Thursday, February 16, 2012
कबिता
(कसैले मलाई जीवन के हो भनेर परिभाषा मागेकोले कबितामा अनुवाद गरेर प्रत्युत्तर दिने प्रयास गरेकी हुँ)
" समय/ मान्छे/ बेसमय"
समय म तिम्रो नापजोखको किटान कसरी गरौ ?
तिमीले त सधैं आरोप प्रत्यारोपको तराजुमा
ढल्पलिनु परेको छ/
तिम्रो सहि जोखाइ न्यायको मुर्तिमा पनि त छैन
जस्ले ,
आँखामा पट्टी बाँधेर नै तराजु समातेको छ /
तिम्रो सहि नाप तराजुमा हैन
मान्छे,मान्छेबिचको सम्झौतामा
निर्भर हुनुपर्छ शायद /
तिमीलाई चिन्न सके
साधारण मान्छे मानव बन्न सक्छ
चिन्न नसके त्यही मानव
दानव बन्न सक्छ /
तिमी दाहिनु भइदिए
नारी पनि आमा बन्न सक्छे
घ्रीणित आँखामा पनि
तिमी बिग्रिदिए द्रौपतिको
सतित्वको पनि अहंकार टुट्न सक्छ/
तिमी मूक छौ भिष्म पितामहा झै
तिमी सधैं दीनको मारमा पिल्सिरहेछौ
त्यसैले मान्छे र तिमीबिचको
अनर्थ सोचाइले होला
तिमी पनि बेसमय भएर मान्छेलाई
बज्रपात गरिरहेछौ /
मान्छे पनि तिम्रो फाइदा उठाउन
सधैं लालायीत हुन्छन
त्यसैले ---समय तिमी अस्थिर हुनु
तिमी निस्वार्थ बन्नु ,
निमुखा बनेर मौन नबस्नु ,
आफ्नो नापतौलको निर्क्यौल आँफै गर्नु
बेसमयको जडौरी नभिर्नु /
(अमेरिका )
0 comments:
Post a Comment