन्  त र अकसर गरेर वाध्य हुनै पर्छ, ईच्छा बिपरित पनि। यस्ता धेरै वाध्यताहरुसँग सम्झौता गर्नै पर्छ जुन हामीले समाजभित्र रहेर त्यो समाजको सामाजिक प्राणी बन्नु पर्ने पनि कर्तब्य हो। य सरी मान्छे भएर मान्छेहरुकै नक्कल गर्नु नराम्रो हैन।  परिस्थिती,समय र काम,कर्तब्यले यो सब हुन आवश्यक देखाउँछ। 
कुनै पनि चाहिँदो कुराको नक्कल गर्नु नराम्रो हैन त र आफ्नो नराम्रो कुरालाई छाडेर अरुको राम्रो कुराको अनुशरण गर्नु राम्रो हो । हो बाध्यताले हामीले कत्ति कुरा आफ्नो आत्मादेखी नचाहेर पनि अनुशरण गर्नु पर्छ शायद। त्यस्ता कुराहरुलाई त्यो समयभर र त्यहि परिस्थितिभर मात्रै अप्नाउँन बेस हुन्छ।  त्यसलाई जिन्दगिभरी नै अङिकार गरिरहनुपर्छ भन्ने छैन। बस त्यो त्यहि समयभित्र मात्र सिमित होस्। 
अब हाम्रो नियम, कानुन,संस्कारमा हामी आफुभन्दा ठुलालाई आदर गर्छौँ,साइनो लगाएर बोलाउँछौ त र अन्य मुलुकमा यस्तो हुन्न अब यस्ता कुराहरुसँग भने हामीले सरोकार राख्नु हुन्न र सरोकार राखेर नक्कल पनि गर्नु हुन्न। यो हाम्रो समाज र संस्कारको इज्जत हो। यो हाम्रो आफ्नो ब्यक्तिगत मामला हो।  यसले हाम्रो जिविकोपार्जनमा कुनै असर पार्दैन अर्थात जुन कुराको जरुरी छैन,त्यसलाई हामीले स्वीकार गर्नै पर्छ भन्ने छैन। आफुलाई प्रत्यक्ष असर पार्ने कुराहरु मात्र अनुशरण गर्नु पर्छ। यो देशमा छु यही देशको सारा नक्कल गर्नु पर्छ भनेर आफ्नो संस्कार जसले बिर्सन्छ उसले आफ्नो देश,आफ्नो परिचय र आफ्नो राष्ट्रियता नै बिर्सन्छ र त्यो नै सबैभन्दा ठुलो भूल हुन जान्छ। 
अब अरुको देशको मात्र कुरा नगरौं  न । आफ्नै देश,घरभित्रकै कुरा गरौं । समयले मान्छेलाई कत्ति फरक पार्छ र समय र परिस्थितीसँग कसरी मान्छे बद्लिनु पर्छ भन्ने उदाहरण धेरै छन् । मेरै आफ्नो उदाहरण म दिन्छु । एक समय म मेरी सासूको अघाडी चप्पल लगाएर हिँड्न अप्ठ्यारो महसुश गर्थेँ र मैले नराम्रो गाली पनि खाएकी छु । एकदिन एकबिहानै जाडोमा शीतले आँगन  लछप्प भिजेको थियो।  म पुरानो चप्पल लगाएर आँगन  बढारी रहेकी थिएँ , सासू चियाको चुस्की लिँदै त्यहि बरण्डामा गद्दीमा बसिरहनु भएकोथियो ।मेरो खुट्टामा हेरेर मलाई भन्नुभयो "आइन्दा मेरो अघाडी चप्पल लगाएर हिँड्लिस् । "अब भनौं , त्यो जमानामा सासूको अघाडी चप्पल लाउँन समेत बन्देज र सासूलाई बुहारीले चप्पल लगाएको पनि असह्य । अब त्यहि सासूको अघाडी मेरी देवरानी र म दुइजना नै पैन्ट लगाएर आजकाल निर्लज्जसँग हिँडी दिन्छौं के यो समय र परिस्थितीको बद्लाव र सम्झौता नै होईन र ?
आफ्नै घर आँगनमा पनि यसरी समयले परिवर्तन हुन कर लगाउँछ भने अरुको देश वा परिस्थितीसँग त जसले पनि हार्नै पर्छ।  शास्वत कुराहरुको लागि भने ।यसरी समय र परिस्थितीले गर्दा हाम्री सासूको त्यस्तो कठोर नियतलाई पनि परिवर्तन गराइदियो। आजभोलि हर सासूहरुको मनस्थिती,बिचारलाई नै समय र हालतले परिवर्तन गराइदिएको छ ।
हामीलाई बद्लिन,समयसँगसंगै चल्न हाम्रा आफ्नै अवस्थाले वाध्य गराउँछ र हामीले चल्न पनि सक्नुपर्छ। नत्र त त्यो समाज,परिवेशभित्र अटाउँनै सकिन्न। भन्छन् नी "लङडोको देशमा गयो भने एउटा गोडा खोच्च्याउन पर्छ"कान नसुन्नेको देशमा गयो भने बैर्हो बन्नु पर्छ "अन्धोको देशमा गए एउटा आँखा चिम्लिनु पर्छ "रे हो यस्तै उखान टुक्काहरु अहिले हाम्रो जीवनमा चरितार्थ हुन गएकोछ। 

साँच्चै पुराना कथनहरु आज आएर हाम्रो जीवनका घटनाहरुसँग साँच्चै मेल खाइरहेकाछन्  ,यसैले म भन्छु हर मान्छे बद्लिनुमा समय र परिस्थितीको खेल पनि हुन सक्छ । धेरैले आरोप पनि खप्नु परेको छ फलाना त बिदेशमा बसेर त्यँहिको नक्कल गर्न थालेछ अर्थात अमेरिकन भएछ वा ब्रिटिश भएछ इत्यादी त र सबैले चाहेर त्यस्तो हुन खोजेको हैन समयले त्यस्तो बनाएको पनि हो। यदि राम्रो र असल कुरालाई भित्र्याएमा त्यस्ता कुरालाई ग्रहण पनि गर्नु पर्छ।  नकारात्मक सोंचले मात्र हेर्नु भने हुन्न । अत:मेरो यो सजिलो गन्थनलाई ब्यवहारिक पक्षको मनले पढिदिनु भएमा,मान्छेको जीवनचक्रको आशयको आँखाले हेरिदिनु भएमा शायद यसले सकारात्मक अर्थ पनि बोक्ला। कमीकमजोरी त आफ्नै पेवा हो छाड्न कहाँ सकिन्छ र ? सबै सहि र शुद्ध,बौद्धिक भावना बाँड्न सक्ने म बिज्ञं  पनि त हैन त र सत्य कुरा यसो अक्षरहरुको तार्तम्य मिलाएर बाँड्न मन लाग्छ, समयको लालच नगरी । कता कता लाज पनि लाग्छ संसारमा के के भइसक्यो । देशको अवस्था नीरिह बनिसक्यो, म भने आफ्नै गन्थन बाँड्न मात्र सधैं तत्पर । फेरि अर्को मनले चित्त बुझाउँछु म कहाँ त्यस्तो बौद्धिक्ताले परिपूर्ण मान्छे हुँ र पाठकबर्गले म बाट त्यस्तो बौद्धिक कलमको आशा गर्ने ?म जे छु ठिकै छु । आफ्नै अवस्थामा गन्थन बाँड्छु।  
पाठकबर्गले मलाई त्यहि साधरण कलम सम्झेर अझ सहि सुझाव र प्रेरणा दिनुहुनेछ र वहाँहरुको हौशला नै मेरो आगामी दिनहरुको सफलता बन्नेछ । यसरी म आफैलाई सहज शब्दभावको सम्योजनकर्ता मात्र ठानेर आफ्नो कुराको बिट मार्छु ।







0 comments:

Post a Comment