Thursday, April 25, 2019

रोई रैछु एक्लो बनी


गीत- काँढे तारले बेर्हिएको तिम्रो मनको बाटो अन्तै पाईला मोडी दिन्छु त्यँहा हिंड्नु साटो........... पहिलो यात्रा मेरो साथमा कत्ति खुशी थियौ अहिले भने मेरै खुशी स्वार्थी बनि लियौ............. निलकाँढाले बारिएको तिम्रो दिलको बाटो नआउने कसम खान्छु छोई यहि माटो............ भेट् हुँदा मुस्काउँदै प्रेम गीत गाउँथ्यौ नजाने झैं गरि गरि मेरो नजिक आउँथ्यौ.......... काँढे तारले बेर्हिएको तिम्रो मनको बाटो अन्तै पाईला मोडी दिन्छु त्यँहा आउनु साटो............./ रचना- चैत्र २७ / २०७३ गीत- आचार्य प्रभा मायाको नाकाबन्दी कैले खुल्छ कुन्नि माया/माया भन्दै बित्यो यो मेरो जुनी मुटु मुटु साटेर माया लाकै हो झिस्मिसे अँध्यारोमा भेट्न धाकै हो................/ पिरतीको नाकाबन्दी कैले खुल्छ कुन्नि माया/माया भन्दै बित्यो यो मेरो जुनी आँखा/आँखा जुधाई माया दे'कै हो उसरी नै उस्को प्रीत मैले ले'कै हो............/ उस्को मनको नाकाबन्दी कैले खुल्छ कुन्नि त्यै मोरीको मायामा डुब्ने भो है जुनी................/ 15/10/11, 10:26 गीत ) रोइेरै'छु एक्लो बनी मरुभूमीको रेतमा मेरी उनी एक्लै होलीन् बाँझो त्यो खेतमा ........./ लह लह बाली झुल्दा रमाउँदै गाउँथ्यौं बिहानीको शीतसँगै मुस्कान बनी छाउँथ्यौं .........../ टोलाइेरै'छु अन्जान बनी नौलो परदेशमा मेरी उनी रुँदै होलीन् एक्लै घरदेशमा ......../ मिर्मिरेमा गीत गाउँदै खेतबारी धाउँथ्यौँ गोधुलीमा बास बस्न घर फर्की आउँथ्यौं .........../ अल्झीरै'छु दुखी बनी बिरानो यो ठाउँमा मेरी उनी कस्ती होलीन् बिकट त्यो गाउँमा .............../ रचना -जुलाइे २६/१२ 15/ ( गीत )

Thursday, April 18, 2019

गजल पुरानो त्यो जुत्ता फाटेर गयो यात्राको यातना काटेर गयो| पर्खाई मलाई बीच बाटोमा सुटुक्कै स्वार्थीले ढाँटेर गयो | अन्जान बनेर आएथ्यो एक्लै मन त्यो मसंग साटेर गयो | भन्थें म प्रेममा फँस्दिन कैल्यै मायाको डोरी नै बाटेर गयो | छुईन लालची भनेर भन्थ्यो थुकेको थुक नै चाटेर गयो |

Monday, August 11, 2014

रुबाइेयात -

(श्री कृष्णप्रती समर्पित भाव)


जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा
सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा
निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे  
दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । 


सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण तिमीले 
नौलो चोला चाँडै नै लियौ श्रीकृष्ण तिमीले
असल मान्छे चाँडै नै जान्छन् यो धर्ती छाडेर 
पीडाको आसुँ बेस्सरी पियौ श्रीकृष्ण तिमीले । 


नारीको जीवन अधुरै हुन्छ पतिको मृत्‍युपछी 
बैंशालु यौवन त्यसै नै रुन्छ पतिको मृत्‍युपछी
श्वेताको पनि भाग्यले ठग्यो श्रीकृष्ण खोसेर 
संसारको मोहले कसरी छुन्छ पतिको मृत्‍युपछी । 

बिर्सन अब गार्‍हो छ है उनको छाँयालाई 
मनले अब सक्दैन भुल्न अमीट मायालाई 
निष्ठुरी दैव कसरी हरे!छुट्टाउन सकेको ?
चटक्क फेरि कसरी मेट्नु?स्वच्छ त्यो काँयालाई । 
  
रचना - अगष्ट/ ११/ २०१४ 


लघुकथा - "ओझेलका श्रष्टा "
-आचार्य प्रभा 

 एक ब्यक्तिले उस्लाई सोधे ?

"तँपाइे साहित्यकार,सर्जक,लेखक,श्रष्टा आफुलाई के ठान्नु हुन्छ ?"

उस्ले गमक्क बन्दै जवाफ दियो । 
"म आफुलाई साहित्यकार नै ठान्छु,किनकी मैले धेरै कृतिहरु निकालिसकेको छु,मेरा रचनाहरु बग्रेल्ती छापिइेरहेका छन् जतातै ।"
यही प्रश्न अर्का सज्जनलाई सोधियो । 
तँपाइे नि ?

उस्ले हल्कासँग जवाफ दियो । 
"म चाँही आफुलाई सर्जक ठान्छु किनकी मेरा स्रिजनाहरु धेरै पत्रपत्रीकाहरु र वेबसाइेडहरुमा प्रकाशित भइेरहेका छन् । मेरा आफ्नै वेबसाइेडमा त हरेक दिन नै छापिन्छन् । "

उही प्रश्न अर्कालाई सोधियो । 
"म आफुलाई यी मध्ये लेखक ठान्छु किनकी मेरा लेख,रचनाहरु माँगी माँगी नै सम्पादक,प्रकाशकहरुले छापी रहेका छन् । मैले आफ्नै साहित्यिक संस्थापनी खोलेको छु।"   


फेरि सोही अन्तिम प्रश्न अर्का ब्यक्तिलाई । 
अन्तिम ब्यक्तिले अहमताको साथ जवाफ दियो । 
"म आफुलाई श्रष्टा नै ठान्छु किनकी मैले फेसबुकमा बिगत ३ बर्षदेखी आफ्ना रचनाहरुले धेरै मित्रहरुको मन जिती सकेर श्रष्टाको उपाधी पाइेसकेको छु । सधैं वाह!वाही र लाइेक पाउने गरेको छु । अब भन्नुहोस् आफुले प्रशस्त स्रिजना गरेर रुचाइेंदापनी श्रष्टा भइेएन भने के दिनहुँ फेस बुकमा लेखाइे भो र ?" 

उसैले उक्त प्रश्नकर्तालाई उल्टै प्रश्न राख्यो।
"अनि तँपाइे नि को ? यहाँलाई त कैले देखिएको थिएन । न फेसबुकमा,न कुनै साहित्यिक कार्यक्रममा ?  

 उन्ले किङ्कर्तब्यबिमुढ बन्दै जवाफ दिए । 
"खै!म के जवाफ दिउँ यहाँहरुलाई ? न मेरो फेसबुक एकाउण्ट नै छ,न'त कुनै कृतिहरु नै नयाँ निकाल्न सकेको छु,न कुनै संघसंस्थासँग नै आबद्ध छु तर लेख्न चाँही लेख्ने गर्थें।आजभन्दा ४० बर्षअघी मेरो एक कृतिले "मदन पुरस्कार" पाएकोथ्यो त्यस्पछी सबै रचनाहरु यही कापिभित्र संग्रहित गर्दैछु अर्थको अभावले।यसो प्रकाशक पाएँ भने निकालीदिन्छन् कि ?भनेर नि,यहाँहरु पनि आजभोलीका जल्बल्दो लेखक,श्रष्टा,सर्जकहरु हुनुहुँदो रहेछ पक्कैपनि मजस्ता ओझेलमा परेकालाई केही सहयोग गर्नुहुन्थ्यो कि ? भनेर आश गर्दैछु।"     

उन्को कुरा सुनेर असमन्जसमा परे झैं,सबैजना लुसुलुसु सुइँकुच्चा ठोक्न थाले ।  

कविता- "पहिरोमा बिलाएको बस्ती "                    


हरे!प्रकृती प्रकोप!!!
तिम्रो बहुला प्रविर्तीले 
सुनकोशीको माध्यम बनी 
तहस-नहस गर्‍यो 
सिन्धुपाल्चोकबासी माथी 
हल्लै हल्लाको देश नेपाल 
यतिखेर शोक सन्तप्त बनेर 
मौनतामा डुबेको छ,
लाखौंंका आँखाहरु 
झरी बनेर बर्षीरहेछ,
कठै!!!
ती निरीह मान्छेहरु
अस्तिवहिन भएर कहाँ बिलाए?
उनिहरुका सपनाहरु आज 
कसरी बगिए?
सुनकोशीको पहिरोभित्र । 
मध्यरातको मीठो सपनीभित्र 
चिम्लिएका आँखाहरु 
कस्तरी दिर्घकालिन् बनेर 
चिम्लिए?
अनन्तसम्मको लागी,
दुर्भाग्य नेपालको या नेपाली भुमीको ?
कहिले पहिरोमा पुरिनु पर्ने 
कहिले बाढीमा बगिनु पर्ने
अनि..., 
माटोको माया साँच्नेहरु नै 
त्यही माटोभित्रको अवशेष बन्नु पर्ने।  
क्षणभर सपना साँच्यो 
पलभरमै ध्वस्त बन्छ 
पलभर कल्पना संगाल्यो 
निमेषभरमै भताभुङ हुन्छ 
अहो!ती निरीह गाउँलेहरु 
शहरको कोलाहलबाट सधैं टाढा 
नेताहरुको भाषणबाट सधैं अनभिज्ञ   
पसिना र पौरख साँच्दै 
नेपाली हुनुको स्वाभिमानमा 
एैयास्सी जीवनबाट बन्चित 
तर...अफ्सोच!!! 
उनिहरुमाथी नै खस्छन् 
पहिरो बनेर पहाडहरु 
अनि....., 
उनिहरुका इेच्छाहरुलाई नै 
किन बगाउँछन् 
बाढी उर्लिएर,
बिडम्बना!!!
बस्तीको बास हुनुको ,
दुर्भाग्य!
बिकट पखेरामा जिजीबिषा साँच्नुको 
त्यसैले .....,
आउँ सबै मिलौं 
जिउँदै मृत्‍यु अंगालेका 
पीडितहरुको उद्धार गरौं 
आफ्ना सर्वस्व गुमाएका 
मनहरुको पीडाको मल्हम बनौं,
सुनकोशीको बिह्वलतालाई 
आत्मसात गरौं !!!!!!!!!!


रचना -अगष्ट/ ४/ २०१४    
     
( ब्यङ्य आधुनिक तीज गजल ) 


तीज आयो आँगनीमा,दिदी,बैनी हाँस्दा हुन्  
मन मनै कम्मर मर्काइे हिन्दी गीतमा नाँच्दा हुन्   

आधुनिक जमानामा गहनाको होड छ 
सप्तरंगी सपनाको मालाहरु गाँस्दा हुन्  ।

कस्ले भन्दा कस्ले अब राम्रो साडी लाउने ?
गहना नि कस्तो लाउने? सोंच पनि साँच्दा हुन्   ।    

ब्रत बस्ने निहुँ गर्दै अघिल्लै दिन हसुर्दै  
आडम्बरमै रितिथिति संस्कार पनि माँस्दा हुन् । 

माइतीघरको याद कहाँ? गहनाकै जोरजाम छ
देखावटी तडक भडक् प्रदर्शनमै बाँच्दा हुन् । 

रचना - अगष्ट. ४/ २०१४ 
बिचार

"चरी अर्थात् दिनेशको अवशान खुसी कि पीडा ?" - 

नेपालमा आलोतातो खबरहरु अहिले तीनवटा फैलिइरहेका छन्  । प्रथम मोदी आएको तहल्का, दोस्रो सुनकोशीको पैर्‍होले सिन्धुपाल्चोकको बिव्हल अवस्था र भर्खरैको तात्ताओ खबर "नेपालका डन अर्थात् गुण्डाका नाइके चरीको" प्रहरीसँगको मुठभेटमा गोली हानी हत्या । 

यी तिनै कुराहरू नेपालकालागी अहिले चर्चाको विषय बनेको छ । कँहि मोदीको नेपाल भ्रमणले उत्साह र प्रेरणाको किरण छाएको छ भने औसतका मनमा शङ्का, उपशंकाले डेरा जमाएको छ । औसत नेपालीहरू सन्तुष्टीको  श्वास फेर्दैछन् भने औसतले ब्ग्यंङ्य प्रहार पनि गरिरहेका छन् । यस्को सही निर्क्यौलमा पुग्न नपाउँदै विडम्बना ! भनौं या प्रकृति प्रकोप सुनकोशीको पैर्‍होले एउटा विकट परिस्थिति ल्याइदिएको छ । हज्जारौंको बास उठाएको छ भने असंख्य जीवनले मृत्‍युको काख रोज्नु परेको छ । यो हाम्रो देश नेपालको निम्ती ठुलो दुर्घटना भएको छ । 

यो घटनाबाट मुक्त हुन नपाउँदै नेपालका डन कहलिएका दिनेश अधिकारी "चरी"को मृत्‍युको खबरले देशमा अर्को तहल्का मच्चाएको छ । अब चरीको मृत्‍युको सन्दर्भमा औसत मान्छेहरू खुसीले झुमेका छन् भने औसत उन्को मृत्‍युको विरोधमा पागल बनेका छन् । यो समयमा के गलत ? र के सही ? भन्न गार्‍हो छ । 

मेरो निजी बिचारमा के लाग्छ भने,कोही मान्छे जन्मेर होस् सम्हाल्नसाथ "म चोर, लुटाहा, फटाहा र नराम्रो बन्छु" भन्ने पक्कै सोंच राख्दैनन्, त्यस्तो नराम्रो प्रविर्ती र कुलतमा लाग्नु भनेको समय, परिस्थिति र सङ्गतले पनि गर्न सक्छ । सबैमा यो नहोला तर औसतमा यस्तै देखिन्छ । त्यस्ता प्रविर्ती र कुलतमा लागेकाहरुलाई पनि देश,राज्य,समाजले नकारात्मक दृष्‍टिले नहेरी सम्हाल्ने कोसिस गरेमा केही हदसम्म उनीहरूमा चेतना आउने थियो कि ? तर एसो नभएर त्यस्ता भड्किएका र बाटो बिराएकाहरुलाई अनेक लालच र लोभमा फँसाएर गुण्डागर्दी गर्न लगाएर आफ्नो अभीष्ट पुरा गर्ने नियत बोकेका राज्य र राजनीतिका ठेकेदारहरुले पनि यस्ता कुनियत पाल्ने झुण्डको वृद्धि गराइ रहेका छन् । 

कुनै पार्टीको नेताको संरक्षणबिना पक्कै पनि एक्लो मन र ज्यान अनि सानो सांठगाँठले यस्तो बिद्रोही बन्ने हिम्मत कसैमा आउँदैन । यो पक्कैपनि नेपथ्थ्यमा रहेर कुनै राजनैतिक पार्टीले संरक्षण दिनुको नै प्रतिफल हो । "चरी" फेसबुकमा मेरो पनि मित्र थिए । एकदिन हाम्रो कुराकानी भयो च्याटमा । मैले यसो बिचार गरेर नै उन्लाई बोलाउने दुस्साहस गरेँ । मलाई लागेको थियो यो मान्छे पक्कै घमण्डी हुनुपर्छ वा नैतिक्क्ताबिहिन हुनुपर्छ । मसँग बोली हाले भनेपनी म भर्सक यो मान्छेसँग नझर्की, नरिसाइ कुरा गर्छु अर्थात् बोल्न चाहेनन् भने किन बोल्नु र ? कोसिस चैँ गर्छु भनेर "हेल्लो भाइ" भनेँ ।

मलाई आशा थिएन यो मान्छे बोल्ला भनेर तर तुरुन्तै उन्ले जवाफमा "हेल्लो" भने । मैले कुराको शिल्शिला सुरु गरेँ । उस्लेपनि बडो शालीनता पूर्वक भद्रसँग मसँग कुराकानी गर्‍यो । मैले उस्को  चरित्र बारे र किन उस्लाई यो डनको उपाधी दिइेयो ? भनेर प्रश्न पनि राखेँ । तर उस्ले  सिधै मलाई भन्यो "यदि राम्रो काम गर्छु भन्दा यस्तै ठान्छन् भने मेरो के लाग्छ र ?" एक अर्थमा यो कुरापनी सही थियो  तर उ यो वाक्यभित्र थियो ,थिएन, म अनभिज्ञ थिएँ र अझै छु । 


उसको कुराले म स्तब्ध बनें र सोंचें फेसबुकमा अनेकौँ मान्छेहरुसँगको सङ्गत छ मेरो । धेरैजसोको म दिदी हुँ भने औसतको मात्र म साथीको रूपमा छु । यस्ता मित्रहरू मध्ये धेरै भलाद्मी हुँ भन्नेहरुसँगको भलाकुसारीमा मैले औसतको महिलाप्रती कु-दृष्‍टि नै फेला पारेकी थिएँ त्यसैले मैले लग्भग २ वर्षदेखि च्याटमा कुरा गर्न नै बन्द गरेकी छु । 

मैले यस्तो नकारात्मक सोंच "चरी"सँग पनि नराखेकी होइेन तर पनि म उस्को  सोंचलाई परिवर्तन गर्न सक्छु या उसँगको कुराकानी यही मेरो प्रथम र अन्तिम हुनेछ भनेर हिम्मत बटुलेकी थिएँ । मैले उस्को  वालमा केही सकारात्मक हरफहरुपनि कोरेर पोस्ट गरेकी थिएँ जस्लाई उस्ले  लाइेक पनि गरेको थियो  । त्यस्को अर्थ यो होइेन कि उ असल र सकारात्मक सोंचका मानिस हो  भन्ने तर म यही बिचारमा थिएँ उस्को  बिचारको र उदेश्यको नाडी छामेर उस्मा  केही परिवर्तन ल्याउन सकिन्छ कि ? भन्ने झिनो आशा मात्र। 

म आज उस्को  पक्षमा सकारत्मक सोंच किन राख्दैछु भने मेरो प्रथम कुराकानीमा उस्ले  जुन सज्जनपन र शालीनता देखायो  ती गुणहरू विपरीत उमाथीको आरोप र संज्ञा मिथ्या झैँ लागेको थियो । म भ्रममा पनि हुन सक्छु तर जब पछीदेखी उस्को  बारेमा विभिन्न खबरहरु आए त्यस्बाट मलाई यो सोंच्न कर लाग्यो कि उ पहिला बिवशता र बाध्यता अनि कुलतले यस्तो खाडलमा भासिन पुग्यो । 

 हुँदा हुँदै उसमा  अरू साहस र अपराधको भूत सवार हुन थाल्यो । उस्ले  यसैमा मान,सान र धन प्राप्त गर्न थाल्यो  अनि उस्को  असल सोंच पुरै अपराध र कुक्रित्यमा समाहित हुन पुग्यो र राजनीति नामको भूत सवार भएपछी सज्जनहरु नै राक्षस बन्छन् भने उ त स्वयम् कुख्यात अपराधीको संज्ञाले बिभुषित थियो ।  अब निहुँ नै के चाहियो र ? अनि उमेर बल,बैँस र शरीरमा रोग नलागिन्जेल त कुखुरे बैँसका युवाहरूले हात्तीलाई पनि पछार्ने तुजुक देखाइ हाल्छन् नि । शायद यस्तै परिणाम नै हो "चरी" । 

क्षणिक भाग्यको साथ नै भन्नु पर्छ। विभिन्न खबर अनुसार उ कुनै पार्टीको नेताको संरक्षणमा पालिएका थियो । जब राज्यले नै त्यस्ता गुण्डा र अपराधीलाई संरक्षण गरेर गुण्डागर्दी गर्न प्रश्रय दिन्छ वा त्यस्ता बदमाशहरुलाई सुरक्षा दिँदै गुण्डागर्दी गर्न उक्साउँछ भने त्यस्ता नियतकाहरु एक प्रकारले अन्धो नै बनिसकेका हुन्छन् । उनीहरूलाई न "आफ्नो ज्यानको माया हुन्छ न'त उनीहरूलाई मर्छु भन्ने डर र त्राष नै हुन्छ" यद्ध्यपी "कि मार्छु,कि मर्छु"भन्ने उनीहरूको संकल्प हुन्छ । त्यहीमाथी पूर्ण संरक्षण सरकार र पार्टीहरुबाट नै हुन्छ भने त्यस्ताहरु त झन डामेर छाडेका साँढेहरु झैँ मैमत्ता भई हाल्ने भए नि । यसैको एक रूप नै "चरी"अर्थात् दिनेश अधिकारी हो ।

यता औसत आमाको सन्तान देश,समाज र घरकैनिम्ती कलंक बन्न पुग्छ भने उता हजारौँ सङ्ख्यामा देशको रक्षाकालागी खटिएका जवानहरुकोपनी जीवन धरापमा परेको हुन्छ । देशको सिंपाही हुनुको नाताले उनीहरूले पनि त्यस्ता प्रवीर्तिकाहरुसँग दुश्मनी मोलेर आफ्नो ज्यान जोखिममा पार्नु  पर्दछ । आखिर कठै!!!ती दुई पक्षका अनजान युवाहरू  नै एकार्कामा अनभिज्ञ बन्दैपनी एकार्काको छातीमा गोली थाप्न तयार बन्नु पर्दछ ।  अन्त्यमा उनै निरीह आमाहरुकै आँखा कोसीको किनार बन्न बाध्य बन्दछ । 

अन्त्यमा मेरो आशय न'त एक घोषित गुण्डाको पक्षमा अनुनय बिनय हो न'त उनीहरूलाई अझ उक्साउने मेरो प्रयत्न हो। बस म यत्ति भन्न चाहन्छु कुनै पनि देश,समाज,घरमा कलुषित बिचार लिएर अघि बढ्छ भने उस्लाई अझ प्रोत्साहन र बचाउ गर्ने होइन कि सक्भर असल सोंचमा ढाल्ने। कि उस्लाई समयमै चेतावनी दिने । उसका गल्तिहरुलाई बारम्बार दोहोरिन नदिने , उस्को ज्यादती बढ्दै गएमा सजायको भागीदार बनाउने आदी गरेमा पक्कैपनि यस्ता कुनियत र आपराधिक प्रविर्तीबाट अलिक सचेत हुन सक्छन् कि ?

आज "चरी" नामक एउटा अपराधी र समाजको शत्रु,देशद्रोहीको मात्र मृत्‍यु भएन । एक नागरिक, नेपालको छोरो अनि एक युवकको अवशान भयो । पक्कै पनि औसतका आँखा रसाए । तिन्की आमा र परिवार शोक र सन्तापले बिव्हल बने। यसो हुनु भनेको गलत संरक्षण र गलत सुझाव अनि स्वार्थी राजनीति र घृणित नेताका दुष्ट नियत र लालचको प्रतिफल हो । 

सतीको सराप नै भन्नु पर्ला यो हाम्रो देशको माटोले न'त भ्रष्टचारलाई सोत्तर बनाउँछु र गुण्डागर्दीलाई सखाप पार्छु भन्नेलाई स्थान दिएको छ न'त यस्ता अज्ञानताको चंगुलमा फँसेर देश,समाजलाई त्राही त्राही बनाउन खोज्नेहारुको मनोबिज्ञान बुझेर सही बाटोमा ल्याउने प्रयास गरेको छ । यता नेताहरूको पिँठ्यु बनेर त्यस्ता गुण्डाका नाइकेहरु राजनीतिको बलोयो शरणमा पालिएर देश, समाजकै कलंक र दुस्मन बन्छन् भने उता देशका सिंपाहीहरु यस्ता कुख्यात गुण्डाहरुको सिकार पनि बन्न पुग्दछन् यसर्थ यस्ता संवेदनशील कुराहरूलाई देशले संयमित बनेर आखिर यस्ता गुण्डाहरुको पृष्‍ठभुमी के हो त ? किन यिनीहरू यस्ता पेसामा संलग्न भए त ? के बाध्यता थियो यिनीहरूलाई कि देश र समाजकै घातक बन्नु पर्ने ? कि त यिनीहरूलाई राजनैतिक संरक्षण नै छ भने किन यस्तो दुष्कार्य भइरहेको छ त ? यी सब कुरालाई मध्यनजर गरेर  यस्ता बिसगतीपूर्ण कुराहरूलाई माँस्ने सक्दो पहल गरिनु पर्दछ ।

कुनैपनि युवाहरू आखिर किन यस्तो पेसामा संलग्न भए त ? उसको इतिहास कोट्याउन जरुरी छ । ऊ किन कसैको इशारामा नाँच्दैछ ? त्यस्ता इशाराका माध्यम के हो र को हो ? यस्ता नाइकेहरु ?  ती सब निर्क्यौल गर्न जरुरी छ किनकि कसैको पनि अनाहकमा ज्यान नगुमोस् । आज"चरी"नामक गुण्डाको अवशान भयो । "गुण्डा र देशद्रोही अनि समाजको शत्रुको अन्त्य भो भनेर खुसीको दियो बाल्नेको कँहि लर्को छ । कँहि एक जवान छोराको मृत्‍यु भयो भनेर दु:ख पोख्नेको झुण्ड छ । अब हामी जस्ता अनभिज्ञहरुले "एक गुण्डा मर्‍यो भनेर खुसीको जुलुस निकाल्ने ? वा एक आमाको कलेजोको टुक्रा नजोडिने गरी टुक्रियो भनेर दु:ख पोख्ने ?" 

कठै ! ती अनजान आमा कति छाती पिटी पिटी रुँदी हुन् यतिखेर । चोर,गुण्डा,नालायक जे भएपनी एक आमाको निम्ति सन्तान भनेको मुटुको टुक्रा हो । यसैले समग्रमा मेरो आशय यही हो कि "चरी"को मृत्‍यु झैँ अब फेरि बाटो बिराएका युवाहरू मृत्‍युको संघार टेक्न विवश होइन बरु आफ्नो गल्ती र अनजान बाटो छाडेर सही बाटो र देश, समाज, घर, परिवारको निम्ति एउटा असल नमुना बन्न सकुन् भन्ने प्रार्थना सहित् "चरी" अर्थात् दिनेशको आत्माले चिर शान्ति पाउन् । बिक्षिप्त परिवार र निरीह आमालाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरून् । 

अब "चरी" हत्याकाण्ड वा दोहोरो भिडन्त जे सुकै भएपनि यसैको बाहानामा अर्को नौटंकी नरचियोस् । देशमा एकातिर पहिरोले असंख्य नेपालीको आत्मा रोएकोबेला यो घट्नालाई मात्र प्राथमिकता दिएर ती असह्य व्यथाले पुरिएका अनजान जीवित वा मृत आत्माहरुले शान्ति पाउन् । घट्ना हो अप्रत्याशित होस् वा जसरी होस् घट्यो त्यस्को समाधान खोज्नुपर्छ । हुल्दंगा, तोडफोड, आगजनी गरेर समस्याको समाधान हुँदैन । नोक्सानी भनेको देशकै सम्पत्तिको हुन्छ । कुनै नेताको व्यक्तिगत र कुनै प्रहरीको व्यक्तिगत हुँदैन । यदि गल्ती भएमा जस्को गल्ती हो उस्ले सजाय अवश्य पाउँछ शायद । यो घटनालाई अझ तीव्र बनाउन नेताहरूले असल भूमिका खेल्नु पर्छ न'की अझ आगो चर्काउने काम । दोषीलाई कारबाही पक्कै हुन्छ यदि ऊ दोषीको भागीदार बन्यो भने नत्र बिना अर्थको बादबिवादमा अल्झिएर देशमा कोकोहराम मच्चाएर देशमा अझ अशान्ति फैलाउनु बुद्धिमत्ता होइन । पहिरो पीडित समस्या र "चरी" हत्या काण्डको चाँडै छिनोफानो भएर देशमा सु-शान्ति होस् यही कामना हामी प्रवासीको ।