Saturday, September 1, 2012

( कथा )

                "झुठो आश्वसन अनि अन्जान विश्वास"             
 

उषा ओछ्यानमा ढल्केर आफ्नो अतित सम्झिरहेछ । बिगतमा आफ्नो देशमा छँदा रमाएका ती पलहरु। आफन्त  परिवार  र आफ्नो छर छिमेकीसँग बिताएका ती क्षणहरु ।
अनायस निरवको प्रवेशले ऊ झस्किन्छे र जुरुक्क उठ्दछे । उषा त्यसरी झस्किएर उठेकी देख्दा निरवले आश्चर्यचकित बन्दै प्रश्न गर्दछ । उषा किन मेरो आगमनले त्यसरी झस्किएर उठेकी
? के भो र ? के सोँची रहेकीथियौ ?
उषा आफुलाई सम्हाल्दै आफ्नो लोग्नेलाई भन्छे ।
"होईन,केही होईन" ।
निरवले फेरि जिस्किएको अभिनय गर्दै भन्छ
,केही त होला । नत्र त्यसरी झस्किनु पर्ने स्थिती त केही थिएन ?
उषाले गम्भिर हुँदै भन्छे । खै !यसो एकान्त र एक्लो भयो कि आफ्नै देशको र गाउँ,घर छिमेकी,आफन्तको सम्झना आउँछ । अहिले फर्केर जाउँ जस्तो लाग्छ । मन नै कुँडिएर आउँछ सबै अतित सम्झिँदा ।
उषाको जवाफ पस्चात निरवले अलिकती बिष्मित बन्दै भन्छ । साँच्ची उषा ,तिमीलाई एउटा खबर त सुनाउँन नै बिर्सेंछु नि । त्यो हाम्रो घरको पल्लोपट्टीको घरमा एउटा केटा बस्दथ्यो नि,जो गाउँबाट पढ्न आएको भन्थ्यो । अलिक अबोला जस्तो । हो त्यो केटालाई अज्ञात समुहले त्यही घरकै अघाडी नै हत्या गरेर फ्याँकेको थियो रे अझैसम्म हत्याराहरुको पत्तो लागेको छैन रे अनि हाम्रै टोलकी निर्मलालाई पनि अज्ञात समुहले बलात्कार गरेर अर्ध चेतन अवस्थामा छाडेको थियो रे । हिजो मात्र मलाई ललितले फोनमा सुनाएको । मैले त तिमीलाई भन्नै बिर्सेंछु ।
उषा निरवको यो खबरले खिन्न बन्छे र भन्न थाल्छे । निरव हेर न। म ,त एक्लो भयो कि आफ्नै देश,गाउँ सम्झन पुग्छु । अहिले तिमी आउँदा पनि म त्यही कल्पना र सम्झनामा आल्हादित थिएँ त्यसैले त तिम्रो प्रवेशले म झस्किएँ । खै!यस्तो खबर सुन्दा भने आफ्नो देश,घर,गाउँ,टोल नै ज्यानमाराको अखडा झैं लाग्छ । नसम्झुँ जन्मभूमीको मायाले सताउँछ । आफुले खाएको दुधको भार नचुकाइे बिदेशिएको आत्मग्लानीले यो मन छिया छिया हुन्छ । सम्झुँ त्यँहा भइेरहेको पाशविक ब्यवहार,हर पलको डर,त्राषले आफ्नै भूमी नै बिरानो झैं लाग्छ । खै!कहिले हाम्रो देशमा शान्ति आउला?ज्यु ज्यानको सुरक्षा होला र हामी जस्ता अल्पइेच्छामा बाँच्ने प्रवासी मनहरुले फेरि निर्धक्कसँग आफ्नै देश फर्कने समय आउँला ?
कोठामा केही क्षण स्तब्ध छाउँछ । केही पल दुवै मौन बन्दछन् । हो यस्तै यस्तै कथा,ब्यथा छ सबै प्रवासी मनहरुको । औसतलाई आफ्नै आँगनमा फर्केर फेरि उही गाउँ,घर,डाँडा,पाखामा रम्न मन छ । कतिलाई उहि समाज,उहि परिवेशमा भिज्न मन छ तर समय र परिस्थितीको भयावह चक्रले सबै बिवश छन् । पराई माटोमा नै बाँच्न ।
केही क्षणको मौनता पछी निरवले सुन्यता भंग गर्दै भन्छ । उषा, अब हेरौं आफ्नो देशको स्थिती सुध्रिएछ भने आफ्नै ठाउँमा जाउँला । केही गरौंला यहाँ दु:ख गरेको आर्जनले त नेपालमा केही गर्न सकिन्छ तर गर्न पाइेने पो हो कि होईन ? मेरो पनि तन,मन आफ्नै देशमा अल्झेको छ । के गर्ने ? यहाँ हामी रहरले कहाँ बसेका छौं र ? सबैलाई बाध्यताले नै त बाँधेको छ ।
निरवको वाक्य पुरा नहुँदै उषाले कुरा काट्दै भन्छे तर निरव यो देशलाई पनि हामीले पराइे मान्नु हुन्न । धर्ती त एउटै हो सिमाना पो मान्छेले तोके त !!! यहाँ आएर हामीले कतिकुरा सिक्यौँ जुन कुरा हाम्रो देशमा सिक्न त के ?लागु नै भएको छैन शायद ।यहाँ जस्तै समानता,आफ्नै पौरखमा सबैले बाँच्नु पर्ने अनिवार्यता,नारी पुरुष समान । बाल अधिकार,पौढ अधिकार । यहाँ कसरी सबै कुराको तार्तम्य मिलाएर लागु गरिएको छ । सबैलाई काम,माम न'त चाकडी,चाप्लुसी । आफ्नो योग्यता अनुसारको काम । न कसैलाई कन्याउँन पर्ने ,न कसैलाई जिउ,हजुर गर्नु पर्ने । हाम्रो देशमा हो भने सहि कुरामा पनि ज्यु हजुर,चाकरी चाप्लुसी,घुस,पेस के के हो के के । यहाँ को सानो? को ठुलो? सबैले सबैलाई मानेकै छन् । हाम्रो देशमा हो भने सानो जहाँको तँही, सबैबाट तिरष्कार र दुर,दुर । ठुला र बरिष्ठलाई भने ज्यु,हजुर । हाम्रो देशमा पनि कहिले यहाँ जस्तै सबै एक नास होला ? त्यसैले जो कोही यहाँ आए वा प्रवासिए उनिहरुले त कम्सेकम केही सिके ।
जवाफमा निरवले निरश बन्दै भन्छ । यसैले त हाम्रो देशको अधौगती हुँदै गएको छ त । हाम्रो देशका अधिकाँश शिक्षित युवाबर्गहरुले देश छाड्नुको बाध्यता पनि त यस्तै कारणले त हो नि । अब कस्लाई दोष दिने ? कोही बिरुद्धमा बोले तुरुन्तै सजायको भागीदार बन्दछ । कसैले कसैको सहि सल्लाहा,सुझाव सुन्न तयार बन्दैनन् । जो बोलक्कड छन् उसैलाई नेता चुन्दछन् गाउँका सोझा साझा जनताहरु । कस्लाई थाहा छ र ? नेता बन्न कतिको योग्य छ ? कत्तिसम्म बौद्धिकता छ ?देशको शासन चलाऊँन ?भन्ने केही ज्ञान नभइे चुनेर माथी पठाउँछन् ।
निरव र उषा यस्तै हैरानीका कुराहरु गरिरहेका हुन्छन् । पल्लो अपार्ट्मेण्टमा बस्ने छिमेकी नीला आँखाभरी आसुँ झार्दै सुँक्सुकाउँदै पस्छिन् । नीलाको त्यो अवस्थाको प्रस्थानले दुवै किङ्कर्तब्यबिमुढ बन्दछन् र एकैसाथ प्रश्न गर्दछन् । दिदी के भयो ? किन तँपाइे यस्तो हालतमा ?
नीलाले भक्कानो छाड्दै भन्छिन् । अहिले भर्खर नेपालबाट फोन आएको थियो । मेरो भाइलाई अज्ञात समुहले हिजोदेखी बेपत्ता बनाएको छ रे । आमा,बुवा हिजोदेखी बेहोस् अवस्थामा हुनुहुन्छ रे । प्रहरीहरुले सक्दो खान,तलास त गर्दैछन् रे तर अझैसम्म केही पत्तो लागेको छैन रे ।
निरवले नीलालाई आश्वसन दिँदै भन्दछ । दिदी नरुनु होस् । केही हुन्न । आफ्नो कालगती नआइेन्जेल कसैले केही गर्न सक्दैन । तँपाइेले यसरी हतास बन्नु भन्दा बरु नेपाल घरमा फोन गरेर सबैलाई ढाडस बँधाउनु होस् । हामीले त बलियो बनेर कम्जोर पक्षकालाई आत्मबल पो दिनुपर्छ त । निरवको शब्द सुनेर नीला अलिक सौम्य बन्छिन् । उनिहरु तिनै जना एकार्कालाई नियाँल्दै प्रश्नसुचक नजरले हेर्दछन् र मौन बन्दछन् ।
यत्तिकैमा फोनको घण्टी बज्दछ निरवले फोन उठाउँदछ । फोन उस्कै कम्पनिबाट आएको हुन्छ । फोन सुनेर एकातिर निरवको मुहारमा प्रफुल्लता छाउँदछ । नचाहेर पनि उस्ले मुस्कान फ्याँक्दछ आफ्नी श्रीमतीतिर । उषाले सोध्दछिन् कस्को फोन ? भनेर, निरवले कौतहताको साथ भन्दछ । मैले मेरो कम्पनिमा राम्रो काम गरे वापत मलाई प्रमोसनकोलागी छानिएछ र केही आर्थिक बोनस पनि पाउँने भएछु । निरवको खुशीको खबरले उषा पनि हर्षित त बन्दछे तर नीलुको अघाडी उस्लाई पनि खुशीको मुस्कान छाड्न कठिन् नै पर्दछ । उस्ले नीलालाई पुलुक्क हेरेर आफ्नो मुस्कान अधरमा नल्याइे नै भित्र भित्रै कैद गर्दछे ।
नीलालाई आश्वसन दिँदै दुवै दम्पतिले भन्दछन् । चिन्ता नगर्नुहोस् । आखिर आफ्नो केही गल्ती नभए केही हुन्न । त्यो केवल मान्छेलाई अ त्तलाउँ मात्र पनि गरेको हुन सक्दछ । आखिर सत्यको बिजय हुन्छ नै । हामीले पशुपतीनाथलाई सम्झनु पर्दछ । त्यस्ताहरुको नाश अवश्य हुन्छ नै । अब रोएर हुन्न । हामीले यहाँबाट के कस्तो सहयोग गर्न सक्छौँ बरु त्यतातिर लागौं ।
नीला पनि केही राहत पाए झैं अलिक शान्त बनेर भन्दछे अब त्यही त होला रकमको माँग । बुवा,आमाले कहाँबाट ल्याउँने ? त्यो अवस्थामा तिनीहरुले माँगेको रकम ?
निरव र उषाले भन्दछ । सुर्ता नगर्नु होस् । हामी सबैले मिलेर अब सक्दो सहयोग गर्नु पर्दछ । ज्यु,ज्यानभन्दा पैसा ठुलो होईन । बरु फोन गरौं । खास कारण के हो ? बुझेर चाँडै सबै हाम्रा नेपाली साथी,भाइहरुलाई पनि भनौं ।
उनिहरु फोन गर्न तिर लाग्दछन् । केहीसमय पछी पत्तो लाग्दछ । कुरो उही पैसाकै माँग भनेर । निरव र उषाले आफुले चिनेका जानेका साथीभाइहरुसँग कुरो राख्दछन् । सबैले सक्दो सहयोग गर्ने आश्वसन दिन्छन् ।
केही दिनपछी सबैले आ-आफुले सके सम्म पैसा उठाएर नीलालाई जिम्मा लगाउँछन् । नीला र निरव भएर उक्त उठेको रकम नेपाल पठाउँदछ । नीलाको उक्त अवस्थाले त्यँहा भएका सबैमा निरशता छाउँदछ । सबै सुस्त,सुस्त बन्दछन् तर पनि के गर्ने ? प्रवासको ठाउँ यहाँ सकिन भनेर पनि धर छैन । पीर पर्‍यो भनेर पनि धर छैन जतिसुकै जे भएपनी सबैले आ-आफ्नो काममा जानै पर्दछ । मेहनत गर्नै पर्दछ । एकदिन काम छुटे सबैले आफ्नो भोलीको दिन सम्झनै पर्दछ । जहाँ मजदुरी छ । त्यँहा सुरक्षा छ । जहाँ आलस्य र ठग प्रविर्त्ती छ, त्यँहा असुरक्षा र भोक छ, यसैले त यो देशमा सबै मेहेनती छन् । सबै आ-आफ्नै पौरखमा बाँचेका छन् ।
केही समयपछी नेपालबाट खुशीको खबर नीलालाई आउँदछ । रकम प्राप्तिपछी भाइको रिहाइे भएको । सबैले खुशीको मुस्कान पोख्दछन् एकार्कामा । निरव सोंचमा पर्दछ । यहाँ भने हर प्रवासीले आ-आफ्नो खुन,पसिना एक एक गरेर रात र दिनलाइे एकै समयमा ढालेर अर्थोपार्जनकोलागी मरिमेट्दछन् तर हाम्रो देशमा भने बिना मजदुरी,बिना मेहनत,अर्काकाइे अपहरण गरेको भरमा रातारात कडोरौंको आम्दानी । आखिर किन हाम्रो देशमा यस्तो श्राप पर्‍यो ? जहाँ मान्छेले मान्छेलाइे पाशविक हत्या गर्न थाले । आफ्नै नातासँग नै जिउ,ज्यानको असुरक्षा हुन थाल्यो । कसैले एकमुट्ठी खोले खान पनि सन्तोषले पाउँदैनन् । कुन दैवको खेल हो यस्तो ? हाम्रो शान्त सुन्दर र सानो देशमा कुन सतिको श्राप परेको हो ? यसरी निरव एक्लै कल्पना र भावनामा डुबिरहेको हुन्छ । उषाले उस्को कल्पना भंग गर्दछे ।
निरवले आफ्नो प्रमोसन भएको खुशीको हाँसो हाँस्न नपाई नै त्यस्तो भयावह घट्नाको खबरले ऊ बिचलित बन्दछ । बल्ल मात्र उस्लाई महसुश हुन्छ उस्को सफलताको । केही दिनपछी मात्र ऊ फेरि काममा हाजिर हुन्छ । उस्का कामका साथी,भाइहरु उस्कै प्रतिक्षामा हुन्छन् र बधाई दिन्छन् । सबै अमेरिकन वा अन्य मित्रहरु निरजको सफलतामा रमाउँछन् मानौं त्यो सफलता उनिहरु स्वंयले नै पाएका हुन् । निरज एक प्रकार आश्चर्यचकित पनि बन्दछ । आखिर निरव एक प्रवासी हो जो बाहिर देशबाट आएको तथापी ती साथी भाइहरु यत्ती हर्षित छन् कि मानौं निरव उनिहरुको आफ्नै सन्तान हो जस्को सफलतामा उनिहरु रमाइे रहेका छन् । मानौं कुनै पनि बाबु,आमा,दाजु,भाइ आफ्नो सन्तानको सफलतामा खुशी ब्यक्त गरिरहेछन् ।
निरव अतितमा डुब्न पुग्दछ जब नेपालमा हुँदा निरवले सामाजिक कार्य गरेर केही सफलता प्राप्त गर्दछ । आफ्नै भनाउँदाहरुले निरवलाई बाटोमा अल्झो लगाइेदिन्छन् । उस्ले जे,जे गर्न खोज्दछ उस्लाई हत्तोत्साहित गर्न सबै लागिपर्दछन् । यत्तीसम्मकी उस्लाई ज्यान मार्ने धम्की सम्म आउँदछ । अन्त्यमा उस्ले यी सबै परिस्थितीसँग जुध्न नसकी प्रवासिनु परेको समय । ऊ झस्किन्छ एउटा साथीको प्रवेशले । उस्को निरश मुहार देखेर उक्त साथीले प्रश्न गर्दछ । निरव तिम्रो त आज खुशीको दिन हो । किन तिमी त निरश देखिन्छौ त ? के भयो ? त्यो अमेरिकन साथीको प्रश्नले निरव केहीबेर मौन बन्दछ र भन्छ । म खुशी त अवश्य छु तर मभित्र सधैं दु:ख र पीडा मण्डराइे रहेको हुन्छ । मेरो देशको हालतले । हो म मेहनत गर्छु । मेहनतमा विश्वास गर्छु । आफुलाई सधैं काम र कर्तब्यमा तल्लिन राख्न चाहन्छु तर मेरो देशमा भने यही कुराको अभाव छ । म जस्तै युवाहरु मेहनत र जांगर अनि मेरो जस्तै सोंचलाई बन्धकी राखेर बाँच्न वाध्य छन् । मैले यहाँ खुशी भएर के गर्ने ?मेरा दाजु,भाइहरु वहाँ रोइेरहेका छन् । निरवको कुरा सुनेर उक्त अमेरिकन साथीले जवाफ दिन्छ । तेरो देशको अवस्था र तेरो भावना सुनेर दु:ख लाग्यो तर धैर्य गर साथी एकदिन त्यँहा पनि चेतना आउँनेछ । तिमीहरु जस्ता जेहेन्दार,कर्तब्यपरायण,शिक्षित युवाहरु फर्केर गएर फेरि त्यो देशलाई सुधार गर्न सक्छौ ।
साथीको कुरा सुनेर निरव आफै फिस्स हाँस्दै फत्फताउँछ । साथी तिम्रो जस्तै सोंचको मान्छे र तिम्रो देश जस्तै मेरो देश पनि भइेदिएको भए आज म किन यहाँ यसरी सुखको हाँसोमा पनि आसुँ मिसाएर नक्कली हाँसो हाँस्न पर्थ्यो ?
निरव र ऊषा खाना खाने तयारीमा हुन्छन् । घरबाट फोन आउँछ । बुढा,बुढी भएका आमा,बाबु छोरालाई भन्दछन् । बाबु चाँडै घर आउ । अब त हाम्रो पनि अन्तिम अवस्था भइेसक्यो । कहिले सम्म यो ब्रिद्धावस्थामा छोराको बाटो हेर्दै समय बिताउँनु ? निरवले शान्त्वना दिँदै आमाबाबुलाई भन्दछ । म चाँडै आउँछु । चिन्ता नलिनु । मेरो पनी यहाँ बस्ने रहर होईन । बाध्यता हो । के गर्ने ? आफ्नो देशमा न काम छ,न माम छ ,न केही गर्छु भन्दा गर्न पाउँनुछ । ज्यु,ज्यानको सुरक्षा छैन । कती आमा,बाबुका आँखाबाट अश्रुधारा बगी सके आफ्ना छोराहरुको पीडामा । म पनि घर आएँ भने हजुरहरुको त्यही हालत होला । कम्सेकम यहाँ त टाढा भएपनी सुरक्षित छु । हजुरहरुलाई डर,त्राष त छैन कि कसो ? छोराको जवाफ सुनेर बुढी आमा हर्षित बन्दै भन्छिन् । बाबु अब त सरकार फेरिन्छ रे । पहिला जस्तो हाम्रो देशमा हत्या,हिँशा,लुट्पात हुँदैन रे अस्ती एकजना नेताले हाम्रो टोलमा भाषणमा भन्नु भएको । त्यही भएर त ढुक्क भएर हामीले अब त तँ फर्कँदा पनि केही डर हुन्न भनेर फोन गरेको । अस्ती एकजनालाइे अपहरण गरेको थियो उस्लाइे पनि केही दिनमा नै छाडी दियो ।
आमा,बुवाको कुरा सुनेर निरव मौन बन्छ र सोँच्न थाल्दछ । हो हाम्रा देशका जनता मेरै बुवा,आमा जस्तै अन्जान र अशिक्षित भएर नै त यहाँ नेता र ठुला ठाला भनौंदाहरुको मनमानी भएको हो । झुठो आश्वासनरुपी भाषाणको बिउ छरेर नेताहरुले अशिक्षित,सोझा,साझाहरुलाई आफ्नो चंगुलमा फँसाएको । अब यस्तो सोंच र अनभिज्ञता मेरै आमा,बाबुमा छ भने यस्ता कती आमा बाबु होलान् ? झुठो आश्वसनलाई सत्य मानेर बाँच्ने । निरवको बोलिमा निक्कै समय लागेपछी फेरि बुढी आमाले कुरा थप्छिन् । अनि बाबु त्यँहा माओवादीले कत्तिको दु:ख दिन्छ ? यहाँ त अस्ती सम्म धेरै दु:ख दिइेरहेको थियो तर अहिले त साम्य छ है । आमाको कुरा सुनेर निरवलाई हाँस उठ्छ । आमा हजुरले के भन्नु भाको ? यहाँ माओवादी,खाओबादी केही छैनन् । त्यँहा जस्तो स्थिती यहाँ छैन । हजुरलाई भ्रम रैछ । सबै ठाउँमा त्यस्तो हुन्न । उस्को कुरा सुनेर आमा फेरि कुरा थप्छिन् । बाबु अब त यहाँ पनि शान्ति छ । त्यस्तो डर मान्नु पर्दैन । हाम्रै ठाउँबाट पनि नेता चुनिएका छन् त्यसैले अब त खतरा नहोला ।
निरवले आमालाई जवाफमा भन्दछ । आमा आशा गरौं अब पक्कै पनी हाम्रो देशमा शान्ति होला । हामी जस्ता छोराहरु आफ्ना ब्रिद्ध बाबु,आमाको कोख रित्त्याएर परदेशिनु नपर्ला । म चाँडै आउँने कोशिस गर्नेछु । ल अब आराम गर्नु होस् । म फोन राख्छु । उताबाट पनि हुन्छ भन्ने जवाफ आउँछ । दुवैतर्फबाट फोन राखिन्छ ।
यस्तै आशा र आश्वसनमा नेपाली जनताहरुले हर पल बिताइरहेका छन् तर त्यो सुनौलो आशा कहिले पुरा होला ? निरव यस्तै सोंचमा मग्न हुन्छ । उषा नजिक आएर प्रश्न गर्छे आमाले के भन्नु भो त ? निरशले फिक्का हाँसो छर्दै भन्छ । आमा जस्ता अन्जान र अनभिज्ञहरुलाई त त्यही आशाको त्यन्द्रोले त अल्झाएको छ त । हाम्रै ठाउँका नेता चुनिएका छन् रे। उस्ले भाषणमा भनेको छ रे अब हाम्रो देशमा शान्ति छाउँछ रे । लुट्पात,हत्या,हिँशा हुन्न रे । अस्ती अपहरणमा परेकोलाई पनि चाँडै रिहा गर्‍यो रे । हा... हा... बिचरी हाम्री आमालाई के थाहा ? नेताको सप्तरंगी भाषण अनि हामीले भएभरको रगत पसिना बगाएको पैसा खन्याएर उक्त अपहरित ब्यक्ती रिहा भएको । त्यही कुरामा आश्वस्त भएर आमाले हामीलाई चाँडै आउ भन्नु भा रे । देश,समाज,गाउँ,घर,परिवारको कुरा गर्दा गर्दै निरव र ऊषा कतिबेला मीठो निन्द्रामा डुब्दछन् पत्तो नै हुन्न ............./
रचना - मे/ ९/ १२

0 comments:

Post a Comment