Saturday, February 4, 2012

गज़ल

अबोध ती अधरमा मीठो मुस्कान छर्दै
पिँठ्युमाथी डोकोभरी घांस पात भर्दै ।

हेर आहा!आमा छोरी रमाउँदै फेरि
हिँडिरा'छन् आनन्दले मीठो कुरा गर्दै ।

गाउँ घर डाँडा पाखा यिनै जीवन यिन्को
भट्मास् मकै खांदै हाँस्छन् झरना जस्तै झर्दै ।

राडी गुन्द्री सुक्कुलमा आधा जूनी बिताइे
जिन्दगी त्यो बित्दै जान्छ खोला नाला तर्दै ।

मकै ठेट्ना दही मोही गुन्द्रुक खोले फाँडो
यसैमा नै रमाउँछन् सारा दु:ख हर्दै ।

आँखाभरी अन्जानपन सँगालेर पनि
बिताउँछन् आधा जीवन लेक बेँशी सर्दै ।

(रचना मे/ १२/ २०११ )    

0 comments:

Post a Comment