( मुक्तक )
बाँच्न बाध्य छन् यहाँ रित्तो आशमा मान्छे
अनि थाम्छन् संसारै एकमुट्ठी सासमा मान्छे
संघर्ष,खुशियालीको रोटेपिङ्मा रिङ्दै घुम्दै पनी
अनुबादित हुन्छन् आखिर निर्जिव लाशमा मान्छे ।
भन्छन् जीवन यात्रा हो रे पुग्नु पर्छ टाढा टाढा
कहिले टेक्दै मक्खमली फूल कहिले तिखा काँडा
हुन त हो,मान्नु पर्छ सांसारिक रितलाई सबले
चढ्दै कहिले उकाली,पाखा कहिले गगनचुम्बी डाँडा ।
जन्मनुको अर्थ जीवन भोग्न,भोग्दै जाउँ अब
जिन्दगीका बाधा,अड्चन सारा रोक्दै जाउँ अब
धर्ती टेक्नुको सार्थकता सबैले बुझ्नु पर्छ भन्छन्
नांगा शरीर निरीहका कर्तब्यले छोप्दै जाउँ अब ।
प्रतिष्पर्धामा मान्छे लडिरहेछन् अचेल
स्वार्थ र लालचमा अघी बढिरहेछन् अचेल
कस्लाइे फुर्सद,मनुष्यत्वको कर्तब्य बाँड्न ?
जिउँदै चितामा छट्पटिइे डढिरहेछन् अचेल ।
रचना - मे/ ३१/ १३ (पेन्सिलभेनिया)
0 comments:
Post a Comment