Thursday, February 9, 2012

कबिता

 "आकारले ठगिए पनि आमा भनेकी आमा नै हुन्"    


भ्रममा नपरौँ  कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो  ---होइन ,
भौगोलिक स्वरूप सानो
भएर के भो ?
आखिर ---
'हीरा'सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ''डल्ली '',''पुड्की ''
भएपनी जन्म दिने
आमा नै हुन्छिन्
आकार भनेको त स्वरूप हो ,
आफ्नो पन र सर्वगुण होइेन /
विश्वस्त नहौँ  कहिल्यै पनि
द्रब्यको मुल्य उच्च  छ भनी
ठुलो देशमा दु:खले
सानो मन लिएर जब हामी
'डलर','पाउन्ड ',जे नै कमाउँछौ
तर ---हामी भित्रको
स्वाभिमान,माया ,स्नेह,सारा
हामीले गुमाइरहेका हुन्छौं  /
हो ---हामी रमाउँन सक्छौं ,
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका
उँचाइ देखेर........................,
तर ---हामीले बिर्सिसकेकाहुन्छौं
सगरमाथा ,अन्नपूर्ण ,मकालुका
अग्लाइेहरु /
हामी गम्किन सक्छौं  महलभित्रको
बिलाशितापूर्ण जीवन भोगाइेदेखी
तर ---हामी बिस्थापित बन्छौं
आफ्नी आमाको सानो काखको
न्यानोपनको आभासदेखी /
हुन सक्छ ---कहिले कँही
आफ्नो आंगन पनि बिरानो हुन्छ
आफ्नी आमा पनि सौतेनी झैं
लाग्न सक्छिन्
तर --- आफ्नो आँगनलाई  पैतालाको
भार मात्र बोकायौँ  भने
अनी ---
आमाको छातीलाई परेड खेल्ने
मैदान मात्र ठान्यौँ  भने,
त्यस्तै ---आफ्नी आमालाई
सन्तान जन्माउँने
मेसिन सरह मात्र  सोच्यौँ  भने ,
सानो काखलाई न्यानोपन दिने
केवल ---
स्वार्थी भावना मात्र राख्यौँ  भने
त्यसैले ---समग्रमा भन्नु पर्छ ,
आकार,उँचाइ ,मुल्य ,आफ्नोपन
जे भने पनि
हाम्रो ''भित्रीमन'' नै
स्वाभिमानी हुनु पर्छ
आफ्नो आँगन मै सौन्दर्यको प्रतीक
लालीगुराँस  फुलाउँनु पर्दछ ,
आफ्नी आमालाई नै
''हीरा''मा अनुवाद
गर्न सक्नु पर्दछ /
हजारौ सन्ततिको गणनामा
परेर लुछाचुँडी हैन
एउटै  सन्तानको ''प्रतीक'' बनेर
आमाको अधरमा मुस्कान
छराउँन सक्नु पर्दछ
अनि मात्र.......,
सानो देश पनि प्रज्ज्वलित
''हीरा ''बन्न सक्दछ /
आफ्नी आमाको स्वरूप
जे जस्तो भए पनि
निष्कलंक , निर्मल साईनो
बन्न सक्दछ  ,
अन्तमा ---देश,
आमा नै हामी सबैको
आफ्नोपन र स्वाभिमान
बन्न सक्दछ / 
             


( रचना २००८ अमेरिका )

0 comments:

Post a Comment