Friday, March 16, 2012

( लघु कथा ) " आत्मग्लानी "

              " आत्मग्लानी "

धर्मबीर बुढा आफ्ना दुवै मृगौला काम नलाग्ने भएर अस्पतालको ओछ्यानमा अधमरो  जीवन बाँची रहेका थिए । गाउँका निक्कै रवाफिला र मानिने नाम धर्मबीरको त्यस्तो निरीहावस्थाले गाउँका सबै नै शोक सन्तप्त बनेका थिए । उनी गाउँका मानिने ब्यक्ति भएपनि जातिय कुरामा ज्यादै कट्टर थिए। भनौं उनको अन्धबिश्वासी बिचारले गाउँमा सबैलाई असहज त भएकै थियो तर गाउँका जान्ने बुझ्ने धर्मबीरका अघि सबै लाटो किरा झैँ बन्न वाध्य थिए । धर्मबीरको यस्तो दुखद अवस्थालाई लिएर गाउँका सबै चिन्तित भएपनि उनलाई बचाउन मदत गर्ने हिम्मत कसैमा थिएन ।
धर्मबीरको नीरिहावस्थाको समय बिचारेर गाउँकै एकजना युवक नरे नेपालीले सबैलाई आग्रह गरे ।"म हाम्रा गाउँका मान्यवर धर्मबीरको ज्यान जोगाउन केहि उपाय गर्न सक्छु यदि वहाँलाई मेरो एउटा मृगौला दिँदा केहि राहत हुन्छ भने,म दिन तयार छु । म वहाँको यस्तो असह्य पीडा र क्रन्दनको रमिता हेर्न सक्दिन।"
नरे नेपालीको यस्तो दयापूर्ण आशय धर्मबीर बुढाको कानमा पर्‍यो र उनले सम्झन थाले बिगत ।
त्यहि नरे नेपालीलाई एकदिन उनले एउटा सामुहिक कार्यमा सबैले खाने खाना छोइदिए भनेर तथानाम गाली गर्दै भकुरेर निकालेका थिए उक्त स्थलबाट । उन
लाई अरुभन्दा पनि आफूले नरेलाई भनेको यी शब्दहरू याद आयो । "तँ पानी नचल्ने जात,कुन हिम्मतले यहाँ आएर सबैले खाने खानामा हात लगाईस् ? तँलाई यो पनि थाहा थियो होला की आजको यस्तो पवित्र कार्यमा म पनि आउँछु भन्ने । तैँले मेरो मान मर्यादा नराखेको होईन ?"
उनी यहि कल्पनामा अल्झिएर झोक्र्याई रहेका थिए अनायस, नरे र केही गाउँलेहरूको प्रवेशले उनी झस्किए । केही समय पश्चात नतमष्तक हुँदै उनले नरेलाई भने ।"नरे मलाई माफ गर । मैले आफूलाई उच्च जातिको ठानेर त्यो बेला तँलाई तथानाम गाली गरेँ । म अन्धोपनमा बाँचीरहेको रहेछु भन्ने अहिले यो घट्नाले मात्र मलाई महसुश गरायो । तँले मेरालागी जुन समर्पण गर्न खोज्दैछस् त्यो नै समाज र संसारकोलागी ठुलो त्याग र समर्पण हो । यसैमा म गर्वित छु । मेरो बुढो शरीर माटोमा मिले पनि केही छैन तर तँ जस्तो महान सोंच र त्यागीको यो देश र समाजलाई खाँचो छ त्यसैले म बिन्ती गर्छु । मलाई तेरो मृगौला दिएर बँचाउनु भन्दा तँ जस्तो होनहार र समर्पित युवाको खाँचो छ। तैँले अझै यो देश र म जस्ता अन्धोहरूको आँखा खुलाउनु पर्छ त्यसैले मलाई तेरो मृगौला दिएर आफू अपाहिज नबन बरु म नै यो संसारबाट बिदा हुँदा सबैकोलागी कल्याण हुन्छ । म तेरो जिन्दगीलाई दाउमा राखेर आफू बाँच्न चाहन्न । यो बेला समाज र देशलाई तेरो आवश्यक्ता छ । जा यस्तै महान बिचार र समर्पणको कथा सबैलाई सिका जा नरे जा ......./" 
यति भन्दा भन्दै धर्मबीर बुढाका आँखाहरू लोलाए । त्यँहा आएका सबै किङ्कर्तब्यबिमूढ बनेर टोल्हाउँदै एकार्कालाई हेर्न थाले ।  

रचना - मार्च/ १६ /१२

0 comments:

Post a Comment