Tuesday, February 11, 2014

कविता "सहमती हराएको देश"

 

म, 
सहमती हराएको देशको 
मान्छे,
सहमती शब्द मेरो नेपाली  
शब्दकोशभित्रबाटै 
लोप भएको छ
र,त..., 
मेरो देशको आँगनमा 
हरदम असहमतीको बादबिवादमा 
लठारिइे रहेछन् 
देश हाँक्छु भन्ने 
अहमबादीहरु । 
दम्भ र अहंकारले पोंतिएर 
कुबिचारका केस्रा केस्राहरुलाई 
मस्तिष्कभित्र गुम्साइे सधैं  
पौंठेजोरी खेल्न खप्पिस 
तिनीहरु असहमती र 
असमझदारिमै रुमल्लिइे 
रहेछन् हरदम हरपल । 
जनताका भोका,नाँगा 
परिस्थितीसँग खेल्वाड गर्दै 
सधैं स्वार्थमा निर्लिप्त बनेका
यी देश पालुवा साँढेहरु 
सधैं "अ" शब्दसँगै 
नजिक छन् ।   
देशलाई माँग्ने भाँडो बनाएर 
उनिहरु चाँदिका थालमा भुजा 
ज्युनार गर्न र पञ्च धातु मिश्रित   
आँखोरामा जल पिउन 
अभ्यस्त छन्,
तर सोझासाझा जनता टपरीमा 
खोले फाँडो खान सम्म 
बहिष्क्रित छन् ।    
यसैले म 
"अ" शब्दको 
सामिप्यतामा हुर्किएको 
अनमेल र अप्राप्तीको कुइरीमण्डलमा 
कुइरोभित्रको काग झैं 
अल्मलिइे रहेछु, 
"हुन्छ" र "हो"शब्दहरुको 
अक्षर खोज्दै क,ख,राको
बर्णमाला छिचोल्न 
ब्यस्त छु
अनि ...,
असहमती र असमझदारीको 
वाक्य मेटाउन 
उद्वेलित छु । 

रचना - जनवरी/ २८/ १४   

0 comments:

Post a Comment